काठमाडौं। निजी दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल आजियाटा लिमिटेडको सयर कारोबार विवादमा परेको छ । मलेसियाली कम्पनी ‘आजियटा ग्रुप बर्हाड’ ले एनसेलको ८० प्रतिशत सयर स्वामित्व अर्को कम्पनी ‘स्पेक्ट्रलाइट युके लिमिटेड’ लाई बेच्ने निर्णय गरेपछि यो व्यावसायिक कारोबारको कानुनी प्रक्रियाको वैधता र आर्थिक पादर्शितामाथि गम्भीर प्रश्न उब्जिएका छन्।
नागरिकस्तरदेखि संसदीय समितिसम्ममा यो विषयले प्रवेश पाएको छ। यो कारोबारको वास्तविकता खोजेर जानकारी गराउन सरकार र मातहतका निकायमाथि चर्को दबाब छ। यही सन्दर्भमा एनसेल सेयर खरिद–बिक्रीपछि उब्जिएका मूलभूत प्रश्न यहाँ केलाइएको छ।
नियामकलाई किन जानकारी भएन?
एनसेलको सेयर खरिद-बिक्री हुँदा सम्बन्धित क्षेत्रका नियामक निकायलाई जानकारी भएको देखिँदैन। एनसेलको सेयर स्वामित्व खरिद-बिक्री नेपालको विद्यमान कानुन र प्रक्रियाअनुसार भए वा नभएको विषयमा अध्ययन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सोमबार सम्बन्धित निकायलाई निर्देशन दिइसकेका छन्।
यो व्यावसायिक सम्झौताबाट नेपालको दूरसञ्चार क्षेत्र र विदेशी लगानीमा पर्ने असर तथा सरकारको राजस्वलगायत विषयमा पर्ने प्रभावबारे शीघ्र अध्ययन गर्न पनि प्रधानमन्त्री दाहालको निर्देशन छ। नेपाल दूरसञ्चार प्राधिकरण, आन्तरिक राजस्व विभाग, कम्पनी रजिस्ट्रारको कार्यालय, उद्योग विभागलगायतका निकाय यो व्यावसायिक कारोबारबाट अनभिज्ञ रहेको प्रधानमन्त्रीको यो निर्देशनबाट पुष्टि हुन्छ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले मंगलबार चितवनमा सञ्चारकर्मीसँग कुरा गर्दै एनसेलको सेयर खरिद-बिक्रीका विषयमा अहिलेसम्म सरकारलाई जानकारी नभएको बताइसकेका छन्।
‘हामी सूचना लिइरहेका छौं, ठूलो किनबेच गर्दा अनुमति लिनुपर्ने व्यवस्था छ। यसबारे नियामक दूरसञ्चार प्राधिकरणसँग जानकारी मागिएको छ,’ अर्थमन्त्री महतले भने।
नियामक निकायलाई समेत जानकारी नहुने गरी मुलुक बाहिरबाट सेयर खरिद-बिक्री भएको भन्दै सार्वजनिक लेखा समितिले पनि सम्बन्धित निकायमार्फत यस विषयमा जवाफ मागेको छ। साथै, बुधबारका लागि सार्वजनिक लेखा समितिले एनसेलको सेयर खरिद-बिक्रीसम्बन्धमा प्रारम्भिक छलफलका लागि बैठक बोलाएको छ।
यसरी राज्यका निकायलाई समेत जानकारी नहुने गरी मुलुक बाहिरबाट सेयर खरिद-बिक्री भएको भन्दै यो व्यावसायिक कारोबारको कानुनी प्रक्रिया र आर्थिक पादर्शितामाथि प्रश्न उठेका छन्।
‘नेपालको कर प्रणाली छलेर भएको सेयर खरिद–बिक्री वा हक हस्तान्तरण नेपालका नियमनकारी संस्थालाई जानकारी नै नदिइकन भएको भन्ने सुनिन आएकाले यो खरिद-बिक्री प्रक्रिया र पारदर्शितामाथि सम्बन्धित नियमनकारी निकायको के भनाइ छ?,’ लेखा समितिले आइतबार आन्तरिक राजस्व विभाग, दूरसञ्चार प्राधिकरण र कम्पनी रजिस्ट्रारको कार्यालयलाई पठाइएको पत्रमा छ, ‘६ वर्षपछि कानुनबमोजिम नै नेपाल सरकारको स्वामित्वमा आउने सुनिश्चित हुँदाहुँदै सोलाई समेत असर पर्न सक्ने गरी भएको अहिलेको कारोबारलाई अनुमति वा स्वीकृति प्रदान गर्ने, नगर्ने सम्बन्धमा नियमनकारी निकायको भनाइ के रहेको छ? यदि नेपालको नियमनकारी निकायले अनुमति नदिएको अवस्थामा सो कारोबारको वैधानिकता के हुन्छ?’
