काठमाडौं। संसारभरिको देशमध्येको पृथक मुलुक हो नेपाल। यहाँको भौगोलिक बनावट, प्राकृतिक सुन्दरताले अरू देशसँग दाँज्न नै सकिँदैन। विकास र प्रविधिले विश्वका धेरै देश अगाडि रहे पनि प्रकृतिका हिसाबले भगवानले दिएको वरदानका रूपमा लिन सकिन्छ। विश्वभरिका विविध संस्कृति, परम्परा फरक–फरक छ।
तर, नेपालमा विभिन्न जातजाती र भाषाभाषी एक ठाउँमा जम्मा गर्ने हो भने विश्वभरि रहेका देशका विशेषता यहीँ पाइन्छ। ५०–६० मिटरसम्मका भूभागदेखि विश्वकै सबैभन्दा अग्लो स्थानसमेत नेपालमै छ। जियोग्राफिकल हिसाबले हेर्ने हो भने हामी निकै भाग्यमानीभित्र पर्छौं।
हाम्रो भूभाग हेर्ने हो भने लम्बाइ केही लामो भए पनि चौडाइ सानै छ। तर, यतिमै धेरै चिज अडिएको छ। यहाँको सांस्कृतिक, प्राकृतिक र भाषिक विविधता नै संसारका कुनै पनि देशमा नभएको सम्पत्ति हामीसँग छ भन्ने लाग्छ।
जति नयाँ ठाउँ पुग्यो त्यति नै ओहो यस्तो पनि नेपालमा भन्ने लाग्छ। हाम्रो प्रकृति र संस्कृति विश्वसामु देखाएर यहाँबाट फाइदा लिन सक्ने ठाउँ धेरै हुँदा हुँदै चुकिरहेका छौं। हिरा, मोती र पेट्रोलिम पदार्थ भएर धनी भएका राष्ट्रजस्तै नेपाल पनि प्राकृतिकरूपमा धेरै धनी छ। मात्र, यसलाई सही सदुपयोग गर्न सकिरहेको छैन।
प्रविधि क्षेत्रमा काम गर्दै आएको हुँदा सन् २०१३ मा आफ्नो साइट बनाएर विभिन्न फोटो तथा भिडियो अपलोड गर्ने गरेको थिएँ। दिदी र भाइहरू घुम्न गएका बेला केही फोटो मागेर हाल्ने गरेको थिएँ।
त्यसअघि वेबसाइट बनाएर पर्यटनसम्बन्धी आलेख लेख्ने र पोस्ट गर्ने गरेको थिएँ। ब्लगका रूपमा अगाडि बढाउने योजना बनाए पनि फोटो भिडियो बनाउने भन्ने सोच भने राखेको थिइनँ। हालेका फोटो र भिडियोमा राम्रा प्रतिक्रिया आउन थालेपछि आफैं घुम्न निस्किने मुड बनाएँ। त्यो बेलासम्म भिडियो खिचेर हाल्छु भनेर घुम्न निस्किएको थिइनँ।
२०१६ मा आइपुग्दा साथीहरूबीच कहीँ नयाँ गन्तव्यमा घुम्न जाने भन्ने सोच पलायो। मेरो पहिलो यात्रा नै संखुवासभा गुफापोखरी हो। घुमन्तेको अहिले जे जस्तो अवस्थामा पुगेको छ, त्यसको पहिलो श्रेय र पाइला नै गुफापोखरी यात्राको भिडियो नै हो। धेरै भीडभाड नहुने र कम खर्चमै पुग्न सकिने भएकाले पनि पहिलो रोजाइ नै त्यहाँ परेको थियो। त्यो बेला धेरै साथीले एभरेस्ट बेसक्याम्प जान सुझाएका पनि थिए। तर, नयाँ ठाउँ खोजीमा लाग्दा गुफापोखरी गएका हौं।
यदि, एभरेस्ट बेसक्याम्प गएको भए अहिले यो स्थितिसम्म नआइपुग्न पनि सकिन्थ्यो। किनकि, एभरेस्ट बेसक्याम्पको भिडियो धेरैले हालिसकेका थिए। जब गुफापोखरी यात्राको भिडियो नयाँ भएकाले धेरैले रुचाउन थालेपछि नयाँ यात्राका लागि हौसला प्राप्त भएको हो।
