काठमाडौं। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आर्थिक स्रोत सुनिश्चितताबिना पुल निर्माणका लागि ठेक्का आह्वान गरेको छ।
मन्त्रालय अन्तर्गतको सडक विभागको पुल महाशाखाले कात्तिक २६ मा ६ वटा पुल निर्माणका लागि स्रोतको तयारी नगरी ठेक्का आह्वान गरेको हो।
सामान्यतया कुनै पनि आयोजनाको ठेक्का आह्वान गर्ने समयमा अर्थ मन्त्रालयबाट बजेट स्रोत तोकिनुपर्छ। तर, कात्तिक २६ मा आह्वान भएका ठेक्कामा स्रोत तोकिएको छैन।
तर, विभागका महानिर्देशक सुशीलबाबु ढकाल मन्त्रालयबाटै ठेक्का आह्वान गर्न मिल्ने निर्देशन भएको बताउँछन्। साथै, कानुनमा पनि निर्माण व्यवसायीका कारण ठेक्का तोडिएर बसेको आयोजनामा नयाँ ठेक्का आह्वान गरेर लागेको खर्च पुरानो निर्माण कम्पनीसँग असुल गर्न मिल्ने व्यवस्था रहेको उनको भनाइ छ।
‘कानुनमा पुरानो ठेक्का तोडिएर बसेको आयोजनामा नयाँ ठेक्का आह्वान गर्न स्रोत चाहिने बाध्यता छैन, त्यसमा पनि मन्त्रालयबाट निर्णय भएर अहिले ठेक्का आह्वान भएको हो,’ महानिर्देशक ढकालले क्यापिटल नेपालसँग भने, ‘स्रोत पनि माग भइरहेको छ, मन्त्रालयले निर्णय नगरी हामीले ठेक्का आह्वान गरेको होइन।’
मन्त्री ज्वालाले छठपछि मन्त्रीस्तरीय लिखित निर्णय गर्दै स्रोत सुश्चितता नभए पनि ठेक्का आह्वान गर्न कर्मचारीलाई निर्देशन दिएका हुन्।
महानिर्देशक ढकालले स्रोत सुनिश्चित नभई पुरानो ठेक्का तोडेर नयाँ ठेक्का आह्वान गर्न स्रोत सुनिश्चितताको बाध्यता नभएको बताए पनि मन्त्रालयका एक सहसचिव कानुनअनुसार स्रोत नभई कुनै पनि आयोजनको ठेक्का आह्वान गर्न नमिल्ने बताउँछन्। ‘मन्त्रीले निर्देशन दिएपछि हाम्रो देशमा अरू के चाहिन्छ र? कर्मचारीले कार्यान्वयन गर्नैपर्छ,’ ती सहसचिवले भने।
मन्त्रालयका सहसचिव एवं प्रवक्ता भीमार्जुन अधिकारी भने मन्त्रीले निर्णय गरेको जानकारी आफूलाई नभएको बताउँछन्। ‘विभागसँग मन्त्रीले छलफल गर्नुभएको होला, मन्त्रालयमा स्रोत नभई ठेक्का आह्वान गर्ने निर्णय भएको छैन,’ उनले भने।
प्रवक्ता अधिकारी पनि सामान्यतया बहुवर्षे आयोजनामा स्रोत सुनिश्चित नभई ठेक्का आह्वान गर्न नमिल्ने बताउँछन्। यद्यपि, पुल महाशाखाले किन र कसरी ठेक्का आह्वान गर्यो भन्ने प्रष्ट जानकारी नहुँदा जवाफ दिन नसक्ने उनले बताए। ‘सामान्यतया बहुवर्षे आयोजनामा स्रोत सुनिश्चित गर्नुपर्छ, तर अहिले कसरी केका आधारमा ठेक्का आह्वान भयो भन्ने जानकारी मलाई छैन,’ उनले भने।
स्रोत सुनिश्चितताका लागि पुल महाशाखाले सडक विभाग, भौतिक मन्त्रालयमार्फत अर्थमा फइल पठाउनुपर्छ। पुल निर्माण गर्न स्रोत माग गर्दा अर्थले नदिएपछि मन्त्री ज्वाला नियम बाहिर गएर निर्णय गरे वा अन्य केही कारणले स्रोतबिनाको ठेक्का आह्वान गर्ने निर्णय भयो प्रष्ट छैन।
