काठमाडौं। नेपाल नागरिक उड्डयन प्राधिकरणले ‘ग्राउन्ड ह्यान्डलिङ’ सेवा नेपाल वायुसेवा निगम (नेवानि) बाट खोस्ने निर्णय गरे पनि तत्कालै कार्यान्वयन नहुने भएको छ।
प्राधिकरण र नेवानिबीच भएको सम्झौताअनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउन्ड ह्यान्डलिङ गर्ने जिम्मेवारी सन् २०२५ जनवरी सम्म नेवानिको छ।
प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले २०२५ जनवरी पछि भने खुला प्रतिस्पर्धाबाट गराउने निर्णय भएको बताए। नेवानिको ध्यान जहाज उडान तथा सञ्चालनभन्दा ग्राउन्ड ह्यान्डलिङमा मात्र बढी गएकाले सुरक्षा चुनौती बढेको बताउँदै खुला प्रतिस्पर्धाबाटै गराउन खोजिएको बताए।
प्राधिकरणले वायुयानहरूको भूमिस्थ प्रबन्ध (ग्राउन्ड ह्यान्डलिङ) तथा अन्य भूमिस्थ सेवा सञ्चालन निर्देशिका २०७२ अनुसार खुला प्रतिस्पर्धामार्फत गर्ने व्यवस्था छ। तर, सरकारले नै सरकारी स्वामित्वमा रहेको नेवानिलाई तत्कालीन समयमा ग्राउन्ड ह्यान्डलिङ सुविधा दिने निर्णयअनुसार सुरुवाती दिनदेखि नै काम गरिरहेको छ।
तर, प्रतिस्पर्धी बजारमा नेवानि आफ्नो उडान र सुरक्षाभन्दा ग्राउन्ड ह्यान्डलिङमा बढी केन्द्रित हुन थालेको भन्दै चौतर्फी विरोध भइरहेको थियो। नेवानिलाई नै ग्राउन्ड ह्यान्डलिङको सुविधा दिए पनि खर्च र आम्दानी भने छुट्टाछुट्टै गर्नुपर्ने आवाज पनि उठिरहेका बेला प्राधिकरणले २०२४ पछि खुला प्रतिस्पर्धामार्फत गर्ने भएको हो।
प्रतिस्पर्धामा कुनै पनि कम्पनी सहभागी नभए ५० प्रतिशत सरकारी सेयर रहेको वायुसेवा कम्पनीलाई ग्राउन्ड ह्यान्डलिङको सुविधा दिनुपर्छ भन्ने उल्लेख छ।
अहिले नेवानिभित्र जहाज सञ्चालनभन्दा पनि ग्राउन्ड ह्यान्डलिङबाट आएको आम्दानीबाटै कर्मचारीले तलबभत्ता लिइरहेका छन्। हाल नेवानिले त्रिभुवन विमानस्थलसहित पोखरा र गौतमबुद्धमा पनि ग्राउन्ड ह्यान्डलिङ सुविधा दिइरहेको छ।