काठमाडाैं। विश्वका ठूला अर्थतन्त्रहरुको मुद्रास्फीति दर न्यून हुँदै गइरहेको देखिएको छ । कोभिड महामारीपछि बढ्दो उपभोक्ताको माग र सन् २०२२ को फेब्रुअरीमा सुरु भएको रुस–युक्रेन युद्धका कारण विश्वभर मुद्रास्फीति दर उल्लेख्यरुपमा बढेको थियो । विभिन्न राष्ट्र र अर्थतन्त्रका लागि बढ्दो मुद्रास्फीति चिन्ताजनक बन्यो । मुद्रास्फिति नियन्त्रणको लागि ब्याजदर वृद्धिलाई प्रमुख हतियार बनाइयो । जुन अहिले प्रभावकारी सावित हुन थालेको छ ।
करिब डेढ वर्षको अवधिमा अहिले विभिन्न राष्ट्रको मुद्रास्फीति दर ओरालो लाग्दै गइरहेको छ । विश्वको ठूलो अर्थतन्त्र अमेरिकाको मुद्रास्फीति डेड वर्ष अघि सन् २०२२ जुनमा ९.१% पुगेको थियो । जुन घटेर गत अक्टोबरमा ३.२% मा सीमित भएको छ । मुद्रास्फीति नियन्त्रणका लागि अमेरिकाले १ वर्षसम्म लगातार ब्याजदर बढाएको थियो ।
यस्तै, छिमेकी राष्ट्र चीनको मुद्रास्फीति दर सन् २०२२ जुलाईमा २.७% थियो । पछिल्लो केही महिना चीनमा मुद्रास्फीति दर ओरालो लाग्दै अक्टोबरमा आइपुग्दा ०.२% देखिएको छ । यस्तै, अर्को छिमेकी राष्ट्र भारतको पनि महँगी दर ओरालो लागिरहेको देखिन्छ । सन् २०२२ को अप्रिलमा ७.७९% पुगेको भारतको मुद्रास्फीति दर गत अक्टोबरमा आइपुग्दा ४.८७% मा आएको छ । भारतले महँगी नियन्त्रणका लागि लगातार रिपो रेट बढाएर ६.५% स्थिर राखेको छ ।
यता, बेलायतको महँगी दर पनि ओरालो लागिरहेको छ । बेलायतको मुद्रास्फीति सन् २०२२ अक्टोबरमा ११.१% पुगेको थियो । जुन घटेर अक्टोबरमा ४.६% मा आएको छ । यो सन् २०२१ अक्टोबर यताकै न्यून हो । यस्तै, २० युरोपेली राष्ट्रहरुको समूह युरो जोनको पनि मुद्रास्फीति दर ओरालो लागिरहेको छ । सन् २०२२ अक्टोबरमा युरो जोनको मुद्रास्फीति दर १०.६% रहेको थियो । जुन घटेर अक्टोबरमा २.४% मा आएको छ ।
यस्तै, जर्मनीको मुद्रास्फीति दर सन् २०२२ अक्टोबरमा ८.८% सम्म पुगेको थियो । जुन अहिले घटेर ३.२% मा आएको छ । यता, फ्रान्सको पनि सन् २०२१ जुलाईमा ६.१% रहेको मुद्रास्फीति दर अहिले ३.४% मा आएको छ । युद्धमा होमिएको रसियाको मुद्रास्फीति दर सन् २०२२ जुनमा १७.८% पुगेको थियो । जुन अप्रिलमा घटेर २.३% मा आएको थियो । केही महिनायता भने मुद्रास्फीति दर पुनः वृद्धि हुँदै अक्टोबरमा ६.७% पुगेको छ । यता, युक्रेनको मुद्रास्फीति दर सन् २०२२ अक्टोबरमा २६% बाट घटेर गत अक्टोबरमा ५.३% मा आएको छ।