काठमाडौं। नेपाल राष्ट्र बैंकले एटिएममा प्रयोग गरिने कार्ड (डेबिट, क्रेडिट, प्रिेपेड र मास्टर) कार्डको शुल्क घटाउन पहल सुरु गरेको छ। बैंक तथा वित्तीय संस्थाहरूले एटिएम शुल्कमा मनोमानी शुल्क असुलेपछि केन्द्रीय बैंकले यस्तो शुल्कलाई नियन्त्रण तथा नियमनको दायरामा ल्याउन लागेको हो।
राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई डेबिट, क्रेडिट, प्रिपेड र मास्टर कार्ड प्रयोगमा ल्याउन अनुमति दिएको छ। यस्ता कार्ड नेपालमा नभएर विदेशमा बनाइन्छ। नेपालमा डेबिट कार्ड प्रयोगकर्ता सबैभन्दा बढी छन् भने त्यसपछि क्रेडिट कार्ड प्रयोगकर्ता बढी छन्।
बैंक तथा वित्तीय संस्थाहरूले यस्ता कार्डको मूल्य १ हजार रुपैयाँदेखि २ हजार ७ सय रुपैयाँसम्म असुल्ने गरेको तथ्यांकसहितको समाचार क्यापिटल नेपालमा प्रकाशित भएको थियो। उक्त समाचार प्रकाशित भएपछि राष्ट्र बैंकको ध्यानाकर्षण भएको भुक्तानी प्रणाली विभागका प्रमुख गुरुप्रसाद पैडेलले बताए।
‘बैंकहरूले कार्डमा मनोमानी शुल्क असुलेको बारेमा गुनासो आइरहेका थिए, यस विषयमा समाचारसमेत प्रकाशित भएपछि ध्यानाकर्षण भयो, त्यसपछि हामीले यस विषयमा अध्ययन सुरु गर्ने निर्णय गरेका छौं,’ रिाष्ट्र बैंक भुक्तानी विभाग प्रमुख तथा कार्यकारी निर्देशक पौडेलले क्यापिटल नेपालसँग भने, ‘बैंकहरूले लिने कार्डको शुल्क, विदेशबाट नेपाल कार्ड ल्याउँदाको लागत, विदेशमा कार्डको मूल्य निर्धारण अभ्यास र कार्डका ग्राहकको गुनासोमा अध्ययन गर्ने र त्यसपछि आउने प्रतिक्रियामा थप अध्ययन गरी कार्डको मूल्य कति तय गर्नेजस्ता विषयमा छलफल गरेका छौं।’
कार्ड शुल्कबारे नयाँ नीति निर्देशन दिने वा मूल्य निर्धारणको मार्गनिर्देश गर्ने भन्नेबारे नीतिगत विश्लेषण गर्ने विषयमा यसै साता २/३ दिनअघि राष्ट्र बैंक भुक्तानी प्रणाली विभागले छलफल गरेको उनले जानकारी दिए।
अधिकांश बैंकले यस्ता कार्ड भारत, चीन, सिंगापूरबाट आयात गर्छन्। बैंकहरूले यी देशमा निर्मित कार्ड आयात गर्दा बैंकिङ प्रणालीमा लिंक हुने ‘चिप’ र प्लास्टिकको कार्ड ल्याउँछन्। उक्त कार्डको चिपमा बैंकले खातावालाको विवरण ‘लिंक’ गरेर खातावालाको अन्य विवरणसहितको एटिएम कार्ड छपाएर ग्राहकलाई दिन्छन्। बैंकहरूले विदेशबाट आयात गर्दा कम्पनीअनुसार यसको मूल्य पनि फारक पर्छ। तर, नेपालमा बैंकले निर्धारण गर्ने एटिएम शुल्कमा भने १ हजार ५ रुपैयाँसम्मको फरक परेको देखिन्छ।
विदेशबाट आयात गरिने यस्ता कार्डको मूल्य निर्धारणमा बैंकहरू स्वनियमनमा रहुन् भन्ने उद्देश्यले राष्ट्र बैंकले हस्तक्षेप नगरेको हो। तर, एकैप्रकारका कार्डमा बैंकहरूले लिने मूल्यमा धेरै अन्तर परेको तथ्य बाहिर आएपछि राष्ट्र बैंकको ध्यानाकर्षण भएको हो।
