काठमाडौं। मुलुकको हवाई उड्डयन नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल वायुसेवा निगम (नेवानि) विस्तृत अडिट गर्ने भएको छ।
प्राधिकरणले सोमबार नेवानिलाई पत्राचार गर्दै डिसेम्बर ६ (मंसिर २० बुधबार) बाट तीन दिनसम्म विस्तृत अडिट गर्ने उल्लेख गरेको हो।
प्राधिकरणले सोमबार नेवानिको आकस्मिक छड्के जाँच गरेको थियो। उड्डयन सुरक्षामा खेलाँची गरेको भन्दै प्राधिकरणले छड्के जाँच गरेको हो। प्राधिकरणका एक उच्च अधिकारीले नेवानिमा छड्के जाँच गर्दा केही कैफियत भेटिएपछि उसकाे विस्तृत अडिट गर्न लागिएकाे जानकारी दिए।
प्राधिकरणले हवाई सुरक्षा विभाग प्रमुख राजु श्रेष्ठको नेतृत्वमा नेवानिको विस्तृत अडिट गर्ने भएको हो। प्राधिकरणको अथक प्रयासबीच युरोपियन युनियन (ईयु) ले नेपाललाई कालोसूचीबाट नहट्नुको प्रमुख कारक नेवानि भएको ठहर गर्दै विस्तृत अडिट गर्न लागेको हो।
ईयुले १० वर्षदेखि नेपालमा दर्ता भएका जहाजलाई कालोसूचीमा राखिरहेको छ। निजी एयरलाइन्स र हेलिकोप्टरहरूको प्रस्तुति राम्रो हुँदाहुँदै नेवानिको लापरबाहीले समस्या उत्पन्न भएको भन्दै प्राधिकरण रुष्ट बनेको थियो।
ईयुले पठाएको पत्रमा नेवानि जहाज सञ्चालन र सुरक्षाको अवस्थामा गम्भीर नदेखिएको उल्लेख गर्दै सुधारका लागि सुझाव दिएको थियो। ईयुको सुझाव लगत्तै प्राधिकरणले निगमको विस्तृत अडिट गर्न लागेको हो।
पछिल्लो समय निगमका जहाज पटक-पटक बिग्रिने र मर्मतसम्भारमा खेलाँची गरेका घटना पटक-पटक सार्वजनिक भइरहेका छन्। अहिले निगमले न्यारोबडी जहाजका इन्जिन लामो समयदेखि भाडामा लिएर सञ्चालन गरिरहेको छ। ती इन्जिनमा समेत पटक-पटक समस्या आउँदा पनि यात्रुलाई जोखिममै राखेर उडान गरिरहेको घटना सार्वजनिक भइरहेको छ। इन्जिनियरहरूले पनि आफूखुसी उडानका लागि अनुमति दिने गरेको पाइन्छ।
नेवानि जहाज उडान र सुरक्षामा चासो दिनुभन्दा पनि ग्राउन्ड ह्यान्डलिङ सेवामा बढी लागेको ठहर प्राधिकरणले गरेको छ। योसँगै प्राधिकरणले नेवानिले एक्लौटी गर्दै आएको ग्राउन्ड ह्यान्डलिङ सेवासमेत खोस्ने निर्णय गरिसकेको छ। नेवानिले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै प्राधिकरणले लगाएको आरोपको खण्डन गरेको छ।
प्राधिकरणले शुक्रबार नै निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई ‘तपाईंहरूका कारण ईयुको कालोसूचीबाट नहटेकाले तपाईंलाई किन कारबाही नगर्ने’ भन्दै ७ दिने स्पष्टीकरण सोधिसकेको छ।