काठमाडौं। श्री एयरलाइन्सले कर्णाली प्रदेशको राजधानी सुर्खेतमा नियमित उडान सुरु गरेसँगै बुद्ध एयरको एकाधिकार तोडिएको छ। बुद्धले सन् २०१८ बाट बिचक्राफ्टमार्फत उडान सुरु गरेको थियो।
श्रीले शुक्रबारबाट सुर्खेतमा उडान गरेसँगै अब एयरलाइन्स कम्पनीको प्रवेश दुईवटाको भएको छ। सुर्खेतमा उडान हुदा जहाजको संख्या मात्र बढेको छैन त्यहाँ यात्रा गर्ने यात्रुहरुको लागि भाडासमेत घटेको छ।
बुद्धले सुरुवाती चरणमा बिचक्राफ्टमार्फत उडान गर्दा १० देखि १२ हजार रुपैयाँसम्म एकतर्फी भाडा लिँदै आएको थियो। त्यसपछि बुद्धले गत वर्ष एटिआर जहाजमार्फत उडान गर्दा भाडा घटेर ७ हजार ४ सय रुपैयाँ सम्ममा उडान गरेको थियो।
यो भाडा कर्णालीका स्थानीहरुले महंगो भएको गुनासो गरिरहेका थिए। तर, शुक्रबारबाट नियमित उडान सुरु गरेको श्रीले सुरुवाती भाडा ६ हजार ७ सय रुपैया निर्धारण गरेको छ। यो भनेको बुद्धले लिँदै आएको भाडाअनुसार १ हजार ३ सय रुपैयाँ सस्तो हो।
नेपाल नागरिक उड्डयन प्राधिकरणले निर्धारण गरेको भाडा दर भने सुर्खेतका लागि अधिकतम १४ हजार र न्यूनतम ६ हजार रुपैयाँ रहेको छ। प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले एयरलाइन्सको प्रतिस्पर्धाले यात्रुलाई सहज भएको बताए।
‘कुनै पनि एयरलाइन्सले नयाँ गन्तव्यमा उडान भर्नु भनेको प्रतिस्पर्धा मात्र हैन, त्यस क्षेत्रका जनतालाई सेवा दिनु पनि हो,’ सूचना अधिकारी भूलले भने ‘श्रीको प्रवेशले कर्णालीका जनताले सस्तो भाडामा सेवा पाउने भए।’
श्रीले शुक्रबारबाट दैनिक १ उडान सुर्खेतमा सुरु गरेको हो। यसअघि पनि श्रीको प्रवेशपछि नेपालको हवाई उड्डयन क्षेत्रमा भाडा ह्वात्तै घटेको थियो।