काठमाडौं। संघीय संसदको सार्वजनिक लेखा समितिले एनसेल खरिद-बिक्रीसम्बन्धमा अध्ययन गर्ने भएको छ।
नियामकको स्वीकृतिबेगर एनसेलको माउ कम्पनी आजियाटा ग्रुपले आफ्नो ८० प्रतिशत सेयर बेलायतको स्पेक्ट्रलाइट युके लिमिटेडलाई बिक्री गरेपछि यसबारे समितिले अध्ययन गर्ने भएको हो। बिक्री प्रक्रिया, कर र मूल्यका विषयमा प्रश्न उठेकाले यसमा समितिले अध्ययन गर्न लागेको हो।
यसैका लागि लेखा समितिले दूरसञ्चार सेवा प्रदायक एनसेलबाट आजियाटा बाहिरिने क्रममा भएको सेयर खरिद–बिक्री प्रक्रियाका विषयमा नौ बुँदे स्पष्टीकरण सोधेको छ।
प्राधिकरणलाई सोधिएको स्पष्टीकरणमा एनसेलको सेयर बिक्री नियमसंगत भए/नभएको, त्यसले नेपालको राजस्व र आयमा के/कस्तो असर गर्छ भन्ने स्पष्ट पार्न भनिएको छ। समितिले त्यसको अनुसन्धान र विश्लेषण गरी छिटो पठाउन भनेको छ।
आजियटाले बिक्री गरेको सेयरको खरिद-बिक्री प्रक्रिया नियमसंगत हो कि होइन? यस्तो खरिद-बिक्रीले सेवा प्रवाहमा के कस्तो असर पार्छ? राजस्व र आयमा के कस्तो प्रभाव र असर गर्छ? जस्ता प्रश्न समितिले सोधेको छ।
समितिले राज्यलाई तिर्न बाँकी एनसेलको दायित्व, ऊसँग रहेको बेरुजु, नियमितरूपमा तिर्नुपर्ने अन्य शुल्क के हुने भन्ने विषय पनि उल्लेख गरिएको छ। यस्तै नेपालका बैंक तथा वित्तीय संस्थाहरूबाट लिएको ऋण र दायित्व कसले निर्वाह गर्ने भन्ने स्पष्ट गर्न पनि समितिले भनेको छ।
‘एनसेलको सेयर बिक्रीसम्बन्धमा विभिन्न सञ्चारमाध्यममा स्वकृतिबिना बिक्री गरेको, कर र मूल्य तथा खरिद प्रक्रियालगायतमा प्रश्न उठिरहेको अवस्था छ। यी विषयमा सार्वजनिक लेखा समितिको ध्यानाकर्षण भइसकेको छ,’ समितिका प्रवक्ता तथा सहसचिव एकराम गिरीले भने, ‘समितिका सभापति बाहिर भएका कारण छलफल मिति भने तोकिएको छैन।’
प्रवक्ता गिरीले कानुनी प्रक्रिया नै पूरा नगरेको जस्ता विषय उठेकाले यसलाई समितिले छिट्टै अध्ययन तथा छलफल गर्ने बताए।
एनसेलको बिक्रीसम्बन्धी बाहिर उठेका कुरालाई समितिले चासोकासाथ हेरेको गिरीको भनाइ छ। यसो त, नेपाल दूरसञ्चार प्राधिकरणले स्वीकृति लिनुपर्ने कानुनी व्यवस्था पालना नगरेको भन्दै खरिद–बिक्री प्रक्रियामा प्रश्न उठाइसकेको छ।
कानुनी प्रक्रियाविपरीत खरिद-बिक्रीमा हतारो
प्राधिकरणको दूरसञ्चार नियमावली, २०५४ को १५ (ट) मा चुक्ता पुँजीको ५ प्रतिशतभन्दा बढी सेयर खरिद वा बिक्री गर्नुअघि प्राधिकरणको स्वीकृति लिनुपर्ने कानुनी व्यवस्था छ।
यस्तै नेपाल दूरसञ्चार प्राधिकरण (अनुमतिपत्र प्राप्त व्यक्तिको सेयर खरिद बिक्री) विनियमावली, २०७६ को विनियम ४ (क) मा अनुमतिपत्र प्राप्त व्यक्तिले आफ्ना सेयरधनीको सेयर खरिद बिक्री वा नामसारी गर्नुपूर्व प्राधिकरणको स्वीकृति प्राप्त गर्नुपर्ने उल्लेख छ।
