महेन्द्रनगर (कञ्चनपुर)। राष्ट्रिय गौरवको आयोजना महाकाली सिँचाइअन्तर्गत तेस्रो चरणको मूलनहर निर्माण अघि बढाउन थप पाँच प्याकेजमा ठेक्का सम्झौता भएको छ।
महाकाली सिँचाइ आयोजना तेस्रो चरण कार्यालयका सूचना अधिृकत इञ्जिनियर उमेश गुप्ताले मूलनहर अन्तर्गत २८ किलोमिटरसम्मको नहर निर्माण अन्तिम चरणमा पुगेको बताए।
‘शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको पूर्वतर्फ केही भागमा नहर निर्माण बाँकी छ,’ उनले भने, ‘अबको दुई/तीन महिनामा काम पूरा हुन्छ।’
आयोजनाले २८ देखि ४८ किलोमिटरसम्मको मूलनहर निर्माणका लागि हालै करिब २ अर्ब लागतमा पाँचवटा ठेक्का सम्झौता गरिसकेको गुप्ताको भनाइ छ।
‘कैलालीको मालाखेतीसम्म नहर निर्माणका लागि ठेक्का सम्झौता भएर अहिले ठेकेदारले काम सुरु गर्दैछन्,’ उनले भने, ‘त्यसका लागि आवश्यक तयारीमा जुटेका छौं।’
उनका अनुसार भारतीय पक्षले नियमित पानी दिनका लागि संयुक्त उद्घाटनलगायत प्रक्रियामा गृहकार्य अघि बढाएको खबर प्राप्त भएको छ। सोहीअनुसार आफूहरूले समन्वय गरिरहेको उनको भनाइ छ।
महाकाली नदीमा नेपालतर्फ सिँचाइका लागि पानी दिन बनेको मूलनहरको इन्टेक (गेट) परीक्षणदेखि निर्माण भएको मूलनहरमा पानी परीक्षणसमेत भइसकेको छ।
आयोजनाअन्तर्गत हाल २२ शाखा नहर निर्माण चरणमा छन्। जसमध्ये २० र २१ नम्बर शाखा नहरमा मुआब्जाको विषयले उल्झन भइरहेको आयोजनाले जनाएको छ।
‘शाखा नहरमा पर्ने जग्गाको करिब ६०/७० प्रतिशत मुआब्जा रकम दिइसकेका छौं,’ उनले भने, ‘मुआब्जा दिन रकम अभाव भएपछि मन्त्रालयमा माग गरेका छौं।’
कञ्चनपुरसँगै कैलाली मालाखेती क्षेत्रका गरी कुल ३३ हजार ५ सय हेक्टर क्षेत्रफल जमिनमा सिँचाइ सुविधा पुर्याउने लक्ष्य छ।