मानिसलाई नयाँ–नयाँ ठाउँको जानकारी दिन नयाँ गन्तव्य खोजीमा हिँड्दै जाँदा धेरै प्रचारप्रसार पनि भएका छन्। पहिला आफ्नै स्वार्थका लागि भिडियो खिच्दै हिँडे पनि अहिले त्यसले पारेको प्रभावबारे जानकारी आउँदा भने निकै खुसी लाग्छ।
गन्तव्य छनौट गर्दा पनि सकेसम्म कोही नपुगेको र पुगे पनि निकै कम पुग्ने गन्तव्यमा जाने गरेका छौं। जहाँ जाँदा धेरैले प्रोजेक्ट लिएर आएका हुन् वा डिपिआरका लागि आएको हो कि भन्ने अपेक्षा राख्ने गरेका छन्। यात्रा गर्दा आफूलाई आराम पनि हुने र नचिनेको ठाउँलाई संसारसामु देखाउन पाइएको छ।
जसका कारण विकासबाट ओझेलमा परेका गन्तव्यको विकास भएको छ। र, त्यहाँका मानिसको आशिर्वाद हामीलाई लागिरहेको छ। हामी जहाँ–जहाँ गएका छौं, त्यहाँका गन्तव्य विकास निकै राम्रो भएको छ। कतिपय ठाउँमा हामी यहाँको प्रचार गर्छौं र धेरै पर्यटक यहाँ आउँछन् भन्दा पत्याउनुहुन्न।
किनकि, उहाँहरूलाई त्यस क्षेत्रमा गाईभंैसी, भेडाच्याङ्ग्रा र चांैरी चराउने ठाउँ भएकाले विश्वास नै हुँदैन। तर, जब भिडियो बनेर प्रशारण हुन्छ तब त्यहाँ धेरैको चासो बढ्ने र घुम्न पुग्नेको संख्या बढ्दा होमस्टे र होटलको विकास भएको धेरै ठाउँमा पाएका छौं। जुन देख्दा र सुन्दा मनमा निकै आनन्द आउँछ।
अहिलेसम्म घुमन्ते समूहले ६० जिल्लाभन्दा बढीमा यात्रा गरिसकेको छ। र, हालसम्म १ सय २५ गन्तव्यका भिडियो आफ्नो युट्युब च्यानलमा राखेका छौं। एउटा जिल्लामा जाँदा त्यहाँका दुईदेखि तीन गन्तव्य पुग्ने गरेका छौं।
खोटाङमा जन्मिए पनि बाल्यकाल भने काठमाडौं कोटेश्वरमा बिताएको हुँ। सहरमा हुर्किए पनि मलाई गाउँघरको पाखापखेरा धेरै मनपथ्र्यो। सानो हुँदा कोटेश्वरबाट देखिने ल्हाक्पादोर्जे हिमालको चित्रसमेत बनाउने गर्र्थें। अर्थात, प्रकृतिलाई नजिकबाट नियाल्न धेरै मनपथ्र्यो। पहिलादेखि नै लेकको बाटो हिँड्दा धेरै रमाइलो लाग्ने गथ्र्यो। यात्रा क्रममा बीच–बीचमा भेटिने बाघखोर, चौतारा र मानेहरू देख्दा मन निकै आनन्दित हुन्थ्यो। कुहिरो लागेका बेला हिँड्न पाउँदा झनै रमाइलो लाग्थ्यो।
अहिलेसम्म गरेका यात्रामध्ये सबैभन्दा बढी सम्भावना भएका गन्तव्य भनेको सुदूरपश्चिम क्षेत्रकै हो। अथक सम्भावना हुँदा हुँदै उचित प्रचार र पूर्वाधार अभावका कारण ओझेलमा पर्दै आएको छ। बडिमालिका, रामारोसन, हुम्ला, मुगु, डोल्पालगायत क्षेत्र पुग्ने जोकोहीले पनि ‘वाउ’ भन्ने शब्द मुखबाट निकाल्ने गर्छन्।
छोटो यात्राका लागि पूर्वको पिके हिमाल र गण्डकी प्रदेशको कास्की क्षेत्रमा धेरै गन्तव्य छन्। पोखरा पुगेर २ देखि ३ घन्टासम्मको गाडी यात्रापछि हिँड्दा केही दिनमै यात्रा टुंग्याउन सकिन्छ। र, राम्रा ठाउँको प्रत्यक्ष अनुभव लिन सकिन्छ।