तर, मन्त्री ज्वालाको लिखित निर्देशनपछि ठेक्का आह्वान भएको महानिर्देशक ढकालको दाबी छ। ‘मन्त्रीको लिखित निर्देशन छ, उसै कर्मचारीले कसरी ठेक्का आह्वान गर्न सक्छन्?,’ ढकालले भने।
मन्त्रालयका अन्य अधिकारीहरूका अनुसार मन्त्री ज्वालाले ‘अहिले ठेक्का आह्वान गर्दै गर्नू, पछि आफूले जसरी पनि बजेट व्यवस्था गर्ने’ बताएका छन्। मन्त्रीले गत वर्ष ठेक्का आह्वान भएर ठेक्का नलागेका तथा ठेक्का तोडेर कालोसूचीमा पठाएका आयोजनामा स्रोत सुनिश्चित नभई ठेक्का आह्वान गर्न मिल्ने निर्देशन दिएका हुन्।
अहिले ठेक्का आह्वान भएका ६ वटा पुल गत वर्ष ठेक्का आह्वान भएर पनि आवेदन नपरेका हुन्। जसले गर्दा महानिर्देशक ढकालले भनेको जस्तो अर्को निर्माण व्यवसायीबाट रकम असुल्न मिल्दैन।
त्यस्तै स्रोत सुनिश्चित नगरी अन्य आयोजनाको पनि ठेक्का आह्वान गर्ने तयारीमा भौतिक मन्त्रालय छ। मन्त्रालयका एक अधिकारीका अनुसार गत वर्ष ठेक्का तोडिएका पुल तथा सडक आयोजनाको विवरण संकलन हुँदैछ।
करिब एक महिनामा कतिवटा आयोजनाको ठेक्का तोडिएको छ भन्ने विवरण तयार हुन्छ। त्यसपछि स्रोत सुनिश्चितता नभई फेरि ठेक्का आह्वान हुनेछ। तर, ठेक्का आह्वान भए पनि बजेट नहुँदासम्म निर्माण व्यवसायीसँग सम्झौता भने नगर्ने योजना मन्त्रालयले बनाएको छ।
उता पुल महाशाखा प्रमुख ललिजन खनाल भने गत वर्ष ठेक्का आह्वान भएर कुनै पनि आवेदन नपरेका ६ वटा पुलको पुनः ठेक्का आह्वान भएको बताउँछन्। साथै, सबै पुलको लागत अनुमान भए पनि अहिले सार्वजनिक गर्न नमिल्ने खनालको भनाइ छ।
‘लागत अनुमान गरेरै ठेक्का आह्वान भएको हो, तर बिड ओपनिङ अर्थात बोलपत्र खोलेको दिनमात्रै हाम्रो अनुमान भन्छौं,’ महाशाखा प्रमुख खनाल भन्छन्, ‘अहिले नै सार्वजनिक गर्दा निर्माण कम्पनीको स्वस्थ प्रतिस्पर्धा नहुन सक्छ।’
अर्थ मन्त्रालयले चालू आर्थिक वर्षमा आर्थिक चाप बढेकाले थप बजेट माग नगर्न मन्त्रालयहरूलाई आग्रह गर्दै आएको छ। साथै, भौतिक मन्त्रालय आफैंसँग पनि पर्याप्त बजेट छैन। जसका कारण थप बजेट व्यवस्था गर्न नसकिने सचिव केशवकुमार शर्माले कत्तिक १७ मा सचिवस्तरीय निर्णय गरेका छन्। जसले गर्दा मन्त्री ज्वालाको निर्देशन कार्यान्वयनमा चुनौती देखिन्छ।
स्रोत सुनिश्चित नभई ठेक्का आह्वान भएका पुलहरूमा त्रिसुली चरौंदी पुल घ्यालचोक धादिङ, चिरुवा खोला पक्की पुल बागमती मकवानपुर, बोक्सी खोला पुल बेनी जोमसोम सडक बागलुङ, थापा खोला पुल मुस्ताङ, दैलेख र अछाम जोड्ने कर्णाली नदी पक्की पुल र संखुवासभा तथा भोजपुर जोड्ने अरुण नदीको सतीघाट पुल निर्माणका लागि ठेक्का आह्वान भएको छ। निर्माण कम्पनीले मंसिर २९ दिउँसो १२ बजेसम्म आवेदन दिन सक्ने बोलपत्रमा उल्लेख छ।