काठमाडाैं। सेयर बजार घट्नेक्रमले आइतबार पनि निरन्तरता पाएको छ । यस दिन नेप्से सूचक ७.२९ विन्दुले घटेर १८५१.२३ अंकमा आएर अडिएको छ । ९६ करोड रुपैयाँभन्दा बडीको सेयर कारोबार भएको छ । माइक्रोफाइनान्सबाहेक बाँकी सबै समूहका सूचक घटेका छन् ।
पछिल्ला दिनहरुमा नेप्से सूचकका साथमा कारोबार रकम पनि खुम्चिएको छ । आइबारसहित नेप्से लगातार पाँचौं कारोबार दिन घटेको हो । अर्थतन्त्रका सूचकहरु क्रमशः सबल बन्दै गएको र ब्याजदर घट्न थालेको बेला यसरी निरन्तर बजार तल झर्नुपर्ने बलियो आधार नभएको जानकारहरु बताउँछन् ।
यद्यपि, लामो समयदेखि घटेको बजारबाट लाभ लिन नसक्नु अनि ठूला लगानीकर्ताहरु अझै ‘पर्ख र हेर’कै अवस्थामा रहँदा बजारले गति लिन नसकेको अनुमान गरिएको छ । कपितयले मौद्रिक नीति समीक्षा सार्वजनिक गर्न ढिलाई हुनुलाई पनि बजार घट्ने कारणसँग जोडेर हेरेको देखिन्छ ।
यता, कतिपयले भने बैंक तथा वित्तीय संस्थाहरुलाई निशानामा पार्ने गरी चलेको सडक आन्दोलनलगायतका कारण ठूला लगानीकर्ता ‘पर्ख र हेर’को अवस्थामा बसेकाले सेयर बजारले गति लिन नसकेको पनि अनुमान लगाएका छन् ।
बजारमा जे स्ता विश्लेषण भइरहे पनि मुख्य कुरा आम लगानीकर्ताको मनोबल कमजोर देखिएको हो । अहिले खासै नयाँ लगानीकर्ता भित्रिन सकेका छैनन् । पुराना धेरैको थप लगानी गर्न सक्ने हैसियत छैन । पुरानो ऋणको साँवा र ब्याज तिर्दा उनीहरुको थप सेयर क्रय शक्तिमा ह्रास आएको देखिन्छ । यही कारण बजारले अहिले अपेक्षा अनुसार गति लिन नसकेको हो ।
यद्यपि, सेयर भाउ सस्तो भएको छ । बैंकहरुले अब धमाधम ब्याजदर घटाएरै भए पनि सेयर धितो कर्जा दिन थालेका छन् । अब विस्तारै यो क्रम थप बढ्दै जानेछ । यसर्थ, केही समयपछि सेयर बजारले गति लिने अनुमान गर्न सकिन्छ ।
अर्थतन्त्रका सूचकहरु पनि सबल बन्दैछन् । बैंकमा तरता थुप्रिएको छ । ब्याजदर घट्न थालेको छ । आगामी दिनमा नीतिनिर्माताले पनि लचिलो नीतिहरु लिंदै जानुपर्ने बाध्यता रहेको देखिन्छ । मुख्य कुरा बढ्दो तरलता र घट्दो ब्याजदर नै सेयर बजारका लागि सकरात्मक पक्ष हुने देखिन्छ ।
तर सेयर बजार सुधारका लागि आर्थिक सूचकहरुमा सुधारसँगै आम लगानीकर्ताको मनोबल पनि सकारात्मक हुँदै जानुपर्ने देखिन्छ । बजार बढ्छ, यसबाट लाभ लिन सकिन्छ भन्ने दह्रो आत्मविश्वास लगानीकर्तामा देखिएमात्र बजारले पनि गति समाउन सक्छ । किनभने सेयर बजारमा आम लगानीकर्ताको मनोविज्ञानले महत्वपूर्ण भूमिका खेल्ने गर्छ ।
लाभांशको सिजन छ । अहिले सेयरधनी बन्नेले निकै छोटो समयमा लाभांश हात पार्न सक्नेछन् । सस्तो मूल्यमा सबल वित्तीय सूचक र लाभांश क्षमता राम्रो भएका कम्पनी पनि छानिरोजी किन्न पाइने अवस्था छ ।
भाउ निकै सस्तो भएका बेला जोखिम पनि कम हुन्छ । बजार बढ्दा पुँजीगत लाभका साथमा लाभांश पनि हात पार्ने सम्भावना रहन्छ ।
यस दिन २९३ कम्पनीको करिब ३४ लाख १९ हजार कित्ता सेयर कारोबार भएको छ । ६ करोड ९५ लाख रुपैयाँसहित कारोबार रकममा सोना मिनरल्स एन्ड आयल लिमिटेड अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः हाथवे इन्भेष्टमेन्ट र सिटिजन लाइफ इन्सुरेन्स परेका छन् ।