काठमाडौं। नेपाल वायुसेवा निगम (नेवानि) ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दिँदै आएको ‘ग्राउन्ड ह्यान्डलिङ’ सेवा खोसिएको छ।
मुलुकको हवाई उड्डयन नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले निगमको ग्राउन्ड ह्यान्डलिङ सेवा खोसेर प्रतिस्पर्धामार्फत दिने तयारी पनि अगाडि बढाएको छ।
त्रिभुवन विमानस्थल सञ्चालन भएदेखि नै बिनाप्रतिस्पर्धा नेवानिले ग्राउन्ड ह्यान्डलिङ सेवा दिँदै आएको थियो। खासगरी युरोपियन युनियन (ईयु) ले १० वर्षदेखि नेपालका वायुसेवा कम्पनीहरूमाथि लगाएको कालोसूची नेवानिकै कारण योपटक हट्न नसकेको भन्दै प्राधिकरणले ग्राउन्ड ह्यान्डलिङ सेवा खोसेको हो।
ईयुले निगम र श्री एयरलाइन्सको सेफ्टी अध्ययन गरेको थियो। अध्ययनका क्रममा नेवानिले सेफ्टीमा धेरै लापरबाही गरेको पाइएको र उसको ध्यान जहाज सञ्चालनमा भन्दा ग्राउन्ड ह्यान्डलिङ सेवामा बढी गएको निष्कर्षसहितको प्रतिवेदन ईयुले प्राधिकरणलाई दिएको थियो।
एउटा एयरलाइन्सका कारण मुलुकको साख नै धुमिलिएको निष्कर्ष प्राधिकरणले निकाल्दै नेवानिले गर्दै आएको ग्राउन्ड ह्यान्डलिङ सेवा खोसेर प्रतिस्पर्धामार्फत गराउने निर्णय गरेको महानिर्देशक प्रदीप अधिकारीले जानकारी दिए।
‘जुन कामका लागि स्थापना भएको संस्था हो, उसले त्यही काममा बढी फोकस हुनुपर्छ,’ महानिर्देशक अधिकारीले भने, ‘निगममा लापरबाही देखियो, अब ग्राउन्ड ह्यान्डलिङको काम खुला प्रतिस्पर्धाबाट हुन्छ।’
पछिल्लो समय नेवानिका जहाजमा प्राविधिक समस्या देखिइरहने र त्यसलाई मर्मतसम्भारमा धेरै ध्यान नदिएको प्राधिकरणको ठहर छ। प्राधिकरणले पनि पटक-पटक नेवानिका कर्मचारीलाई कारबाही गर्दै आएको छ।
यद्यपि, नेवानि व्यवस्थापनले भने सुरक्षामा खेलाँची गरेको र ग्राउन्ड ह्यान्डलिङ सेवामा मात्र बढी ध्यान दिएर जहाज उडान तथा सञ्चालनमा लापरबाही गरेको आरोप प्राधिकरणको छ।
यस्तै प्राधिकरणले नेवानिका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई लापरबाही गरेको भन्दै किन कारबाही नगर्ने भन्ने विषयमा स्पष्टीकरणसमेत सोधेको छ। प्राधिकरणले यसअघि पनि अध्यक्ष अधिकारीलाई किन नहटाउने भनेर स्पष्टीकरण सोधेको थियो।
बेला-बेला प्राधिकरणले नेवानिबाट ग्राउन्ड ह्यान्डलिङ सेवा खोसेर खुला प्रतिस्पर्धामार्फत गराउने बताउँदै आए पनि हालसम्म कार्यान्वयन भने गर्न सकेको छैन। अहिले नेवानिले पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको समेत ग्राउन्ड ह्यानडलिङ सम्हाल्दै आएको छ।