‘बैंकहरू आफैं रेगुलेट भएर स्वस्थ्य प्रतिस्पर्धामा कार्डको मूल्य निर्धारण गरेर जनतालाई सेवा दिउन् भन्ने उद्देश्य राष्ट्र बैंकको थियो,’ पौडेलले भने, ‘केन्द्रीय बैंक माइक्रो म्यानेजमेन्टमा गएर सबै शुल्क निर्धारण गर्नु राम्रो होइन, तर बैंकहरूले यस्तो कुरा बुझेर काम गरेको देखिएन।’
बैंकहरूले कार्ड शुल्क तथा अन्य सेवा शुल्कबारे मनोमानी गरेको विषयमा राष्ट्र बैंकले आन्तरिकरूपमा छलफल गरिरहेको हुँदा यस विषयमा चाँडै ठोस नीति निर्देशन आउने उनको भनाइ छ।
नेपालको विद्युतीय भुक्तानी कारोबारमध्ये डेबिट र क्रेडिट कार्ड प्रयोग र कारोबार बढी छ। बैंक तथा वित्तीय संस्थाहरूले जारी गर्ने तीन वर्षदेखि पाँच वर्षसम्मको हुन्छ। राष्ट्र बैंकले एटिएम कार्डको मूल्यमा नियन्त्रण र नियमन नगर्दा वाणिज्य बैंकहरूले भिसा डेबिट कार्डको १ हजारदेखि २ हजार ५ सय रुपैयाँ मूल्य निर्धारण गरेका छन् भने, क्रेडिट कार्डको १ हजार ६ सयदेखि २ हजार ७ सय रुपैयाँसम्म निर्धारण गरी वार्षिक किस्तामा विभाजन गरी लिइरहेका छन्। एटिएम कार्डमार्फत खातामा मौज्दात पैसा झिक्न प्रयोग गरिने यस्ता कार्डको सेवा शुल्कबारे नियामक राष्ट्र बैंक मौन बस्दा बैंकहरूलाई मानोमानी गर्न हौसला मिलिरहेको हो।
चालू आर्थिक वर्ष असोज मसान्तसम्म डेबिट कार्ड प्रयोगकर्ता १ करोड २६ लाख ३९ हजार ६ सय २२ छन्। साथै, क्रेडिट कार्ड प्रयोगकर्ता २ लाख ९९ हजार १ सय ६२ र प्रिपेड कार्ड प्रयोगकर्ता १ लाख ५८ हजार ५७ जना छन्। नेपालको जनसंख्याको आधा बढीले प्रयोग गर्ने डेबिट कार्डको मूल्य बैंकहरूले सेवा शुल्क भन्दै फरकर-फरक मूल्य तय गर्ने गरेको पाइन्छ।
एटिएम कार्डका प्रकार, प्रयोग र कारोबार
नेपालमा बैंक तथा वित्त कम्पनीहरूले डेबिट, क्रेडिट, प्रिपेड र मास्टर कार्ड प्रयोगमा ल्याएका छन्। जसमध्ये डेबिट कार्ड वाणिज्य बैंक, विकास बैंक, वित्त कम्पनी र सहकारीहरूले पनि प्रयोगमा ल्याएका छन्।
डेबिट कार्ड : डेबिट कार्ड भनेको बैंक खातामा रहेको रकम झिक्न तथा भुक्तानी गर्न मिल्ने गरी ग्राहकको नाममा जारी भएको कार्ड हो। ग्राहकको खातामा मौज्दात रकम डेबिट कार्ड प्रयोग गरी एटिएम मेसिनमार्फत झिक्न सकिन्छ। विभिन्न सपिङ मल तथा व्यापारिक संस्थाले राखेका बैंकहरूको पोस मेसिनमार्फत यस्तो कार्ड ‘स्वाप’ गरेर भुक्तानी गर्न सकिन्छ। डेबिट कार्ड प्रयोगबाट विभिन्न प्रकारका खातामा मौज्दात रकम ग्राहकले प्रयोग गर्न सक्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ।
