काठमाडौं। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले निजी क्षेत्रप्रति आक्रोस पोखेका छन्। आफू काम नगर्ने तर दोषजति मौद्रिक नीतिको देखाएर निजी क्षेत्र उम्किन खोजेको आरोप उनले लगाए।
निजी क्षेत्र नाफा मात्र कमाउने ध्याउन्नमा लागेको भन्दै उनले एकअर्कालाई मात्र दोष देखाएर उम्किन नमिल्ने बताए।
‘अर्थतन्त्र चलायमान बनाउन मौद्रिक नीतिले कहा असर गर्यो? काम तपाईंहरू नगर्ने अनि मौद्रिक नीतिलाई दोष देखाएरमात्र हुन्छ,’ निजी क्षेत्रप्रति रुष्ट गभर्नर अधिकारीले भने, ‘राष्ट्र बैंक सदैव निजी क्षेत्रमैत्री नै छ। केही सुधार गर्नुपर्ने विषय भए तयार छौं।’
अहिले अर्थतन्त्रमा जे जति समस्या देखिए पनि मौद्रिक नीतिलाई मात्र दोष देखाएर उम्किने प्रवृत्ति बढेको गभर्नर अधिकारीको भनाइ छ। काम गर्नेले राम्रो नगर्ने र बनाएका योजनाहरु कार्यान्वयन नगर्ने क्रम धेरै बढेकाले समस्या उत्पन्न भइरहेको उनको भनाइ छ।
त्यसैगरी गभर्नर अधिकारीले अर्थमन्त्री डा. प्रकाशशरण महतसँग आफ्नो कुनै मतभेद नरहेको स्पष्टीकरण दिए।
बजारमा हल्लाका रूपमा आफूहरूको सम्बन्धलाई लिएर बेलाबखत चर्चा भइरहेको भन्दै गभर्नर अधिकारीले हल्लाको पछि नलाग्न अनुरोध गरे।
नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २७औं वार्षिक साधारणसभामा गभर्नर अधिकारीले बजारमा अनावश्यक हल्ला गरेर सर्वसाधारणमा नकरात्मक सन्देश प्रवाह गर्ने काम बन्द गर्न अनुरोध गरेका हुन्।
अर्थमन्त्रीसँग सम्बन्ध राम्रो रहेको भन्दै उनले बजेटमा आएका विषयलाई मौद्रिक नीतिले साथ दिएको बताए। पछिल्लो समय अर्थतन्त्र सुधारतर्फ गइरहेको उनको दाबी छ। केहि व्यक्तिहरूले अनावश्यक हल्ला गरेको उनल गुनासो गरे।
‘अहिलेको अर्थतन्त्र रेमिट्यान्समुखी भइरहेको छ। उत्पादन क्षेत्रमा भने समस्या छैन,’ गभर्नर अधिकारीले भने, ‘आन्तरिक उत्पादन बढाउन आवश्यक नीति बने पनि कार्यान्वयनमा भने चुकेको अवस्था छ।’
अहिले बैंकहरुमा क्रमशः ब्याज घटिरहेकाले केही व्यक्तिले १८ प्रतिशतसम्म ब्याज लिएको भनेर हल्ला गरेको सुनेको उनले बताए। ‘बढी ब्याज तिरेको बैंक स्टेटमेन्ट लिएर आउनुस् कारबाही गरेर फिर्ता गराउँछौं,’ उनले भने।