काठमाडौं। भौतिक, पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले अर्थतन्त्र समस्यामा भए पनि भयावह स्थितिमा भने नपुगेको बताएका छन्। शनिबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को १४ औं वार्षिक साधारणसभामा आयोजित कार्यक्रममा मन्त्री ज्वालाले यस्तो बताएका हुन्।
‘समग्र निजि क्षेत्रले उठएका कुराहरुलाई हामीले सम्बोधन गर्ने छौं। व्यवसायीले आफूहरू समस्यामा छौं भन्नू स्वभाविक हो किनभने त्यो समस्या परेको पनि छ’ मन्त्री ज्वालाले भने, ‘तर, यो अवस्था सुधारमा हामी लागि रहेका छौं।’
उनले अहिले भुइँमान्छे र सर्वसाधारण नागरिक पनि महँगी लगायतका समस्याले सबैभन्दा बढी मर्कामा परेको बताए। अर्थतन्त्र समस्यामा भएपनि भयावह स्थितिमा भने नपुगेको मन्त्री ज्वालाले स्पष्ट पारे।
कार्यक्रममा नेपाल उधोग परिसङ्घका अध्यक्ष राजेशकुमार अग्रवालले अर्थमन्त्री र गभर्नरले दिएको तथ्यांकमा असहमति नभएको तर, ग्राउन्ड लेबलको अवस्था तथ्यांकले देखाएको भन्दा फरक भएको बताए। हाम्रो नीतिगत व्यवस्थाका कारण पनि मुद्रास्फिती घट्ने अवस्था नरहेको अग्रवालको भनाइ छ।
कार्यक्रममा सम्बोधन गर्दै नेपाल चेम्बर्स अफ कमर्सका वरिष्ठ उपाध्यक्ष कमलेश अग्रवालले सरकारले ऋणको कालोसूचीमा लचकता अपाउनु स्वागतयोग्य काम भएको छ। उनले मौद्रिक नीतिमा देखिएको संकुचनको सुधार गर्नतर्फ पनि राष्ट्र बैंक अग्रसर हुने आशा व्यक्त गरे। नीतिगत हस्तक्षेप छोडेर खुल्ला बजारबाट ब्याज निर्धारण हुने वातावरण केन्द्रिय बैंकले बनाउन आवश्यक रहेको पनि अग्रवालको भनाइ छ।
यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल उधोग वार्णिज्य महासङ्घको राजस्व समितिका सभापति अम्बिकाप्रसाद पौडेलले सरकारले निजी क्षेत्रको मनोबल बढाउन सानो सानो कुरामा ध्यान पुराउन आवश्यक भएको बताए। उनले निजि क्षेत्र र सरकारबीच विकास र समृद्धिका लागि साझेदारी आवश्यक रहेको बताए।