काठमाडौं। अटो व्यवसायीहरूको पाँच दशक पुरानो छाता संगठन नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) को आगामी पुस २० र २१ गते हुने निर्वाचनमा सिप्रदी ट्रेडिङका राजनबाबु श्रेष्ठले चौधरी ग्रुपका करण चौधरीलाई अध्यक्ष पदमा समर्थन गरेका छन्।
नाडा अध्यक्षका लागि यसपालि चौधरीलाई सर्मथन गर्न लागेको श्रेष्ठले जानकारी दिए।
‘यसपालि हामी करणजीलाई सहयोग गर्दै छौं,’ श्रेष्ठले क्यापिटल नेपालसँग भने, ‘मैले अध्यक्षमा उम्मेदवारी नदिने निर्णय गरेँ। अब करणजीलाई सघाउँछु।’
उता, अध्यक्षका अर्का प्रत्यासी आकास गोल्छा पनि आफ्नो तयारी गरिरहेका छन्। व्यवसायीहरूसँग कुराकानी भइरहेको र अहिलेसम्म पछि हट्ने कुरा नरहेको गोल्छाले जानकारी दिए।
‘कुनै पनि कुराको सम्भावना नभएको होइन। पूर्वअध्यक्षहरूसँग छलफल चलिरहेको छ। के थाहा मै सर्वसम्मत हुन्छु कि?,’ आकासले भने।
यसअघि नाडा अध्यक्षमा गोल्छा र श्रेष्ठको चर्चा थियो। चुनावमा अध्यक्ष जिताउन गोल्छालाई चौधरीले सघाइरहेका थिए। गोल्छालाई सघाउन चौधरी नारायणगढ, बुटवल, वीरगन्जलगायत ठाउँ पनि पुग्न भ्याए।
तर, यहीबीच खेल अर्कै हुन पुग्यो। नाडाभित्र सर्वसम्मत अध्यक्ष बनाउनुपर्ने कुरा सुरु हुन थाल्यो। सर्वसम्मत अध्यक्षको कुरा जोडतोडसाथ अगाडि बढेपछि श्रेष्ठले ‘गोल्छालाई मनाउन सके चौधरीलाई अध्यक्ष दिने’ प्रस्ताव राखे।
श्रेष्ठको प्रस्ताव सुनेर चौधरी गोल्छालाई सघाउन छाडेर आफैं अध्यक्षको तयारीमा अगाडि बढे।
सर्वसम्मत भए संस्था राम्रो हुने भन्दै श्रेष्ठ पन्छिएपछि गोल्छालाई मनाउन छाडेर चौधरी आफैं अगाडि बढेका थिए। गोल्छा पछि नहट्ने देखिएपछि श्रेष्ठ र चौधरीको प्यानल बनेको हो।
आजै चौधरीलाई नाडा अध्यक्षमा अघि सार्ने फाइनल निर्णय गरिएको सिप्रदीका श्रेष्ठले जानकारी दिए।