झापा। पूर्वपश्चिम राजमार्गलाई एसियाली राजमार्गमा स्तरोन्नति गर्ने उद्देश्यले झापा काँकडभिट्टादेखि लौकहीसम्मको ९५ किलोमिटर सडक आसपासका रुख कटान गरिने भएको छ।
यसका लागि पहिलो चरणमा झापाबाट रुखको नम्बरिङ र मूल्यांकन गर्ने काम सुरु भएको छ। जिल्लास्थित वन डिभिजन कार्यालयअन्तर्गत मेचीनगर, कनकाई र दमक सबडिभिजन कार्यालयले सडकका रुखमा टाँचा लगाउने काम थालेको हो।
सबडिभिजन कार्यालयले तीन खण्ड छुट्ट्याएर आफ्नो क्षेत्रभित्रको राजमार्गमा रुखमा टाँचा लगाउन सुरु गरेका हुन्।
एसियाली विकास बैंक (एडिबी) र एसियाली इन्फास्ट्रक्चर इन्भेस्टमेन्ट बैंक (एआइइबी) को लगानीमा निर्माण हुन लागेको चार लेनको एसियाली राजमार्गका लागि रुख कटान गर्न गणना, नम्बरिङ र मूल्यांकनको काम सुरु गरिएको वन कार्यालय अधिकृत ऋषिराज पराजुलीले जानकारी दिए।
उनले वन विभागबाट प्राप्त पत्रका आधारमा कार्यालयमातहतका सबडिभिजनका कर्मचारी परिचालन गरेर काम गरिरहेको बताए।
मेचीनगर सबडिभिजन कार्यालयले काँकडभिट्टादेखि चारआलीसम्म, कनकाई कार्यालयले बिर्तामोडदेखि कनकाईसम्म र दमक कार्यालयले शिवसताक्षीदेखि दमक नगरपालिकासम्मका रुखमा नम्बरिङ र मूल्यांकनको काम गर्ने पराजुलीले जानकारी दिए।
झापा काँकडभिट्टादेखि सुनसरी लौकहीसम्म सडकआसपासमा साल, खयर, सिसौ, सिरिस, पीपल, वर, कदम, मसलालगायत प्रजातिका रुख हुर्किएका छन्। उनका अनुसार केही रुख ५० वर्षभन्दा पुराना छन् भने केही नयाँ पनि छन्।
‘अब काम सुरु भएको छ,’ अधिकृत पराजुलीले भने, ‘चाँडै रुखको तथ्यांक संकलन गरेर मूल्यांकन पनि गर्छौं।’ उनले सामुदायिक वन क्षेत्रभित्र पर्ने रुख प्रक्रिया पूरा गरेर सामुदायिक वनलाई नै बिक्रीका लागि हस्तान्तरण गर्ने र बाँकी रुख मूल्यांकनपछि बिक्री गरेर सरकारको राजस्वमा जम्मा गरिने जानकारी दिए।
एसियाली राजमार्गअन्तर्गत पूर्वी सीमा काँकडभिट्टामा दुई वर्षअघि नै डेढ किलोमिटर भागमा मेची पुल र चार लेनको सडक निर्माण भइसकेको छ।
बंगलादेशबाट भारत बागडोग्रा हुँदै पानीट्यांकी नाकाबाट नेपालतिर सोझिने एसियाली राजमार्गको रुट नम्बर २ अन्तर्गत भारतले मेची नदीमा एसियाली राजमार्गस्तरकै पक्की चार लेनको पुल निर्माण गर्दा नेपालतिरको भागमा पहुँच सडक विस्तार गरेको हो। यही पहुँचमार्गलाई नेपालभित्र एसियाली राजमार्गको पहिलो संरचना मानिन्छ।
स्थलमार्गबाट एसियाका देशलाई जोडेर व्यापार र पर्यटन प्रवर्द्धन गर्ने मूलउद्देश्य बोकेको यस राजमार्गको अवधारणा हो। थाइल्यान्ड बैंककबाट सुरु हुने रुट–२ अन्तर्गत म्यान्मा, बंगलादेश र भारत हुँदै एसियाली राजमार्ग नेपालको काँकडभिट्टाबाट पूर्वपश्चिम राजमार्गमा मिसिन्छ।
यो राजमार्ग हालको पूर्वपश्चिम राजमार्ग भएर पश्चिम नेपालको बनबासा हुँदै भारत नयाँदिल्लीतर्फ सोझिने आयोजनाका उपनिर्देशक प्रदीप शाक्यले जानकारी दिए।
एसियाली राजमार्ग काँकडभिट्टादेखि सुनसरी लौकहीसम्मको ९५.५ किलोमिटर सडक निर्माणका लागि ठेक्का लागिसकेको उनले बताए। एसियाली राजमार्गअन्तर्गत सडक तथा पुल निर्माण कार्य निकट भविष्यमै सुरु गरिने उनको भनाइ छ।