काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले पास वितरणमा कडाइ गरेको छ। पासका आधारमा अनावश्यकरूपमा विमानस्थलभित्र वायुसेवा सञ्चालकहरू प्रवेश गर्दा भिडभाड बढेको र विमानस्थल सुरक्षामा नै चुनौती बढेको भन्दै विमानस्थलले कडाइ गरेको हो।
विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले पास वितरणमा कडाइ गरिएको जानकारी दिए। ‘आवश्यकताका आधारमा मात्र पास वितरण गरिएको छ,’ महाप्रबन्धक तिवारीले भने, ‘काम नहुने व्यक्तिलाई बन्द गरिएको छ।’
विमानस्थलले १० दिनयता पास वितरणमा कडाइ गरिरहेको हो। अहिले खासगरी हेलिकोप्टर कम्पनीका अध्यक्ष, उपाध्यक्ष र सञ्चालकलाई पास वितरणमा रोक लगाइएको छ। योसँगै एयरलाइन्सका मार्केटिङका कर्मचारीलाई समेत पास वितरणमा रोक लगाइएको छ।
आन्तरिक विमानस्थलमा धेरै एयरलाइन्स र हेलिकोप्टर कम्पनीलाई पास दिँदै आएकोमा अहिले बन्द गरिएको छ। विमानस्थलले एकाउन्टेबल म्यानेजर, अप्रेसन विभागका कर्मचारी, इन्जिनियर र उडानमा संलग्नलाई मात्र पास दिँदै आएको छ। त्यसअघि विमानस्थलले एयरलाइन्स र हेलिकोप्टर सञ्चालकलाई पनि मागका आधारमा पास दिँदै आएको थियो।
विमानस्थलले एयरलाइन्स र हेलिकोप्टर कम्पनीका कर्मचारीलाई प्रत्येक २÷२ वर्षमा नवीकरण गर्ने गरी पास वितरण गरेको हुन्छ। दुई वर्षका लागि वितरण भएको पास नवीकरणको समय सकिएको र नयाँ वितरण गर्दा अतिआवश्यकलाई मात्र वितरण गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले यसअघि नै विमानस्थल प्रमुखलाई निर्देशन दिएका थिए। महानिर्देशक अधिकारीको निर्देशनपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले पास वितरणमा कडाइ गरेको हो।
विमानस्थलले पास वितरणमा कडाइ गर्दा कर्मचारी प्रवेश गर्न नपाएर समस्या उत्पन्न भएको एयरलाइन्स सञ्चालकहरुले गुनासो गरेका छन्। ‘आवश्यकता परेरै विमानस्थलभित्र प्रवेश गर्ने हो,’ ती सञ्चालकले क्यापिटल नेपाललाई भने, ‘अहिले एकाएक पास वितरण बन्द गर्दा समस्यामा परेका छौं।’
पासका आधारमा विमानस्थलभित्र प्रवेश गरेर एयरलाइन्स र हेलिकोप्टरका कर्मचारीले अनावश्यक भिडभाड गर्ने गरेको गुनासो पछिल्लो समय बढिरहेको थियो।
त्यति मात्र होइन, हेलिकोप्टर कम्पनीका सञ्चालकहरू पनि विमानस्थलभित्र प्रवेश गरेर मार्केटिङ गर्ने गरेको र यात्रुलाई प्रभावमा पारेर खोसाखोस गर्ने गरेको समेत गुनासो बढिरहेको बेला पास वितरणमा कडाइ गरेको हुन सक्ने एक हेलिकोप्टर सञ्चालकको भनाइ छ।
‘केही सञ्चालक र कर्मचारीको गलत कार्यले सिंगो एयरलाइन्सलाई नै समस्यामा पारेको छ,’ ती सञ्चालकले भने, ‘विमानस्थलले गरेको काम ठिक छ।’ विशेषगरी हेलिकोप्टर सञ्चालकहरूले भने मार्केटिङको समेत काम गर्दै आएका छन्।
हुन त विमानस्थलले पास वितरणमा कडाइ गरेको यो पहिलो घटना होइन। यसअघि पनि पटक-पटक पास वितरणमा कडाइ गर्ने र पछि विभिन्न प्रलोभनमा पर्दै वितरण खुला गर्ने गरेको पाइएको एयरलाइन्स सञ्चालकहरूको भनाइ छ। कतिपय अवस्थामा विमानस्थलका कर्मचारीले केही लाभ लिएर पनि पास दिने गरेको आरोप सञ्चालकहरूको छ।