काठमाडौं। अटो व्यवसायीहरूको पाँच दशक पुरानो छाता संगठन नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको आसन्न चुनावमा ‘कर्पोरेट टकराब’ देखिन थालेको छ।
अध्यक्षका आकाँक्षीहरू कोही पनि पछाडि नहट्ने देखिएपछि अध्यक्षमा सर्वसम्मत हुने सम्भावना टर्दै जान थालेको छ। यद्यपि, नाडामा भने अझै पनि सर्वसम्मत गर्ने प्रयास भइरहेको छ।
सहमति नहुने दुवै पक्ष पछाडि नहट्ने देखिएपछि गोल्छा अर्गनाइजेसनका आकास गोल्छाविरुद्ध चौधरी ग्रुपका करण चौधरी उठ्ने कि सिप्रदी ट्रेडिङका राजनबाबु श्रेष्ठ उठ्ने गहन छलफल सुरु भएको छ।
आफ्नो प्यानलबाट कसले चुनाव लड्ने भन्ने तय भइनसकेको सिप्रदीका राजनबाबु श्रेष्ठले बताए। ‘अहिले करणजी नेपालमा हुनुहुन्न। उहाँ आएपछि हामी यो कुरो फाइनल गर्छौं,’ श्रेष्ठले क्यापिटल नेपालसँग भने।
नाडाको आगामी पुस २० र २१ मा हुने चुनावमा अध्यक्ष पदका लागि गोल्छा र श्रेष्ठको चर्चा थियो। अध्यक्ष जिताउन गोल्छालाई चौधरीले सघाइरहेका थिए। गोल्छालाई सघाउन चौधरी नारायणगढ, बुटवल, वीरगन्जलगायत ठाउँ पनि गएका थिए।
तर, यहीबीच खेल अर्कै हुन पुग्यो। नाडाभित्र सर्वसम्मत अध्यक्ष बनाउनुपर्ने कुरा सुरु हुन थाल्यो। सर्वसम्मत अध्यक्षको कुरा जोडतोडसाथ अगाडि बढेपछि श्रेष्ठले ‘गोल्छालाई मनाउन सके चौधरीलाई अध्यक्ष दिने’ प्रस्ताव चौधरीसँग राखे। श्रेष्ठको प्रस्ताव सुनेर चौधरी अध्यक्षको तयारीमा लागे।
सर्वसम्मत भए संस्था राम्रो हुने भन्दै श्रेष्ठ पन्छिएपछि चौधरीलाई बाटो खुलेको थियो।
यता, श्रेष्ठले सुरुमा चौधरीलाई ‘काखी च्यापे’ पनि अहिले भने उनी सजिलै सर्मथन गर्ने पक्षमा नभएको सम्बद्ध स्रोतको भनाइ छ।
श्रेष्ठले सहजै अध्यक्ष पदको उम्मेदवारी चौधरीलाई नसुम्पिएपछि चौधरी अप्ठेरोमा परेको स्रोतहरूको भनाइ छ।
सुरुवाती चरण हेर्दा गोल्छा प्यानलका पक्षमा बजाज, टिभिएस, महिन्द्रा, फोटोन, बिवाइडी, फोर्ड, हुन्डाईलगायत ब्रान्डको सहयोग हुन सक्छ।
त्यस्तै चौधरी र राजनको पक्षमा चौधरी ग्रुप, आइएमई ग्रुप, एमएडब्लु ग्रुपलगायतको समर्थन हुने सम्भावना छ।
आलोपालो गर्ने नाडाको सुझाव
नाडाको वर्तमान कार्यसमितिले भने सबै आकांक्षीलाई आलोपालो गर्ने सल्लाह दिएको छ। चुनावमा जाँदा दरार उत्पन्न हुने हुँदा सर्वम्मत गराउने प्रयास गरिरहेको नाडा अध्यक्ष ध्रुव थापाले बताए।
‘मैले त चुनाव लड्नुपर्याे, त्यो नियति अरू साथीहरूले भोग्नु नपरोस् भन्ने हो। त्यसकारण दुई वर्ष बित्न धेरै समय लाग्दैन। बरु, आलोपालो गर्नुहोस् भनेर सल्लाह दिइरहेका छौं,’ उनले भने, ‘हामी धेरै चरणको बैठक बसिसक्यौं। अहिलेसम्म सबैजना सकारात्मक हुनुहुन्छ।’