के सेयर खरिद-बिक्री विद्यमान विधि र प्रक्रियाभित्र छ?
एनसेलको सेयर खरिद–बिक्री नेपालको विद्यमान विधि, कानुन र प्रक्रियाभित्र रहेर भएको छ वा छैन भन्ने अर्को महत्वपूर्ण प्रश्न हो। नेपालको ऐन कानुनअनुसार भएको छ कि छैन भन्नेमा पनि नियामकहरूले हालसम्म कुनै औपचारिक जानकारी सार्वजनिक गरेका छैनन्।
दूरसञ्चार नियमावली, २०५४ को नियम १५ (ट) बमोजिम चुक्ता पुँजीको पाँचभन्दा बढी प्रतिशत सेयर खरिद-बिक्री गर्नुअघि नेपाल दूरसञ्चार प्राधिकरणको स्वीकृति लिनुपर्ने व्यवस्था छ।
त्यस्तै, नेपाल दूरसञ्चार प्राधिकरण विनियमावली, २०७६ को विनियम ४ (क) मा सेयरधनीको सेयर खरिद–बिक्री वा नामसारी गर्नुपूर्व प्राधिकरणको अनुमति वा स्वीकृति प्राप्त गर्नुपर्ने कानुनी प्रावधान छ। आजियाटाले यो प्रक्रिया पूरा गरे वा नगरेको बारे प्राधिकरणले कुनै स्पष्ट जानकारी बाहिर ल्याएको छैन।
अर्कातर्फ, यो व्यावसायिक सम्झौतामा विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०७५ को दफा १९ आकर्षित हुन सक्ने भएकाले सोहिअनुसार आजियाटा अघि बढेको बुझ्न सकिन्छ।
ऐनको उक्त दफाले ‘विदेशी लगानीबाट नेपालमा सिर्जित सम्पत्ति, जायजेथा वा अन्य कुनै प्रकारको वित्तीय उपकरणको नेपाल भित्र वा बाहिर सेयर बिक्री वा हक हस्तान्तरण वा अन्य कुनै प्रकारको स्वामित्व वा निहित स्वामित्वको संरचना परिवर्तन भएमा सम्बन्धित कम्पनीले कारोबार भएको तीस दिनभित्र तत्सम्बन्धी प्रमाण कागजातसहित सोको जानकारी त्यस्तो लगानी गर्न अनुमति दिने निकायमा उपलब्ध गराउनुपर्ने व्यवस्था छ।
लामो समयदेखि कर छली विवादमा अदालती प्रक्रिया भोगिरहेको एनसेल कम्पनीमा फेरि कर छलीको नियतबाट सेयर कारोबार भएको हुन सक्ने विषयमा पनि शंका उब्जिएका छन्।
विदेशमा कारोबार हुनु, न्यून रकममा सेयर खरिद–बिक्री हुनु, सेयर खरिद गरेका व्यक्ति र संस्थाको शंकास्पद आबद्धतालगायत कारण यस्ता आंशका देखिएका हुन्।
अब एनसेलको दायित्व के हुन्छ?
