एजेन्सी। होजोन अटोको विद्युतीय गाडी (इभी) ब्रान्ड नेटा उत्पादन थाइल्यान्डमा पनि सुरु भएको छ। कम्पनीले चीन बाहिर पहिलोपटक थाइल्यान्डको प्लान्टबाट उत्पादन थालेको हो।
‘राइट ह्यान्ड ड्राइभ मार्केट’ मा आफ्नो उपस्थिति बलियो बनाउन सञ्चालनमा ल्याइएको उक्त प्लान्टको वार्षिक उत्पादन क्षमता २० हजार युनिट छ।
थाई प्लान्टले एउटा मात्र मोडेल ‘अया’ उत्पादन गर्छ, जसलाई अन्तर्राष्ट्रिय बजारमा ‘नेटा भि–आइआई’ को नाममा ल्याइएको छ।
नेटाले आफ्नो पहिलो विदेशी प्लान्ट थाइल्यान्डमा द्रुत गतिमा काम गरेको थियो। पहिले त्यहाँ मास प्रडक्सन २०२४ को पहिलो महिनादेखि मात्र गर्ने तयारी भए पनि समयभन्दा अगावै गाडी उत्पादन सुरु गरेको हो।
२०१० को १० महिनामा थाइल्यान्डमा नेटाका १० हजार ५ सय ६५ गाडी बिक्री भएका थिए। नेटाले थाइल्यान्डमा वार्षिक १३ हजार युनिट गाडी बेच्ने लक्ष्य राखेको छ।
यो प्लान्टबाट उत्पादित गाडी थाइल्यान्डलगायत अन्य आसियान मुलुकमा पठाइने छ। आसियान मुलुकमा ब्रुनाई, कम्बोडिया, इन्डोनेसिया, लाओस, मलेसिया, म्यानमार, फिलिपिन्स, सिंगापुर, भियतनाम र थाइल्यान्ड पर्छन्।
थाइल्यान्डमा उत्पादन भएको नेटा भि–आइआई यसअघि चीनमा ‘अया’ नाममा सार्वजनिक भएको थियो। यो ओरिजिनल निटा भीको फेसलिफ्ट मोडेल हो।
नेटा भि–आइआई ३ सय १८ र ४ सय १ किलोमिटर रेन्ज दिने दुईवटा पावरट्रेन अप्सनमा उपलब्ध छ।
२०२४ मा नेटा विश्वका ५० ठूला बजारमा प्रवेश गर्ने र १ लाख युनिट बिक्री गर्ने लक्ष्य कम्पनीको छ। गत सेप्टेम्बरमा नेटाले आसियानमा उपस्थित हुने लक्ष्य घोषणा गरेको थियो।
गत नोभेम्बरमा युएईमा भएको फर्मुला वान रेस ट्र्याकमा नेटाले आफ्ना दुई मोडेल डिस्प्ले गरेको थियो। त्यसले पनि नेटाले अन्य देशमा यी गाडी बेच्ने ठूलो तयारी गरिरहेको बुझ्न सकिन्छ। हाल नेटाले मुख्यतः नेटा भी र नेटा यु निर्यात गरिरहेको छ।
होजोनले २०२० मा नेटा भी र २०२१ मा नेटा यु प्रो र निटा एस सार्वजनिक गरेको थियो।
नेपालमा नेटा चौधरी ग्रुपअन्तर्गतको सिजी मोटर्सले बिक्री वितरण गरिरहेको छ। कम्पनीले २०७९ जेठमा नेटा भी नेपाली बजार भित्र्याएको थियो।
नेटा भीले ३ सय ८० किलोमिटरभन्दा धेरै रेन्ज दिने कम्पनीको दाबी छ। यसमा ३८.५ किलोवाट आवरको ब्याट्री प्रयोग गरिएको छ। यसको अधिकतम गति १ सय १ किलोमिटर प्रतिघन्टा छ भने नेटामा प्रयोग भएका ब्याट्री र मोटरमा ८ वर्ष वा १ लाख ५० हजार किलोमिटर वारेन्टी छ।
त्यस्तै कम्पनीले नेटा एक्स र नेटा एस बजार ल्याउने तयारी गरिरहेको छ।