गल्याङ। स्याङ्जाको गल्याङ नगरपालिका–७, सिरौँसाका किसान यस वर्ष सुन्तला उत्पादनमा वृद्धि भएपछि उत्साहित भएका छन्।
मौसम अनकूल र नयाँ बोटमा फल राम्रो लागेका कारण सिरौँसामा यस वर्ष सुन्तलाको उत्पादन बढेको हो। सुन्तला पकेट सञ्चालक समिति सिरौँसाका अध्यक्ष रामप्रसाद भण्डारीले सिरौँसामा अघिल्लो वर्ष दुई करोड रुपैयाँको सुन्तला बिक्री भएको र यस वर्ष अघिल्लो वर्षको तुलनामा ५० लाख मूल्य बराबरको सुन्तला उत्पादनमा वृद्धि भएको जानकारी दिए।
विसं २०७० देखि यहाँ सुन्तला पकेट क्षेत्र घोषणा गरेर ‘सुन्तला पकेट क्षेत्र’ कार्यक्रम सञ्चालन गरिएको छ। यहाँको सुन्तला पकेट क्षेत्रमा ६० कृषक छन्। यहाँ उत्पादित सुन्तला, काठमाडौं, बुटवल, पोखरा, कावसोती, इटहरी, धादिङ, इनरुवालगायतका जिल्लामा निर्यात हुने गरेको छ।
कृषि ज्ञान केन्द्र स्याङ्जा, सुन्तला सुपरजोन स्याङ्जा, बाली संरक्षण कार्यालय पोखराले सिरौँसामा सुन्तलासम्बन्धी प्रशिक्षण, अनुदान, परामर्श, बीउबिजनमा सहयोग गर्दै आएको छ। ती निकायले पक्की ट्याङ्की, प्लास्टिक ट्याङ्की, प्लास्टिक पोखरी निर्माण गरिदिएका छन्। यहाँ सुन्तला आईपिएम पाठशालासमेत सञ्चालनमा छ।
अध्यक्ष भण्डारीका अनुसार यहाँका ९० प्रतिशत कृषकको मूख्य पेसा नै सुन्तला उत्पादन हो। सिरौँसाका अधिकांशको रोजीरोटी सुन्तलाले नै चलेको छ, उनले भने यस क्षेत्रमा सुन्तला उत्पादनको अत्यन्त राम्रो सम्भावना भएकाले युवा विदेश छोडेर सुन्तलाखेतीतर्फ लागेका छन्।
उत्पादित सुन्तला एक क्विन्टल बराबरको सुन्तला रु सात हजारसम्ममा ठेकेदारले किन्छन् भने विभिन्न व्यापारीले ग्रेडिङका आधारमा प्रतिकिलो रु ५० देखि ८० मा खरिद गर्ने गर्छन्।
अध्यक्ष भण्डारीले व्यक्तिगत रुपमा यस वर्ष रु २५ लाखको सुन्तला उत्पादन गरेको दाबी गरे। सुन्तला पकेट सञ्चालक समिति सिरौँसाका सचिव हरिप्रसाद भण्डारीले सुन्तला उत्पादन अन्य खेतीभन्दा दश गुणा आम्दानी दिने व्यवसाय भएको दाबी गर्दै किसानको आवश्यकताका आधारमा सरकारको सहयोग प्राप्त भएमा देशको अर्थतन्त्र विकासमा महत्वपूर्ण सहयोग पुुग्ने बताए।
उनको सुन्तला बगैँचामा छ सय सुन्तलाका बोट छन् । तीमध्ये चार सय बोटले उत्पादन दिने गरेका छन्। उनले अघिल्लो वर्ष सुन्तला बेचेर आठ लाख आम्दानी गरेको बताउदै यो वर्ष १२ लाखको सुन्तला बिक्री हुने अनुमान गरेका छन्। मिलीजुली सुन्तला पकेट सञ्चालक समितिका अध्यक्ष युवराज सापकोटाले ७० घरधुरीका किसानले एक करोड रुपैयाँ बराबरको सुन्तला उत्पादन भएको दाबी गरे।
अघिल्लो वर्ष पनि ९० लाख मूल्य बराबरको सुन्तला बिक्री गरेको उनले बताए। सापकोटाले बर्सेनि मनहरी र सिरौँसामा ठेकेदारले किसानलाई ठग्ने गरेको गुनासो गरे। अध्यक्ष सापकोटाले सात वर्षको अवधिमा करिब १५ ठेकेदारले सुन्तलाको आधा पैसा मात्र तिरेर बेपत्ता भएको बताए।