राष्ट्र बैंकको तथ्यांकअनुसार गत असोज मसान्तसम्म नेपालमा डेबिट कार्डका १ करोड २६ लाख ३९ हजार ६ सय २२ प्रयोगकर्ता छन्। जसमध्ये वाणिज्य बैंकहरूको १ करोड १६ लाख ६७ हजार ५ सय ७०, विकास बैंक ९ लाख ९ हजार २ सय ७४ र वित्त कम्पनीको ६२ हजार ७ सय ७८ जना छन्। असोज मसान्तसम्म डेबिट कार्डमार्फत कुल १ खर्ब ११ करोड रुपैयाँबराबरको कारोबार भएको छ।
क्रेडिट कार्ड : क्रेडिट कार्ड भनेको ग्राहकको बैंक खातामा पैसा नभए पनि कार्डबाट भुक्तानी गर्न सकिने सुविधासहितको कार्ड हो। यस्तो कार्डमा खर्च भएको रकम कार्डधारकले निश्चित समयपछि सम्बन्धित बैंक तथा वित्तीय संस्थालाई तोकिएको शुल्कसहित बुझाउनुपर्छ।
जसमा बैंक तथा वित्तीय संस्थाले निश्चित अवधिसम्म निःशुल्क यस्तो सुविधा दिने गरेका छन् भने तोकिएको समयमा भुक्तानी नभएको पैसामा बैंकले ब्याज असुलेर पैसा फिर्ता लिन्छन्। यसको प्रयोग गरेर एटिएमबाट नगद निकाल्न सकिन्छ र वस्तु वा सेवा खरिद गर्दा पोस मेसिनका माध्यमबाट भुक्तानी गर्न सकिन्छ।
नेपालमा अहिलेसम्म वाणिज्य बैंक र विकास बैंकहरूले मात्रै क्रेडिट कार्ड प्रयोगमा ल्याएका छन्। गत असोज मसान्तसम्म नेपालमा कुल क्रेडिक कार्ड प्रयोगकर्ता वाणिज्य बैंकहरूको २ लाख ९७ हजार ८ सय ३२ र विकास बैंकको १ हजार ३ सय ३० गरी कुल २ लाख ९९ हजार १ सय ६२ जना छन्। यी प्रयोगकर्ताले असोज मसान्तसम्म १ अर्ब ८२ करोड रुपैयाँबराबरको कारोबार क्रेडिट कार्डमार्फत गरेका छन्।
प्रिपेड कार्ड : कार्डमै रकम जम्मा गरी नगद झिक्न तथा भुक्तानी गर्न सकिने गरी बैंक तथा वित्तीय संस्था वा अनुमतिपत्र प्राप्त संस्थाले जारी गरेको कार्ड प्रिपेड कार्ड हो। अहिले वाणिज्य र विकास बैंकहरूले मात्रै प्रिपेड कार्ड जारी गरेर विदेशी विनिमय कारोबार यस्तो कार्डमार्फत् गरिरहेका छन्। राष्ट्र बैंकले तोकेको सीमाभित्र रहेर वाणिज्य बैंकहरूले ग्राहकलाई प्रिपेड कार्ड अर्थात डलर कार्ड सेवा दिइरहेका छन्।
नेपालमा गत असोज मसान्तसम्म वाणिज्य बैंकहरूको १ लाख ५४ हजार ८ सय र विकास बैंकहरूको १ हजार ६ सय २४ गरी कुल १ लाख ५६ हजार ४ सय २४ प्रिपेड कार्ड प्रयोगकर्ता छन्। यी प्रयोगकर्ताले समीक्षा अवधिसम्म ६० करोड ५० लाख रुपैयाँ बढीको कारोबार गरेका छन्।
मास्टर कार्ड : अन्तर्राष्ट्रियरूपमा प्रयोगमा ल्याउन सकिने एटिएम कार्डलाई मास्टर कार्ड भनिन्छ। ग्राहकले नेपालका बैंक तथा वित्तीय संस्थाको आफ्नो खातामा मौज्दात रकम मास्टर कार्ड प्रयोग गरी संसारको जुनसुकै देशका बैंकको मास्टर कार्ड प्रयोग हुने एटिएममार्फत पैसा झिक्न सक्छन्।