काठमाडौं। मंसिर अन्तिमसम्म सुनको भाउ तोलाको १ लाख २५ हजार रुपैयाँसम्म पुग्ने भएको छ। अन्तर्राष्ट्रिय युद्ध तथा विश्व अर्थतन्त्रको उत्ताराचढावका कारण नेपालमा सुनको मूल्य दिनहुँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघका संस्थापक अध्यक्ष मणिरत्न शाक्य बताउँछन्।
शाक्यका अनुसार पछिल्लो समय इजरायल र प्यालेस्टाइनको हमास समूहबीचको युद्धका कारण विश्वअर्थतन्त्र र सुन बजारमा असर पुगेको हो। त्यसबाहेक अमेरिकाको फेडेरल बैंकले लामो समयसम्म बचतकर्ताको निक्षेपको ब्याजदर नबढाउँदा पनि लगानीकर्ता सुनतर्फ आकर्षित भएका हुन्।
त्यस्तै चीनको केन्द्रीय बैंकले केही समयअघि मात्रै आफ्नो बचत रकमबाट १७.६ टन सुन किनेको छ। जसले गर्दा पैसा भएका मानिसलाई बैंकभन्दा सुनमा विश्वास बढ्दै गएको शाक्य बताउँछन्।
‘रुस र युक्रेनको युद्धको असर कम हुँदै थियो, फेरि इजरायल र हमासको युद्ध सुरु भयो, त्यसबाहेक बैंकहरूको भुमिका पनि कमजोर बन्दै गयो,’ उनले क्यापिटल नेपालसँग भने, ‘पैसा जम्मा गर्ने बैंकहरू आफैं सुनमा लगानी गर्न थालेपछि अन्य लगानीकर्ता स्वतः सुनमा आएपछि माग बढ्दा मूल्य बढेको हो।’
सामान्य मानिसले पनि अन्तर्राष्ट्रिय युद्ध तथा अर्थतन्त्रमा परिवर्तन आउनासाथ नेपालमा सुनको मूल्य बढ्ने बुझ्न आवश्यक रहेको शाक्य बताउँछन्।
हालसम्म इजरायल–हमास युद्धको अवस्था हेर्दा मंसिर मसान्तसम्म सुन तोलाको १ लाख २५ हजार रुपैयाँ पुग्ने उनको अनुमान छ।
तर, युद्ध थप चर्किदै गए सुनको मूल्य अझै बढ्न सक्ने उनी बताउँछन्। ‘अहिलेको अवस्था हेर्दा १ लाख २५ हजार पुग्छ, त्यसभन्दा बढ्नलाई भने केही दिनको अवस्था हेर्नुपर्छ,’ उनले भने।
सोमबार सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढेर नेपाली इतिहासमै फेरि नयाँ रेकर्ड कायम गरेको छ। मूल्य बढेपछि आज छापावाल सुनको कारोबार तोलाको १ लाख २१ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ।
त्यस्तै तेजाबी सुन पनि बढेर १ लाख २१ हजार रुपैयाँ निर्धारण भएको छ। आज चाँदीको कारोबार १ हजार ५ सय ४५ रुपैयाँमा भइरहेको छ।