तर, यसको जानकारी नगराइ आजियाटाले आफ्नो ८० प्रतिशत सेयर बिक्री गरेको भन्दै दूरसञ्चार प्राधिकरणले यसका सम्बन्धमा जानकारी गराउन एनसेललाई पत्र लेखिसकेको छ।
‘एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले नै एनसेलको सेयर बिक्री भइसकेको विषय प्रेस विज्ञप्तिमा नै स्वीकार गरिसकेका छन्,’ प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनाल भन्छन्, ‘यसर्थ, अब हामीले पहिला लेखेको पत्रमा के जवाफ आउँछ, सोहीअनुसार के गर्ने भन्ने निक्र्यौलमा हामी पुग्छौं।’
खनालले कानुनी व्यवस्थाविपरीत स्वीकृति नलिई सेयर बिक्री भएका कारण कानुनबमोजिम प्राधिकरण अगाडि बढ्ने बताए। हालसम्म प्राधिकरणले लेखेको पत्रको जवाफ एनसेलबाट प्राप्त नभएका कारण पनि यस विषयमा थप कुनै निर्णयमा नपुगेको खनालको भनाइ छ।
यद्यपि, पछिल्लो समय एनसेल बिक्रीसम्बन्धी उठेका अन्य प्रश्नलाई पनि प्राधिकरणले नजिकबाट नियालेको उनले स्पष्ट पारे।
८० प्रतिशत सेयर खरिद-बिक्री मूल्यमाथि शंका
बिक्री सम्झौता पत्रअनुसार आजियाबाट स्पेक्ट्रलाइटले विभिन्न सर्तसहित कुल ५ करोड अमेरिकी डलर (करिब ६ अर्ब ६५ करोड रुपैयाँ) मा एनसेलको ८० प्रतिशत सेयर खरिद गरेको छ।
जुन ५ करोड अमेरिकी डलर पनि दुई चरणमा भुक्तान हुने सम्झौतामा उल्लेख छ। जसमा खरिद-बिक्री सम्झौता भएको ६ महिनाभित्र स्पेक्ट्रलाइटले ५ करोड डलरमध्ये ५० लाख डलर सम्झौताको ६ महिनाभित्र र बाँकी रकम ४ वर्षभित्र बुझाइसक्नुपर्ने सम्झौता छ।
आजियाटा र स्पेक्ट्रलाइटबीचको सम्झौतामा प्रतिफल प्राप्तिमा पनि फरक–फरक अवस्था तोकिएको छ। जसमा २०२३ को प्रतिफलबाट आजियाटाले ८० प्रतिशत, २०२४ र २०२५ को ४० प्रतिशत, २०२६ र २०२७ को ३० प्रतिशत र २०२८ र २०२९ को २० प्रतिशत लग्ने छ।
आजियाटाले २०७२ सालमा यही ८० प्रतिशत सेयर १ अर्ब ३६ करोड अमेरिकी डलर (करिब १ खर्ब ४३ अर्ब रुपैयाँ) मा खरिद गरेको थियो।
तर, हाल सोही सेयर ५ करोड अमेरिकी डलर (६ अर्ब ६५ करोड रुपैयाँ) मा बिक्री गरेको छ। जुन विषयले हाल एनसेलको सेयर बिक्रीमाथि शंका उब्जाएको छ।
तर, एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक कायुमोभलेसमेत प्रेस विज्ञप्तिमार्फत एनसेललाई डेटा र सञ्चार पूर्वाधारको एक नेपाली कम्पनीका रूपमा अघि बढाउन तत्पर रहेको बताएका छन्।
उनले आगामी दिनमा कम्पनीको परिष्कृत योजना घोषणा गर्दै सेवाहरूको दायरा फराकिलो बनाउने र कम्पनीलाई एक प्रमुख डिजिटल सेवा प्रदायक तथा डेटा सेवा प्लेटफर्म बनाउने बताएका छन्।
स्पेक्ट्रलाइट कम्पनीमाथि नै प्रश्न
स्पेक्ट्रलाइट युके लिमिटेड करिब दुई महिनाअघि मात्रै बेलायतमा दर्ता भएको कम्पनी हो। गैरआवासीय नेपाली सतिशलाल आचार्यको नाममा दर्ता भएको उक्त कम्पनी एक डलरमा दर्ता भएको देखिन्छ।
