काठमाडौं। पछिल्ला केही वर्षयता नेपाली बजारमा विद्युतीय सवारीसाधन (इभी) को लोकप्रियता उकालो लागिरहेको छ।
भन्सार विभागको तथ्यांकअनुसार कात्तिकमा मात्र ६ सय ५२ युनिट विद्युतीय कार, जिप र भ्यान आयात भएका छन्। आर्थिक वर्ष २०८०/८१ को पहिलो ४ महिना (साउन, भदौ, असोज र कात्तिक) मा मात्र ६ अर्ब ८३ करोड २७ लाख ५० हजार रुपैयाँको २ हजार ७ सय ८७ युनिट विद्युतीय कार, जिप र भ्यान आयात भएका छन्। जसबाट २ अर्ब ९६ करोड ९९ लाख ८ हजारबराबर राजस्व संकलन भएको छ।
इभीमा सरकारले देखाएको उदारता र सञ्चालन खर्च कम हुने भएकाले यसको लोकप्रियता बढेको जानकारहरू बताउँछन्।
त्यस्तै विश्वव्यापी रूपमै इभीमा चासो बढिरहेकाले पनि सबैजसो ब्रान्डले यस्ता गाडी उत्पादान गरिरहेका छन् भने केही अनुसन्धान (रिसर्च) चरणमा छन्।
नेपालमा पनि चल्ती ब्रान्डका इभी मोडेल आइरहेका छन् भने केही नयाँ ब्रान्ड पनि भित्रिइरहेका छन्।
हाल नेपालमा बिवाइडी, सेरेस, टाटा, हुन्डाई, सिट्रोन, जिडब्लुएम, एमजी, स्काई वेल, उलिङ, निशानलगायत ब्रान्डका इभी उपलब्ध छन्।
तथ्यांकमा उकालो लागेको इभी बुकिङ पनि अत्यधिक भएको व्यापारीहरू बताउँछन्। व्यापारीहरूका अनुसार विभिन्न ब्रान्ड गरी १ हजार १ सयभन्दा धेरै इभी बुकिङ भएका छन्।
बुकिङको मामलामा बिवाइडी अग्रस्थानमा छ। एटो ३ र डल्फिन गरी करिब ७ सय गाडी डेलिभरी गर्न बाँकी रहेको बिवाइडीका लागि नेपालको आधिकारिक वितरक साइमेक्स इंकका नेसनल सेल्स हेड आसुतोष गौतमले जानकारी दिए।
त्यस्तै बुकिङ धेरै रहेको दोस्रो ब्रान्ड हो- सेरेस। तिहारअघि सेरेसले धेरै डेलिभरी दिए पनि करिब २ सय युनिट डेलिभरी हुन बाँकी रहेको सेरेसका लागि नेपालको आधिकारिक वितरक एमएडब्लु वृद्धि अटोकर्पका बिजनेस हेड प्रशन्न पन्तले जानकारी दिए।
त्यसैगरी एमजीको करिब १ सय गाडी डेलिभरी दिन बाँकी रहेको एमजीका लागि नेपालको आधिकारिक वितरक पारामाउन्ट मोटर्सका महाप्रबन्धक सचिन अर्यालले जानकारी दिए।
‘गाडी नआएका कारण हामीले डेलिभरी दिन बाँकी भनेको एमजी ४ मात्र हो। त्यो पनि केही समयमा डेलिभरी दिन्छौं,’ उनले भने।
त्यस्तै स्काइवेलको ३०, हुन्डाई २०, जिडब्लुएम २०, निशान ५ वटा बुकिङ रहेको कम्पनीले जनाएका छन्।
त्यसैगरी टाटा, उलिङलगायतले भने सबै बुकिङ डेलिभरी भइसकेको जानकारी दिएका छन्।