काठमाडौं। शिवम सिमेन्ट्स लिमिटेडको करिब ८५ प्रतिशत सेयर लगानी रहेको शिवम् होल्डिङ्स लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सेयर निष्कासन (आइपिओ) जारी गर्ने भएको छ।
जारी पुँजी ५ अर्ब ८० करोडको २० प्रतिशतबराबर हुने १ सय रुपैयाँ दरका १ करोड १६ लाखथान साधारण सेयर सर्वसाधारणका लागि नेपाल धितोपत्र बोर्डको स्वीकृतिमा सार्वजनिक निष्कासन गर्ने प्रक्रिया अगाडि बढाएको हो।
शिवम होल्डिङस्का अध्यक्ष शिवरतन शारडाको उपस्थितिमा सिद्धार्थ क्यापिटल लिमिटेडसँग सेयर निष्कासन तथा बिक्री प्रबन्धक नियुक्ति गर्नेसम्बन्धी सम्झौता गरेको छ।
कम्पनीले सर्वसाधारणमा सेयर निष्कासन गरी बजारमा छरिएर रहेका स–साना पुँजीलाई संकलन गर्दै लगानी थप विस्तार गरी देशको अर्थतन्त्रमा योगदान पुर्याउँदै मुनाफा आर्जन गर्ने विश्वास लिएको छ।
शिवम् होल्डिङग्स २०७१ सालमा प्रालि कम्पनीअन्तर्गत दर्ता भई २०७९ सालमा पब्लिक लिमिटेडमा नियमानुसार परिणत भएको कम्पनीले नेपालको सबैभन्दा ठूलो सिमेन्ट तथा क्लिंकर उत्पादन क्षमता भएको अत्याधुनिक प्रविधियुक्त ग्रिनफिल्ड उद्योग हो।
यस उद्योगले वेष्ट हिटको उपयोग गरी करिब १२ मेगावाट विद्युतसमेत उत्पादन गरी आफ्नै उद्योगमा प्रयोग गर्दै आएको र कन्भेयर बेल्टबाट चुनढुंगा ढुवानी गर्न सुरुङमार्गसमेत निर्माण गरिरहेको छ।
चिनियाँ लगानी रहेको होङ्सी शिवम् सिमेन्ट प्रालिमा ३० प्रतिशत सेयर रहेको उक्त उद्योग ५ वर्षदेखि पूर्णसञ्चालनमा रहेको परियोजनामा ठूलो रकम लगानी गरेको छ र उक्त सेयर लगानी गरेको कम्पनीबाट प्रतिफलसमेत प्राप्त गर्न सुरु गरिसकेको छ।
शिवम् होल्डिङ्सको अधिकृत तथा जारी पुँजी ५ अर्ब ८० करोडमध्ये संस्थापकतर्फ ८० प्रतिशत अर्थात ४ अर्ब ६४ करोड र सर्वसाधारणतर्फ १ अर्ब १६ करोड सेयर पुँजी छुट्ट्याइ प्रिमियम मूल्यमा निष्कासन गर्ने प्रक्रिया सुरु गरेको हो।
यस कम्पनीका संस्थापकहरूमा शिवम् सिमेन्ट्स लिमिटेडको संस्थागत सेयर लगानी करिब ८५ प्रतिशत र अन्य १९ उद्योग, व्यापार र पेसा व्यवसायमा संलग्नहरूको करिब १५ प्रतिशत लगानी रहेको छ।
कम्पनीले आफ्नो सेयर रकम लगानी गरेको संस्थाबाट दुई वर्षदेखि मुनाफासमेत प्राप्त गरेको छ।
त्यस्तै कम्पनीले सेयर जारी गरी सर्वसाधारणबाट संकलन हुने प्रिमियम मूल्यसहितको रकम अन्य उपयुक्त परियोजना हाइड्रोपावर, बैंक तथा वित्तीय संस्था, पर्यटन र पूर्वाधार परियोजना तथा अन्य उद्योगलगायतमा लगानी विस्तार गर्ने योजना बनाएको छ।