काठमाडौं। पछिल्ला केही वर्षदेखि तीन पाङ्ग्रे सवारीसाधन (अटो रिक्सा) आक्रामकरूपमा आयात भएको छ।
भन्सार विभागको तथ्यांकअनुसार पछिल्लो ५ वर्षमा ३५ हजार ५७ वटा अटो रिक्सा आयात भएको छ। चालू आर्थिक वर्ष पहिलो चार महिनामा मात्र ३ हजार ७ सय ३० र १ हजार ५८ वटा एसेम्बल नगरिएका गरी ४ हजार ८ सय ८७ अटो आयात भएका छन्।
गत आर्थिक वर्ष २०७९/८० को सोही अवधिमा २ हजार ८ सय ४१ र ३ सय ४८ एसेम्बल नगरिएको गरी कुल ३ हजार १ सय ८९ अटो आयात भएका थिए।
त्यस्तै वर्षभरिको तथ्यांक हेर्दा २०७९/८० मा ७ हजार ४ सय ६३, २०७८/७९ मा ४ हजार ६ सय, २०७७/७८ मा ३ हजार २४, २०७६/७७ मा ६ हजार ३ सय ५० र २०७५/७६ मा १३ हजार ६ सय २० वटा अटो आयात भएका थिए।
आर्थिक वर्ष आयात संख्या
२०७९/८० ७,४६३
२०७८/७९ ४,६००
२०७७/७८ ३०२४
२०७६/७७ ६३५०
२०७५/७६ १३६२०
हाल नेपालभरि करिब ५० हजार अटोरिक्सा सञ्चालनमा रहेको नेपाल यातायात मजदुर सघंका राष्ट्रिय अध्यक्ष धर्म भण्डारीले जानकारी दिए।
‘यो विशेषगरी तराईका २२ जिल्लामा लोकप्रिय छ। करिब ५० हजारजनाले यसबाट प्रत्यक्ष रोजगारी पाइरहेका छन्,’ उनले भने।
अटो रिक्सामा ९० प्रतिशतभन्दा धेरै स्वरोजगार भएको उनले बताए। ‘सानो पुँजीमा राम्रो आम्दानी हुने भएकाले यो लोकप्रिय बनेको हो। एउटा चालकले खर्च कटाएर दैनिक १२/१५ सय कमाइरहेका छन्,’ उनले भने।
अटो रिक्सा लोकप्रिय भए पनि सरकारी तवरबाट नियमन भने नभएको उनको भनाइ छ। ‘यसलाई स्थानीय तहले नियमन गर्ने कि यातायात व्यवस्था विभागले गर्ने भन्ने मै अन्योल छ। यो विषयमा स्पष्ट सरकारी नीति हुनुपर्छ,’ उनले भने।
त्यस्तै लाइसेन्सको प्रक्रियागत झन्झटले पनि समस्या पारेको भण्डारीले बताए। ‘लाइसेन्स लिन लिखित परीक्षा दिनुपर्छ। यो क्षेत्रका धेरै चालक निरक्षर हुनुहुन्छ। त्यसकारण धेरै चालकले लाइसेन्स लिन पाउनुभएको छैन,’ उनले भने।