सम्भावना धेरै हुँदा हुँदै तराई क्षेत्रमा घुम्नकै लागि जानेको संख्या भने कम देखिन्छ। हामीले खिचेका भिडियोमध्ये तराईको अलि कम हेरिदिनुहुन्छ। हुन त हामी गएका प्रायः ठाउँ पुग्न गाह्रो नै हुन्छ। तर, जो पुग्छ उसले स्वर्गीय आनन्द पाउँछ। हिमाली र पहाडी क्षेत्रमा हिँड्न नसक्नेका लागि तराई घुम्न उपयुक्त गन्तव्य हो। सडक सुविधा र खाने बस्ने सुविधा भएकाले घुम्न सहज हुन्छ। गर्मीमा धेरै गर्मी भए पनि दसैंतिहारपछि भने घुम्न तराईमा निकै राम्रा गन्तव्य छन्।
४५ दिनसम्मको ट्रेक
हामीले अहिलेसम्मको सबैभन्दा लामो समयको यात्रा भनेको कञ्चनजंघा क्षेत्रमा ४५ दिनको गरेका छौं। कञ्चनजंघा ट्रेल परिक्रमा गर्दा निकै रमाइलो आभाष गरिएको थियो। त्योबाहेक अन्य यात्रा भनेको एक सातादेखि १० दिनसम्मको हुने गरेको छ।
छोटो समयको यात्राका लागि निस्किन चाहनेलाई सबैभन्दा उपयुक्त क्षेत्र गण्डकी प्रदेशमै छ। जहाँ एक सातामा एउटा गन्तव्यको यात्रा गरेर फर्किन सक्छौं। पछिल्लो समय मनसुन ट्रेक सामान्य भइसकेको छ। वर्षातको समयमा यात्रा गर्न रमाउनेका लागि यात्राको भिडियो प्रभावभन्दा फरक पर्दैन। वर्षातका बेला यात्रा गर्न रमाइलो हुन्छ भन्ने थाहा हुनेलाई थाहा नै थियो। तर, जो जसलाई थाहा थिएन, उहाँहरूलाई हाम्रो भिडियोका कारण थाहा भयो।
खासगरी पाँचपोखरी क्षेत्रको यात्राका फोटो भिडियो देखाउन थालेपछि धेरैको दिमागमा वर्षातका बेला पनि यात्रा गर्न मिल्ने रहेछ भन्ने सन्देश जान थालेको देखिन्छ। र, हाम्रै भिडियोहरू देखेपछि मनसुनको समयमा पनि ट्रेकमा जानेको संख्या बढेको धेरै ठाउँमा देख्न र सुन्न पाइन्छ। मनसुनमा ग्रिनरी फूलहरूका कारण यात्रा गर्दा धेरैले रमाइलो अनुभव लिन थालेका छन्। त्यसको सुरुवात हामीले नै गरेका हौं।
लमजुङ मेमे पोखरी यात्रा हाम्रा लागि सबैभन्दा अविष्मरणीय र कष्टदायी बनेको थियो। कोभिड–१९ को पहिलो बन्दाबन्दी (लकडाउन) का बेला त्यहाँ पुगेका थियौं। पोखरी पुग्दा मौसम नखुलेपछि हामी घाम लाग्ने प्रतीक्षामा बस्दा रात नै परेको थियो।
बेलुकी बस्ती झर्ने आशासाथ भएको स्लिपिङ ब्यागसमेत साथीहरूलाई पठाएर भिडियोका लागि पाँचजना बसेका थियौं। तर, त्यो दिन मौसम नखुलेपछि रात त्यहीँ बिताउन बाध्य भयौं। राति चाउचाउ र पानी खाएर एकै पालमा पाँच साथीहरू चिसो रात बिताउन बाध्य भएका थियौं।
पोखरीको दृष्य जति रमाइलो छ, त्यहाँबाट फर्किंदाको बाटो भने निकै डरलाग्दो छ। भेडा हिँड्ने भिरालो बाटोमा आफूलाई नियन्त्रण गर्दै जोखिम मोलेर हिँड्दाको रोमान्चक यात्राले थकाइसमेत मेटिँदै जान्छ।
