काठमाडौं। संघीय राजधानी काठमाडौंका सडकमा सवारी जाम सुधारको काम नयाँबानेश्वर चोकबाट सुरु गरिएको छ।
सडक विभागको सडक सुरक्षा तथा ट्राफिक शाखाका अनुसार सहरी यातायात व्यवस्थापनका लागि जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को आर्थिक एवं प्राविधिक सहयोगमा सवारी जाम कम गर्न आधुनिक डिभाइडर (बार) लगाइएको हो।
उपत्यकामा अत्यधिक सवारी सञ्चालन हुने र ट्राफिक व्यवस्थापन राम्रो नहुँदा धेरै जाम हुन्छ। उक्त समस्या समाधानका लागि मुख्य चोकको साढे २ सय मिटर वरपरबाट सडक लेन मिच्न नमिल्ने गरी डिभाइडर अर्थात बार राखिको हो।
महाशाखा प्रमुख प्रकाशचन्द्र भण्डारीका अनुसार सरकारले ट्राफिक व्यवस्थापनमा सहजीकरण गर्न जापानसँग सहयोग मागेको थियो। ‘सरकारले जापानसँग हाम्रो ट्राफिक व्यवस्थापन कसरी गर्न सकिन्छ भनेर छलफल गरेको थियो, त्यहीअनुसार डिभाइडर राख्न सहयोग गरेको हो,’ भण्डारीले क्यापिटल नेपालसँग भने।
जाइकाले काठमाडौं उपत्यकाभित्रका १ सय ७० चोकको अध्ययन गरेको थियो। जसमध्ये नयाँबानेश्वर चोकलाई पहिलो ‘पाइलट प्रोजेक्ट’ का रूपमा लिएको प्रमुख भण्डारीको भनाइ छ। असार अन्तिमबाट निर्माण सुरु भएर असोजमा निर्माण सम्पन्न भएको उक्त डिभाइडरको प्रभावकारिता राम्रो देखिएको उनले बताए।
‘ट्राफिक जाम कम गर्ने र सवारी व्यवस्थापन गर्ने मुख्य उद्देश्य हो। त्योअनुसार धेरै प्रभावकारी देखिएको छ,’ उनले भने, ‘जाइका आफैंले पनि डिभाइडरको प्रभावकारिताको विषयमा अध्ययन गर्दैछ, मंसिर अन्तिममा उसले आफ्नो प्रतिक्रिया दिन्छ।’
१ सय ७० चोकमा आधुनिक डिभाइडर राखिने
जाइकाले उपत्यकाभित्रका १ सय ७० चोकमा ट्राफिक समस्या रहेको र डिभाइडर राख्नुपर्ने जनाएको छ। सोहीअनुसार अर्को आर्थिक वर्षबाट अन्य चोकमा पनि व्यवस्थापनको काम सुरु हुने उनले बताए।
नयाँबानेश्वरबाट सुरु भएको यो प्रविधि दोस्रो चरणमा लैनचौर चोकमा प्रयोग हुनेछ। लैनचौरलाई पनि पाइलट प्रोजेक्टकै रूपमा विकास गरिने बताइएको छ। यद्यपि, चालू आर्थिक वर्षमा बजेट अभावका कारण चोक व्यवस्थापन प्रभावकारी हुन सक्दैन।
‘यो वर्ष काम गर्न बजेट धेरै छैन, त्यसैले अर्को आर्थिक वर्षमा मात्रै डिभाइडर राख्ने काम सुरु हुन्छ तर लैनचौरमा निर्माण अर्को वर्ष भए पनि अध्ययन यही वर्ष सुरु हुने सम्भावना छ,’ उनले भने।
जाइकाले सडक विभाग, काठमाडौं महानगरपालिका, उपत्यका ट्राफिक प्रहरी महाशाखा, काठमाडौं उपत्यका विकास प्राधिकरण (केभिडिए) सँगको सहकार्यमा डिभाइर राखेको हो। तर, प्राविधिक र आर्थिक लागत नै जाइकाले अनुदान सहयोगमा गरेकाले कति खर्चमा डिभाइडर राख्ने कम भयो भन्ने जवाफ विभागसँग छैन।
‘खर्चको विषयमा थाहा हुनुपर्ने मान्छे म हो, तर उनीहरूले भनेका छैनन्,’ भण्डारी भन्छन्, ‘कतिवटा बत्तीको पोल सारियो, रुख कति काटिएजस्ता विवरण मलाई थाहा छ, लागतको विषय थाहा हुँदैन।’
एउटा चोकमा काम गर्न एक वर्ष लाग्ने
एउटा चोकमा डिभाइडर राख्न अध्ययन सुरु गरेदेखि निर्माण सम्पन्न हुँदासम्म एक वर्ष लाग्ने भण्डारी बताउँछन्। अध्ययन गर्न ३/४ महिना, ठेक्का आह्वान गरेर सम्झौता गर्दा २ महिना र निर्माणका लागि ४/५ महिना गरी करिब एक वर्षमा एउटा चोकको काम सकिन्छ।
जाइकाले कति रकम खर्च गरेर नयाँबानेश्वरको डिभाइडर तयार गर्याे भन्ने जानकारी नभए पनि एउटा चोकको काम गर्न १ करोडभन्दा कम लाग्ने भण्डारीको अनुमान छ। ‘नयाँबानेश्वरको विषयमा मैले केही भन्न सक्दिनँ, तर अन्य चोकमा १ करोडभन्दा कम खर्चमै आधुनिक डिभाइडर तयार हुन्छ होला,’ उनले भने।
डिभाइडरले के भयो सजिलो?
डिभाइडर राखेपछि चोकमा लेन मिच्ने समस्या हटेको छ। जसले गर्दा ट्राफिक प्रहरीलाई सवारी व्यवस्थापनमा सहजता छ। साथै, सवारी चालकलाई पनि साढे २ सय मिटर परबाटै आफू जाने लेन थाहा हुँदा मुख्य चोकमा आएर अल्मलिनुपर्ने अवस्था हटेको छ।