नवलपरासी। नेपालका उखु किसानको साझा पीडा छ- न उद्योगले उखुको पैसा समयमा दिन्छन्, न सरकारले उपलब्ध गराउने अनुदान रकम समयमै पाइन्छ। चिनी मिलहरूले समयमै भुक्तानी नगरिदिँदा पछिल्लो समय उखु किसानहरू वैकल्पिक कृषि पेसातर्फ जान थालेका छन्। सरकारी तहबाट पनि उखु किसानका समस्या सम्बोधन गर्ने गरी पहल नहुने गरेको किसानको गुनासो छ।
सधैंको यो समस्याबाट यसपटक पश्चिम नवलपरासीका किसान मुक्त भएका छन्। सरकारले दिने अनुदानवापत रकम यसपटक किसानले समयमै पाएका छन्। नवलपरासी पश्चिम-१ बाट निर्वाचित सांसद विनोद चौधरीको पहलपछि किसानले अनुदान रकम पाएका हुन्। उनले उखुको समर्थन मूल्य तोक्न र अनुदान रकम उपलब्ध गराउन कृषि मन्त्रालयलाई निरन्तर ताकेता गर्दै आएका थिए।
नेपाली कांग्रेसका नेता एवं लुम्बिनी प्रदेश सभासदस्य देवकरणप्रसाद कलवार ‘सन्तु’ ले संघीय सांसद चौधरीको पहलका कारण किसानले अनुदानवापत रकम पाएको बताए।
‘हामी यहाँका जनप्रतिनिधि, उखु किसान गएर माननीय विनोद चौधरीसँग कुरा राख्यौं। उहाँले कृषि मन्त्रालयमा निरन्तर ताकेता गर्नुभयो। अनुदान रकम भुक्तानी गर्न कृषिमन्त्री, सचिव, कोलेनिकाका प्रमुखसँग कुरा गर्नुभयो,’ उनले भने।
कृषि मन्त्रालयले कृषि विभागमार्फत नवलपरासी पश्चिममा १५ करोड १२ लाख १५ हजार ५ सय ५८ रुपैयाँ अनुदान रकम वितरण गरेको कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) नवलपरासीले जनाएको छ।
‘दसैंअघि नै कृषि विभागबाट १५ करोड रुपैयाँको अख्तियारी आएको थियो। त्यसपछि हामीले उद्योगबाट किसानको विवरण मागेर कागजात रुजु गरेर वितरण सुरु गरिसकेका छौं,’ जिल्ला कोलेनिका प्रमुख परशुराम नेपालले भने।
उनका अनुसार पश्चिम नवलपरासीमा ६ हजार १ सय ९४ किसानका लागि अनुदान रकम आएको हो।
कृषि मन्त्रालयले आर्थिक वर्ष २०७९/८० का लागि अनुदान रकम प्रतिक्विन्टल ७० रुपैयाँ तोकेको छ। सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा अनुदान रकम वितरण गरिएको हो।
चिनी उद्योगबाट प्राप्त विवरणका आधारमा किसानको बैंक खातामा अनुदान रकम पठाउने काम भइरहेको समिति संयोजक एवं सहायक प्रमुख जिल्ला अधिकारी प्रकाश देवकोटाले बताए। ‘उखु किसानलाई दिने रकम निकासा भइसकेको छ। उनीहरूको बैकिङ खातामा रकम निकासा गरेका छौं,’ उनले भने।
उखुको अनुदान रकम पाएपछि किसान खुसी छन्। ‘यसअघि अनुदान रकम पाउन निकै गाह्रो हुन्थ्यो, यसपटक माननीय विनोद चौधरीले पहल गर्नुभयो भनेर हामीले थाहा पायौं। पैसा हाम्रो खातामा आइसकेको छ,’ सुस्ता, बिर्ताका उखु किसान राजेश्वर जयसवालले खुसी हुँदै भने, माननीयज्यूलाई धन्यवाद।’