काठमाडौं। नेपाल राष्ट्र बैंकका १० विभागीय प्रमुख (कार्यकारी निर्देशक) सरुवा भएका छन्। लामो समयदेखि भुक्तानी प्रणाली विभागमा कार्यरत गुरुप्रसाद पौडेल, नियमन विभागका डा. गुणराज भट्ट, विदेशी विनिमय विभागका रामु पौडलसहित १० जनाको सरुवा भएको हो।
उच्च व्यवस्थापन समितिको बैठकको निर्णय कार्यान्वयन गर्दै जनशक्ति व्यवस्थापन विभागले यही साताभित्रै नयाँ जिम्मेवारी सम्हाल्ने गरी १० कार्यकारी निर्देशकको सरुवा गरेको राष्ट्र बैंकका सहायक सूचना अधिकृत डा. भागवत आचार्यले बताए।
‘पाँचजना कार्यकारीको आज र पाँचजनाको तीन दिनअघि यही साताभित्रै नयाँ विभागको जिम्मेवारी बुझ्ने गरी सरुवा भएको छ,’ सहायक सूचना अधिकारी आर्चायले क्यापिटल नेपालसँग भने, ‘नयाँ सरुवा पाउनुभएका विभागीय प्रमुखलाई नयाँ जिम्मेवारीमा जान २÷४ दिन समय होला।’
आर्चायका अनुसार आजै बसेको व्यवस्थापन विभागको बैठकले पाँच कार्यकारी निर्देशक र मंसिर १४ को निर्णयबाट पाँच कार्यकारी निर्देशकको सरुवा गरिएको हो।
नयाँ जिम्मेवारीमा सबैभन्दा शक्तिशाली विभाग मानिने नियमन विभागमा भुक्तानी प्रणाली विभागका गुरुप्रसाद र नियमनमा रहेका गुणाकर भट्टको सरुवा भुक्तानी प्रणाली विभागमा भएको छ।
साथै, वित्त व्यवस्थापन विभागका प्रमुख मुकुन्द क्षेत्री जनशक्ति व्यवस्थापन, जनशक्ति व्यवस्थापनका तुलसीराम घिमिरे विदेशी विनियम विभाग र त्यहाँका विभागीय प्रमुख रामु पौडेलको वित्त व्यवस्थापन विभागमा सरुवा भएको हो।
यसअघि मंसिर १४ को निर्णयअनुसार मुद्रा व्यवस्थापन विभागका नरेश शाक्यलाई सूचना प्रविधि विभाग, गैरबैंकिङ सुपरीवेक्षण विभागका प्रदीपराज पौडेललाई मुद्रा व्यवस्थापन, सूचना प्रविधिका रामबहादुर मानन्धरलाई गैरबैंकिङ सुपरीवेक्षण विभाग, वित्तीय संस्था सुपरीवेक्षणका विश्रुत थापालाई बैंकिङ विभाग र बैंकिङ विभागका दयाराम शर्मालाई वित्तीय संस्था सुपरीवेक्षण विभागको जिम्मेवारी दिइएको थियो।