एनसेलको कर छलीसँग सम्बन्धित मुद्दा सर्वोच्च अदालतमा चलिरहेको छ। आयकर ऐन २०५२ को दफा ५७ र दफा ९५ मा टेकेर ठूला करदाता कार्यालयले एनसेलविरुद्ध मुद्दा दायर गरेको छ। मंगलबारका लागि तोकिएको यो मुद्दाको पेसी सरेर आगामी फागुन १५ गतेका लागि तय भएको सर्वोच्च अदालतका सहप्रवक्ता गोविन्द घिमिरेले जानकारी दिए।
करिब ५७ अर्बबराबर कर असुली मागसहित यो मुद्दा दायर भएको देखिन्छ। यसअघिका मुद्दा हारेको एनसेलले यो मुद्दा पनि हार्ने अवस्था भएमा त्यसको दायित्व कसरी बेहोर्छ भने प्रश्न पनि उठिरहेका छन्।
त्यस्तै, एनसेलमार्फत कर असुली गर्नुपर्ने भनी यसअघि भएका अदालतका आदेशअनुसार एनसेलले कर बुझाएको छैन। अदालती प्रक्रियामा रहेको करसँग सम्बन्धित मुद्दा र यसअघिको फैसलाबमोजिम सरकारले पाउनुपर्ने कर कोमार्फत कसरी प्राप्त हुन्छ भन्नेमा पनि अन्यौल देखिन्छ।
‘टेलिया सोनेराले आजियाटालाई एनसेल बिक्री गर्दा निर्धारण गरेको र आजियाटाले कबोल गरेको पुँजीगत लाभकर पूर्णरूपमा भुक्तानी गरेको छैन। ठूला करदाता कार्यालयले थप निर्धारण गरेको कर बक्यौता कति हो र आजियाटा निस्किएपछि उक्त दायित्व कसले लिन्छ भन्ने पनि प्रश्न देखिएको छ,’ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सुमना श्रेष्ठले सोमबार संघीय संसदअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिमा दर्ता गराएको निवेदनमा छ, ‘आगामी ६ वर्षसम्मको मुनाफामा आजियाटाकै हक लाग्ने सम्झौता भएको देखिन्छ। यो सम्झौता २५ प्रतिशत पुँजीगत लाभकरको सट्टा पाँच प्रतिशत लाभांश कर तिर्न रचिएको प्रपञ्च त होइन?’
एनसेलले बहन गर्नुपर्ने अर्को ठूलो आर्थिक दायित्व हो, दूरसञ्चार सेवा सञ्चालन गर्नका लागि पाएको अनुमतिपत्रको नवीकरण दस्तुर। सन् २०२९ सम्मका लागि एनसेलले नवीकरण दस्तुरका करिब २० अर्ब भुक्तानी गर्नुपर्ने देखिएको तथ्य बाहिर आएका छन्। तर, दूरसञ्चार प्राधिकरणले भने यसबारे पनि कुनै धारणा सार्वजनिक गरेको छैन।
बैंक तथा वित्तीय संस्थालाई एनसेलले भुक्तानी गर्नुपर्ने कर्जा कति छ भन्ने पनि यकिन छैन। तर, क्रेडिट रेटिङ कम्पनी इक्रा नेपालका अनुसार एनसेल आजियाटा लिमिटेडले २०२२ अगस्टसम्म २८ अर्ब ६४ करोड ५० लाखबराबर कर्जाका लागि क्रेडिट रेटिङ गराएको छ।
एनसेलको कर्जाबारे सम्बन्धित बैंक तथा वित्तीय संस्थालाई नै जानकारी हुने र सेयर खरिद–बिक्री त्यस्तो कर्जाका सन्दर्भमा कुनै पनि बैंक वित्तीय संस्थाले नियामक नेपाल राष्ट्र बैंकलाई जानकारी नगराएको नेपाल राष्ट्र बैंकका सहप्रवक्ता डिल्लीराम पोखरेलले बताए।
न्यून रकमको कारोबारका आधार के हुन्?
