काठमाडौं। विवाह सिजन सुरु भइसक्दा पनि काठमाडौंमा रहेका पार्टी प्यालेसहरू सुनसान छन्। सामान्यतयाः मंसिर महिनामा धेरैले विवाह गर्ने गरेका छन्, जसका कारण काठमाडौंलगायत देशभरिका पार्टी प्यालेस भरिभराउ हुने गरेका छन्।
तर, यो वर्ष मंसिरमा भने काठमाडौंका पार्टी प्यालेसहरूमा सन्तोषजनक बुकिङ हुन सकेको छैन। खासगरी पछिल्लो समय देखिएको आर्थिक मन्दीको प्रत्यक्ष असर विवाहमा समेत देखिन थालेको विश्लेषण हुन थालेको छ।
पहिला-पहिला पार्टी प्यालेस र ठूला होटलहरूमा हुने विवाह समारोह अहिले घरमा सीमित हुन थालेका छन्। सर्वसाधारणसँग खर्च गर्ने क्रयशक्ति नै कम हुँदै गएका कारण तडकभडक गरेर विवाह गर्नेको संख्या घट्दै गएको हो।
पाँचतारे होटल सोल्टीका उपाध्यक्ष सुर्दशन चापागाईले विगत वर्षका तुलनामा अहिले बुकिङ उत्साहजनक नभएको बताए। आर्थिक मन्दीको असर बिस्तारै सर्वसाधारणमा पर्दै गएको र विवाहमा गर्ने खर्चसमेत कटौती भएका कारण होटलमा गरिने विवाह घरमै सीमित हुन पुगेको उनको अनुमान छ।
विगत वर्षमा मंसिर महिनाका लागि दुई महिनाअघि नै बुकिङ हुने गरेकोमा अहिले संख्यात्मक हिसाबले निकै कम रहेको उनले बताए।
बालुवाटार पार्टी प्यालेसका सञ्चालक मुक्ति दाहालले गत वर्ष मंसिर महिनाभरि नै भरिभराउ हुने गरेकोमा यसपालि २२ वटा मात्र बुकिङ भएको बताए।
‘हुन त अझै समय बाँकी भएकाले बुकिङ नहोला भन्न पनि सकिँदैन,’ सञ्चालक दाहालले भने, ‘विगतको तुलनामा यसपालि इन्क्वायरी नै कम आएको छ। यसलाई आर्थिक मन्दीको असर पनि भन्न मिल्छ।’
त्योसँगै शून्य वर्षमा विवाह गर्नुहुन्न भन्ने मान्यता पनि यदाकदा रहेकाले विवाह गर्नेहरूको संख्या कम भएको हुन सक्ने विश्लेषणसमेत हुन थालेको छ।
पछिल्लो समय काठमाडौंका तारे होटलले समेत ब्याँक्वेट हल निर्माण गरी सञ्चालनमा ल्याएका छन्। खासगरी विवाह र विभिन्न समयमा हुने पार्टी लक्ष्यित गरी सुविधा सम्पन्न ब्यांक्वेट हलहरू सञ्चालन गरिरहेका थिए। काठमाडौंसहित मुलुकभरि सञ्चालनमा रहेका ठूला होटलले सुविधा सम्पन्न ब्यांक्वेट हल सञ्चालन गरिरहेका छन्।
गोकर्ण फरेस्ट रिसोर्टका महाप्रबन्धक दोर्जी शेर्पाले पनि विवाहका लागि हुने बुकिङ घटिरहेको बताए। ‘विवाह हुँदै नभएको भने होइन,’ शेर्पाले भने, ‘तर, उत्साहजनक बुकिङ भने छैन।’
पार्टी प्यालेसका लागि मंसिर, माघ, फागुन र वैशाख महिना विवाहका लागि मुख्य सिजनका रूपमा लिने गरिन्छ। र, त्यही बेला हुने कारोबारले वर्षभरि नै चल्नुपर्ने स्थिति कतिपय पार्टी प्यालेसको छ।
सम्बद्ध व्यवसायीका अनुसार पार्टी प्यालेसहरूमा हालसम्म १६ अर्ब रुपैयाँ लगानी भइसकेको छ। हाल देशभरि ८ हजारभन्दा बढी पार्टी प्यालेस सञ्चालनमा छन्।