काठमाडौं। अर्थमन्त्री डा. प्रकाशशरण महतले सरकारले उद्योग व्यवसाय सञ्चालन गर्ने नभई निजी क्षेत्रलाई प्रोत्साहन गर्नुपर्ने बताएका छन्। नवलपरासीमा स्थापित रेडबुल फ्याक्ट्रीको उद्घाटन गर्नेक्रममा मन्त्री डा. महतले निजी क्षेत्रलाई सहयोग गर्न सरकार तयार रहेको बताए।
थाइल्यान्डमा उत्पादन सुरु भएको रेडबुल ब्रान्ड आयात रोकिएपछि फ्याक्ट्री नै नेपाल आएको बताए। ‘रेडबुल अब नेपालमै उत्पादन सुरु भएको छ, यसले रोजगारी दिनेछ, माग अनुसार तीनवटै सिफ्ट फ्याक्ट्री सञ्चालन भयो भने तीन गुणा रोजगारी बढ्छ। आम्दानी पनि यो क्षेत्रका लागि तीन गुणा बढ्छ, सँगसँगै राजश्व पनि देशका लागि तीन गुणा बढ्छ मन्त्री डा। महतको भनाइ थियो।
सरकारले फ्याक्ट्री चलाएर हुँदैन, यो निजी क्षेत्रले चलाउनुपर्छ। उद्यमशील नागरिकले फ्याक्ट्री चलाउनुपर्छ। सरकारले प्रतिस्पर्धा सुनिश्चित गर्छ, गुणस्तर जाँच गर्छ । एउटैले आदिपत्य जमाएको छ भने त्यो सरकारले हेर्छ। यस्तो परिवेशमा धेरै लगानी आउँछ, लगानी आएपछि रोजगारी बढ्छ। रोजगारी बढेपछि आम्दानी बढ्छ, आम्दानी बढेपछि राज्यको राजश्व बढ्छ। राजश्व बढ्यो भने शिक्षा, स्वास्थ्यलगायत हाम्रा आवश्यकताअनुसारको पूर्वाधार विकासमा सरकारले बढी लगानी गर्न सक्छ।’
‘सडक निजी क्षेत्रले बनाउँदैन, निजी क्षेत्रले आम्दानीका लागि ५० वर्ष पर्खिन सक्दैन। निजी क्षेत्रको शिक्षा र स्वास्थ्य सेवा सर्वसधारणले लिन सक्दैन। त्यसकारण दीर्घकालीन लगानी राज्यले गर्छ । लगानी गर्नका लागि श्रोत चाहिन्छ। निजी क्षेत्रलाई उत्पादनमा लगाइयो भने श्रोत बनाउन सकिन्छ। यो सिद्धान्तमा नेपाली कांग्रेस र यो गठबन्धन सरकार चलेको छ’ मन्त्री महतले भने।