काठमाडौं। नेपाल वित्तीय संस्था कर्मचारी संघ राष्ट्रिय समितिले दिनेश पनेरुलाई कब्जामा लिएको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ।
समितिले नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडको बिर्तामोड शाखा कार्यालय झापामा कार्यरत कर्मचारी दिनेश पनेरुलाई स्वीकृत कर्जाको सर्त पालना नगर्ने गरी कर्जा उपलब्ध गराउन दिएको दबाब नमान्दा अपहरण शैलीमा निवासबाट बन्दी बनाई कब्जामा लिएको भन्दै उक्त घटनाप्रति ध्यानाकर्षण जनाएको हो।
‘राज्यले अत्यावश्यक सेवाअन्तर्गत राखेको बैंक, लघुवित्त तथा अन्य वित्तीय संस्था तथा त्यहाँ कार्यरत कर्मचारीमाथि निरन्तर भइरहेको आक्रमणका कारण वर्तमान समयमा कर्मचारी त्रासपूर्ण वातावरणमा कार्य गरिरहनुपरेको छ,’ संघले जारी गरेको विज्ञप्तिमा छ, ‘तसर्थ, कानुनविपरीतका अराजक घटना हुन नदिन तथा कर्मचारीको पूर्णसुरक्षाको ग्यारेन्टी गर्न माग गर्दछौं।’
बैंक, लघुवित्त तथा वित्तीय संस्था तथा कार्यरत कर्मचारीमाथि आक्रमण गर्ने र ती संस्थाको सम्पत्तिमा क्षति पुर्याउने समूह तथा व्यक्तिहरूलाई तत्काल कानुनी दायरामा ल्याई हदैसम्मको कारबाही गर्न समितिले माग गरेको छ।
संघको अनुरोध बेवास्ता गरी पुनः यस प्रकारका घटना दोहोरिए बैंक, लघुवित्त तथा अन्य वित्तीय संस्थामा कार्यरत कर्मचारी कार्यालयको काम छाडेर दबाबमूलक विरोधका कार्यक्रमका साथ सडकमा आउन बाध्य हुने समेत समितिले चेतावनी दिएको छ।
समयमै अराजक र गैरकानुनी कार्य गर्ने व्यक्ति तथा प्रवृत्तिलाई निषेध गरी बैंक तथा वित्तीय क्षेत्रको पूर्णसुरक्षाको ग्यारेन्टीको माग समितिले गरेको छ।