यस कम्पनी आचार्यको नाममा गत सेप्टेम्बर २६ मा दर्ता भएको थियो। एनसेलको ८० प्रतिशत सेयर स्पेक्ट्रलाइटले खरिद गर्दै गर्दा यसको २० प्रतिशत सेयरको स्थानीय साझेदार आचार्यकी श्रीमती भावना सिंह श्रेष्ठ सञ्चालक रहेको सुनिभेरा क्यापिटल भेन्चर प्रालिको नाममा छ।
एनसेलको सेयर खरिदपछि स्पेक्ट्रलाइट युकेका लगानीकर्ता सतिशलाल आचार्यले एनसेलको सेयर होल्डिङका लागि यो सम्झौताको घोषणा गर्न पाएकोमा खुसी व्यक्त गरिसकेका छन्।
प्रेस विज्ञप्तिमार्फत उनले एनसेलको व्यवस्थापनसँगको सहकार्यमा इनोभेसन र लगानीसँगै नेपालमा रहेका करोडौं ग्राहकलाई विभिन्न परिष्कृत सेवा प्रदान गर्न प्रतिबद्ध रहेको बताएका छन्। तर, दर्ताको केही समयमा नै एनसेलको ८० प्रतिशत सेयर खरिद गरेको देखिएकाले स्पेक्ट्रलाइट कम्पनीमाथि पनि प्रश्न उठाइएको छ।
अदालतको पनि शंका
एनसेलको सेयर बिक्री गर्ने मलेसियाली कम्पनी आजियाटाको निर्णयविरुद्ध उच्च अदालत पाटनले दुवै पक्षलाई छलफलमा बोलाइसकेको छ।
न्यायाधीश दीपेन्द्र अधिकारीको इजलासले कारण देखाउ आदेश जारी गरी दुवै पक्षलाई बोलाएको हो। अन्तरिम आदेश दिने कि नदिने भन्नेबारे दुवै पक्षको छलफल सुनेपछि मात्रै निर्णय हुने अदालतले जनाएको छ।
‘यसमा के कसो भएको हो? निवदेकको निवेदन मागबमोजिमको आदेश किन जारी हुनु नपर्ने हो? निवदेनको मागबमोजिमको आदेश जारी हुनु नपर्ने कुनै आधार, कारण र प्रमाण भए सबुद प्रमाणसहित सूचना म्याद पाएको मितिले बाटाका म्यादबाहेक १५ दिनभित्र विपक्षी नं. १ र ४ को हकमा उच्च सरकारी वकिल कार्यालय पाटनमार्फत र अन्य विपक्षीहरूका हकमा आफैं वा निजहरूको कानुनबमोजिमका प्रतिनिधिमार्फत लिखित जवाफ पेस गर्नुहोला भनी आदेश र निवेदनको प्रतिलिपिसहित विपक्षीहरूका नाममा म्याद सूचना जारी गरी लिखित जवाफ परे वा अवधि नाघेपछि नियमानुसार पेस गर्नुहोला,’ आदेशमा छ।
यसभन्दा अघि एनसेलमा ८० प्रतिशत आजियाटाको र २० प्रतिशत नेपालकै सुनिभेरा क्यापिटल भेन्चरको लगानी थियो। सन् २००४ मा स्पाइस नेपालका रूपमा स्थापना भएको कम्पनीले २००५ मा मेरो मोबाइलमार्फत दूरसञ्चार सेवा सुरु गरेको थियो।
त्यसपछि २००८ मा स्विडिस दूरसञ्चार कम्पनी टेलिया सोनेराले कम्पनीको सेयर खरिद गरेपछि २०१० मार्च १२ मा स्पाइस नेपालको नाम फेरिएर एनसेल राखिएको थियो।
२०१५ डिसेम्बर २१ मा टेलियासोनेराले एनसेलबाट बाहिरिने घोषणा गरेको थियो। त्यसपछि मलेसियाली कम्पनी आजियाटा नेपाल भित्रिएको थियो। २०१६ अप्रिल १२ मा आजियाटाले टेलिया सोनेराबाट एनसेलको सेयर खरिद गरेको थियो। २०२० अगस्ट ३ मा एनसेलको नाम एनसेल आजियाटा लिमिटेड राखिएको थियो।