काठमाडौं। एनसेल खरिद-बिक्री प्रकरणले शीर्षथ नेतृत्वमा प्रवेश पाएको छ। नियामकको स्वीकृतिबेगर एनसेलको माउ कम्पनी आजियाटा ग्रुपले आफ्नो ८० प्रतिशत सेयर बेलायतको स्पेक्ट्रलाइट युके लिमिटेडलाई बिक्री गरेपछि यो विषय विवादमा छ। सोही विषयमा हाल प्रधानमन्त्री पुष्पकमल दाहालले शीर्ष नेता र मन्त्रीहरूसँग छलफल गरिरहेका छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार साँझ प्रधानमन्त्री दाहालले शीर्ष नेता र मन्त्रीहरूलाई एनसेल खरिद-बिक्रीबारे छलफलमा बोलाएका थिए। छलफलमा पूर्वप्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, अर्थमन्त्री प्रकाशशरण महत, सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङलगायत नेता र सांसदहरूको उपस्थिति छ।
त्यस्तै, विभागीय कर्मचारीहरूलाई पनि छलफलमा बोलाइएको छ। अर्कातर्फ, एनसेल आजियाटा लिमिटेडको आयकरसम्बन्धी मुद्दाको सुनुवाइ स्थगित भएको छ। सर्वोच्च अदालतमा मंगलबार पेसीमा रहेको एनसेल आजियाटा लिमिटेडको आयकरसम्बन्धी मुद्दाको सुनुवाइ स्थगित भएको हो।
ठूला करदाता कार्यालयले निर्धारण गरेको ५७ अर्ब ९० करोड रुपैयाँको आयकर बक्यौताको निर्णयलाई चुनौती दिँदै एनसेलले सर्वोच्चमा दिएको उत्प्रेषणको रिट स्थगित भएको हो।
२०७७ पुसमा ठूला करदाता कार्यालयले आयकर ऐनको दफा ५७ अनुसार एनसेलमाथि ५७ अर्ब ९० करोड रुपैयाँ आयकर दाबी गरेको थियो। लगत्तै उक्त निर्णयलाई चुनौती दिँदै एनसेलले सर्वोच्चमा उत्प्रेषण रिट दर्ता गराएको थियो। उसले अर्थ मन्त्रालय समेतलाई प्रतिवादी राखेको छ।
त्यसयता २३ पटक तारेखमा र ७ पटक पेसीमा पुगेको मुद्दाको किनारा लाग्न सकेको छैन। मुख्य लगानीकर्ता मलेसियाको टेलिकम कम्पनी आजियाटाले गत शुक्रबार नेपालको एनसेलमा रहेको आफ्नो सम्पूर्ण सेयर बेलायतको स्पेक्ट्रलाइट युके लिमिटेडलाई बिक्री गरेको थियोे। उक्त कम्पनी गत असोज ९ मा दर्ता भएको थियो। उक्त कम्पनीका सञ्चालक नेपाली मूलका सिंगापुरवासी सतिशलाल आचार्य हुन्।
आजियाबाट स्पेक्ट्रलाइटले विभिन्न सर्तसहित कुल ५ करोड अमेरिकी डलर (करिब ६ अर्ब ६५ करोड रुपैयाँ) मा एनसेलको ८० प्रतिशत सेयर खरिद गरेको छ। जुन ५ करोड अमेरिकी डलर पनि दुई चरणमा भुक्तान हुने सम्झौतामा उल्लेख छ। जसमा खरिद–बिक्री सम्झौता भएको ६ महिनाभित्र स्पेक्ट्रलाइटले ५ करोड डलरमध्ये ५० लाख डलर सम्झौताको ६ महिनाभित्र र बाँकी रकम ४ वर्षभित्र बुझाइसक्नुपर्ने सम्झौता छ।
आजियाटा र स्पेक्ट्रलाइटबीचको सम्झौतामा प्रतिफल प्राप्तिमा पनि फरक–फरक अवस्था तोकिएको छ। जसमा २०२३ को प्रतिफलबाट आजियाटाले ८० प्रतिशत, २०२४ र २०२५ को ४० प्रतिशत, २०२६ र २०२७ को ३० प्रतिशत र २०२८ र २०२९ को २० प्रतिशत लग्ने छ। आजियाटाले २०७२ सालमा यही ८० प्रतिशत सेयर १ अर्ब ३६ करोड अमेरिकी डलर (करिब १ खर्ब ४३ अर्ब रुपैयाँ) मा खरिद गरेको थियो।
तर, हाल सोही सेयर ५ करोड अमेरिकी डलर (६ अर्ब ६५ करोड रुपैयाँ) मा बिक्री गरेको छ। जुन विषयले हाल एनसेलको सेयर बिक्रीमाथि शंका उब्जाएको छ।