काठमाडौं। मेलम्चीको पानी काठमाडौंका उपभोक्ताले भनेको जस्तो सजिलोसँग ल्याउन नसकिने मेलम्ची खानेपानी आयोजनाले जनाएको छ।
आयोजनाका सिनियर डिभिजनल इन्जिनियर (सिडिई) एवं सूचना अधिकारी राजेन्द्रप्रसाद पन्त सामान्य आँखाले हेरेर काठमाडौंमा पानी आइहाल्छ भन्न नमिल्ने बताउँछन्।
अहिले आयोजनाको मुहान वरपर गेग्रान थुप्रिएको छ, सुरुङको मुख र गेटहरू बन्द छन्। सामान्य हेर्दा मुहान थुनेको भाग हटाइदिए पानी सुरुङभित्र पस्छ। तर, प्राविधिकरूपमा त्यसरी पानी पठाउन मिल्दैन।
‘काठमाडौंबाट स्थलगत अवलोकनमा उपभोक्ताहरू मेलम्ची जानुभएको थियो, उहाँहरूले सुरुङ थुनेको पाता खोल्नुस् पानी जान्छ भन्नुहुन्छ’ सिडिई पन्तले क्यापिटल नेपालसँग भने, ‘सामान्य आँखाले हेर्दा त्यो ठिकै होला, तर हामी प्राविधिक कर्मचारी हौं, नियमअनुसार प्रक्रिया पुर्याएरमात्रै काम गर्नुपर्छ। त्यसैले केही दिन अझै लाग्छ।’
आयोजनाका अर्का सिडिई पदम कुँवर पनि कुलोमा पानी हाल्ने सामान्य विषय भए पनि सुरुङमा पानी हाल्दा प्राविधिक पक्ष जोडिने बताउँछन्।
काठमाडौंवासीले पानी चाहियो, छिटो मर्मत हुनुप¥यो भन्नु उचित भए पनि कर्मचारीले काम गर्न नचाहेको वा नगरेको भन्न नमिल्ने दुवै सिडिईको भनाइ छ।
मंसिर १५ मा ‘मेलम्ची खानेपानी संघर्ष समिति काठमाडौं’ ले पत्रकार सम्मेलन गर्दै खानेपानी मन्त्रालयले नियोजितरूपमै मेलम्चीको पानी काठमाडौं नल्याएको आरोप लगाएको छ। साथै, काम गर्न चाहे बढीमा एक साताभित्र उपत्यकामा पानी ल्याउन सकिने समितिको भनाइ छ।
तर, खानेपानी आयोजना कार्यालय संघर्ष समितिको उक्त आरोप स्वीकार्न तयार छैन। सूचना अधिकारी पन्तका अनुसार मन्त्रालयबाट मर्मतको काम सुरु गर्न आयोजनालाई स्वीकृति दिँदा नै ढिलाइ भएको थियो। साथै, मर्मत सुरु गर्ने समयमा आयोजना प्रमुख परिवर्तन हुँदा निर्णयमा ढिलाइ भएको उनको भनाइ छ।
‘सामान्य मर्मतको निर्णय आयोजना आफैंले गरे पनि धेरै मर्मत गर्न मन्त्रालयको स्वीकृति लिनुपर्छ, त्यसमा कर्मचारी सरुवाका कारण पनि ढिलाइ भएको हो,’ पन्तले भने।
आयोजना निर्माण कम्पनी सिनो हाइड्रोपावरले एकपटक निर्माण सम्पन्न गरेको आयोजनाको पटक-पटक मर्मत गर्न अस्वीकार गरेको छ।
सिनो हाइड्रोले मर्मत नगरे वा ठेक्का तोड्दा फेरि एक वर्ष मर्मत कार्य प्रभावित हुन्छ। जसले गर्दा राष्ट्रिय गौरवको आयोजनामा काम ढिलो गर्न नहुने भन्दै सिनोलाई मर्मत गर्न अनुरोध गरिरहेको कार्यालयले जनाएको छ।
मंसिर १५ गते संघर्ष समितिको पत्रकार सम्मेलनलगत्तै मन्त्री महिन्द्र राय यावद र सचिव रामआधार साहसहितको टोली मेलम्ची पुगेको थियो। आयोजनाको स्थलगत अवलोकन गरेर टोली १८ गते काठमाडौं फर्किएको थियो।
यसअघि मन्त्री रायले काठमाडौंमा पानी पठाइहाल्न आयोजना कार्यालयलाई आग्रह गरेका थिए। तर, इन्जिनियरहरूले प्राविधिक जटिलताका विषयमा बताएपछि मन्त्री रायले सकेसम्म छिटो मर्मत गर्न आग्रह गरेका छन्।
‘मन्त्रीले पनि प्राविधिक जटिलताको विषयमा बुझ्नुभयो, पहुँच सडक मर्मत भयो अब निर्माण कम्पनी परिचालन हुन बाँकी छ,’ सूचना अधिकारी पन्तले भने, ‘तर, कति दिनमा उपत्यकामा पानी आउँछ भन्ने जवाफ अहिले दिन सकिँदैन।’
के-के छन् समस्या?
आयोजनाको एक नम्बर गेटमा बालुवा पसेको छ भने अम्बाथान अडिटमा पनि बाढीले क्षति पुर्याएको छ। मुख्य सुरुङमा पानी पठाउने सहायक गेटहरूमा गेग्रान धेरै छ। उक्त गेग्रान पन्साएर मुख्य सुरुङमा पानी हाल्नुपर्छ।
तर, मुख्य सुरुङमा भने धेरै क्षति पुगेको छैन। जसले गर्दा मुहान स्थलका गेटहरू मर्मत गरेपछि पानी पठाउन मिल्छ। एक नम्बर गेटको बाहिरमात्रै बालुवा भए १० दिनमा र भित्र पनि बालुवा पसेको भए १५ दिन मर्मत गर्न समय लाग्ने आयोजनाले जनाएको छ।
हालसम्म बाहिरबाट मात्रै देखिएकाले वास्तविक क्षतिको विवरण तयार भइसकेको छैन। यद्यपि, आयोजनाको बीमा गरिएको छ। जसले गर्दा मर्मतका लागि धेरै खर्च नलाग्ने सूचना अधिकारी पन्त बताउँछन्। क्षतिको विवरण संकलन भएपछि मात्रै बीमा रकम प्राप्त हुने उनको भनाइ छ।
यसपालि मेलम्चीमा २०७८ सालको जस्तो जटिल र २०७९ को जस्तो सजिलो अवस्था नभएको सिडिई कुँवरले बताए। सोही कारण गत वर्षको जस्तो छिट्टै काठमाडौंमा पानी ल्याउन नसकिएको सिडिई कुँवरको भनाइ छ।