काठमाडौं। सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दसैं, तिहारलगायत चाडबाड लक्ष्यित गरी सञ्चालनमा ल्याएको सहुलियत पसल माघ २ सम्मका लागि निरन्तरता दिएको छ।
चालू आर्थिक वर्ष २०८०/८१ चाडबाड लक्ष्यित सहुलियत पसल असोज २१ देखि मंसिर ३ सम्म सञ्चालन गर्ने गरी प्रथम चरणको कार्यक्रम निर्धारण भएकोमा उक्त समयसीमा बढाएर माघ २ सम्म पुर्याइएको कम्पनीका सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदीले जानकारी दिइन्।
यो वर्ष सहुलियत पसल सञ्चालनका लागि सरकारले खाद्य व्यवस्था कम्पनीलाई २ करोड ३२ लाख २० हजार बजेट उपलब्ध गराएको छ। उक्त रकम बचत हुन गए त्यसपछिका चाडपर्वमा पनि सहुलियत पसल सञ्चालन गर्ने निर्णयअनुसार निरन्तरता दिइएको सुवेदीको भनाइ छ।
सहुलियत मूल्य पसलमा सबै किसिमका चामल, दाल, गहुँ, आटा, पिठो, मैदा, तोरी तेल, सनफ्लावर तेल, भटमास तेल र चिउरा अहिलेको बजार मूल्यभन्दा प्रतिकिलो ७ रुपैयाँ सस्तोमा बिक्री भइरहेको छ। त्यस्तै, कर्णालीको सिमी तथा गेडागुडी, फापर दाना, चिनो, कागुनो र उवामा प्रतिकिलो १० छुट दिइएको छ।
कम्पनीले प्रवर्द्धन गरिरहेको ‘नेपाल फुड’ ब्रान्डका खाद्य सामग्रीमा यो अवधिसम्मका लागि निःशुल्क अनलाइन होम डेलिभरीको सुविधा पाइने पनि कम्पनीले जनाएको छ।
कम्पनीको काठमाडौं उपत्यकासहित देशभरिका ५० स्थानमा सहुलियतपूर्ण स्टल छन्। चाडबाडको समयमा उपभोक्ता बजारमा निजी क्षेत्रको एकाधिकार हुन नदिन भन्दै सरकारले हरेक वर्ष सहुलियत मूल्य पसल सञ्चालन गर्दै आएको छ।
यस्ता पसलबाट खाद्य वस्तुमा बजार मूल्य नियन्त्रण हुने तथा गुणस्तरीयता कायम गरी सरल, सहज र सर्वसुलभ उपलब्ध गराउने उद्देश्य सरकारले राखेको छ।