निकै कम रकममा सेयर कारोबार भएको देखिएपछि यो व्यावसायिक सम्झौतामा थप शंका गर्ने ठाउँ देखिएका छन्। सन् २०१६ मा तत्कालीन माउ कम्पनी स्विडेनको टेलियासोनेराले एनसेलमा रहेको ८० प्रतिशत सेयर १ अर्ब ३६ करोड ५० लाख अमेरिकी डलर (१ खर्ब ४४ अर्ब ७ करोड रुपैयाँ) मा मलेसियाली कम्पनी आजियाटालाई बिक्री गरेको थियो। तर, अहिले सोही सेयर ५ करोड डलर ण्(साढे ६ अर्ब रुपैयाँ) मा बिक्री भएको छ। चलिरहेको व्यवसाय किनेको रकमभन्दा ९६ प्रतिशत कम रकममा बेच्नु अस्वाभाविक छ।
पब्लिक लिमिटेड बनाएर किन सेयर जारी गरिएन?
यो कम्पनी ‘मेरो मोबाइल’ का रूपमा सन् २००४ मा स्थापना भएको थियो। पछि २०१० मा स्वीडेनको कम्पनी टेलियासोनेरा ग्रुपले किनेपछि ‘एनसेल’ का रूपमा ब्रान्डिङ भएको हो। २०१६ अप्रिलमा आजियाटा ग्रुप बर्हाडले ८० प्रतिशत सेयर खरिद गरेको थियो।
एनसेल २०२० अगस्ट ३ मा पब्लिक लिमिटेड कम्पनीका रूपमा घोषणा भयो र आफ्नो नाम ‘एनसेल आजियाटा लिमिटेड’ बनाएको थियो। तर, हालसम्म पनि सर्वसाधारणका लागि सेयर जारी गरेको छैन। यस विषयमा पनि लेखा समितिले प्रश्न उठाएको छ।
इक्रा नेपालले क्रेडिट रेटिङका क्रममा खुलाएको विवरण हेर्दा एनसेल आजियाटा कम्पनीको सञ्चालन आय पछिल्ला वर्षहरूमा निरन्तर घट्दो देखिन्छ।
इक्राको विवरणअनुसार कम्पनीले सन् २०१८ मा ५९ अर्ब ८१ करोड ७० लाख, २०१९ मा ५५ अर्ब ३९ करोड ८० लाख, २०२० मा ४६ अर्ब ८७ करोड ४० लाख र २०२१ मा ४० अर्ब ४२ करोड २० लाख रुपैयाँबराबर आम्दानी गरेको छ।
आटियाटाले भने व्यवसायमा न्यून प्रतिफलको प्रत्याभूति, झन्झटिलो कर प्रशासन, नियमनकारी निकायको असहयोग, लाइसेन्सको म्याद सकिएपछिको अवस्थामा सरकारले स्वामित्व ग्रहण गर्नेलगायत विषयलाई कारण देखाउँदै स्वामित्व बिक्री गर्ने उल्लेख गरेको छ।
सेवा प्रवाहमा कस्तो असर पर्छ?
एनसेलको स्वामित्व बिक्रीपछि यसको सेवा प्रवाहमा कस्तो असर देखिन्छ भन्ने पनि प्रश्न उठेको छ। सार्वजनिक लेखा समितिले दूरसञ्चार प्राधिकरणलाई काटेको पत्रमा यो व्यावसायिक कारोबारबाट सेवा प्रवाहमा देखिनसक्ने प्रभावबारे जवाफ माग गरिएको छ।
त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले पनि एनसेल खरिद–बिक्री सम्झौताबाट नेपालको अन्तर्राष्ट्रि छविमा आँच पुग्ने र भविष्यमा वैदेशिक लगानी निरुत्साहित हुने हुँदा यो व्यावसायिक सम्झौताका क्रममा उठेका प्रश्नको जवाफ खोजिनुपर्ने माग राखेको छ। रासस