कति यस्ता गन्तव्य छन् जुन हामी पुगेर भिडियो प्रशारण गरेपछि घुम्न जानेको संख्या त्यस ठाउँमा धेरै पुगेका छन्। उदाहरणका लागि दार्चुला अपि बेसक्याम्पलाई लिन सकिन्छ। हामी जाँदा अपि बेसक्याम्प जान मान्छेको पाइलासमेत भेटिँदैन थियो। स्थानीयका साथमा हिँडेका भरमा त्यहाँ पुगेका थियौं। अहिले त स्थानीय सरकारले नै त्यो क्षेत्रमा जाने बाटो विस्तार गरिदिएको छ।
यस अर्थमा हाम्रो यात्रालाई विकासका हिसाबमा भन्दा ट्र्याक खोल्ने काम हामीले गर्छौं र अरूले ग्राभेलसहित कालोपत्रे गर्ने काम गरिरहेका छन्। हामी जहाँ–जहाँ पुगेका छौं, ती सबै नयाँ गन्तव्य नै हुन्छ। गन्तव्य पहिचानको सबैभन्दा ठूलो स्रोत भनेको हाम्रो भिडियोका दर्शक नै हुनुहुन्छ। उहाँहरूले नै ‘हाम्रो क्षेत्रमा पनि यस्तो खालका गन्तव्य छन् तपाईहरू आइदिनुप¥यो’ भनेर बोलाइदिने गर्नुभएको छ।
सुरुमा हामी आफैं घुम्ने, अलि राम्रो फोटो भिडियो खिचेर अपलोड गर्ने भन्ने सोच राखेर यात्रा सुरु गरेका थियौं। तर, हामीले खिचेका ती भिडियोका कारण से–फोक्सुन्डो ताल, खोपुचे ताल, डोल्पालगायत क्षेत्रमा धेरै परिवर्तन भएको सुन्दा मनमा अर्को सन्तुष्टि मिल्दै आयो। त्यसपछि भने हामीले भिडियोमात्र खिच्ने क्रमलाई रहरमा सीमित नराखी त्यो भिडियोले त्यस क्षेत्रको विकासमा केही सहयोग पुगोस् भन्ने चाहनासमेत राख्दै अगाडि बढिरहेका छौं।
देशका लागि ठूलै योगदान पु¥याउँछु भनेर यात्रा सुरु गरिएको पनि होइन। तर, जति ठाउँमा यात्रा गरेर भिडियो प्रशारण भयो, ती अधिकांश ठाउँमा त्यसपछिको परिवर्तन धेरै भएको छ। यसरी हेर्दा अप्रत्यक्षरूपमा देशले पनि फाइदा लिइरहेको छ।
घुमन्तेले ट्राभल भिडियो युट्युबमा राख्नुभन्दा अघि पनि केही व्यक्तिले पर्यटकीय गन्तव्यका भिडियो नराखेका भने होइनन्। तर, उहाँहरूले त्यसलाई निरन्तरता दिन सक्नुभएको थिएन। पछि हामीले निरन्तर भिडियोहरू राख्ने र एडभेन्चर टुरिज्मलाई नै फोकस गरेर सफल हुँदै गएपछि भने यसबाट पनि जीविकोपार्जन गर्न सकिँदो रहेछ भन्ने पाठ सिकेर यो खालको काम सुरु गर्नेहरू अहिले बढिरहेका छन्।
यतिमात्र होइन, हामीले नै नेपाली भाषा र नेपाली स्क्रिप्टमा भिडियो बनाएको पनि धेरैले रुचाउन सक्छन भन्ने मान्यता पनि हामीले नै स्थापित गराएका हौं।
बिस्तारै अहिले मौसम परिवर्तनका कारण बेमौसमी वर्षा हुने, तुँवालो लाग्ने, बेलामा हिउँ नपर्ने र हिमाल बिस्तारै पग्लिँदै गएको छ। त्यसैले अहिले नै तपाईंरूसँग समय छ र पैसा छ भने घुमिहाल्नुस्। दिनप्रतिदिनको परिवर्तनले सुरुमा भएका र देखिएका दृष्य अब नदेखिन सक्छ।
सबैभन्दा मनपर्ने र घुम्नैपर्ने गन्तव्यमा बडिमालिका, रामारोशन, गोक्यो लेक, लाप्चा र पाँचपोखरी क्षेत्र हुन्। जहाँ जतिपटक गए पनि मनले फेरि जाउँ–जाउँ भनिरहन्छ। र, स्वास्थ्यले साथ दिएसम्म हिँडिरहने छौं।
तस्विर : घुमन्तेको फेसबुक पेजबाट।
(घुमन्ते)