काठमाडौं। निरन्तर नाफा कमाइरहेको एनसेलको माउ कम्पनी मलेसियााकाे आजियाटा लगानीको वातावरण चुनौतीपूर्ण रहेको बताउँदै नेपालबाट बाहिरिने निर्णयमा पुग्यो। नेपालमा एनसेलको कारोबार घट्दै गए पनि कम्पनी घाटामा भने गएको छैन। आजियाटाले सार्वजनिक गरेको पछिल्लो तथ्यांकले पनि यस्तै देखाएको छ।
आजियाटाले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार सन् २०२३ को पछिल्लो तीन महिनामा मात्र एनसेलले कुल ९ अर्ब ३१ करोड रुपैयाँबराबर कारोबार गरेको छ। याे २०२२ को सोही अवधिको तुलनामा ७० करोड ५० लाख रुपैयाँले कम हो।तथ्यांकअनुसार कम्पनीले २०२३ को ९ महिनासम्ममा २८ अर्ब २७ करोड रुपैयाँको कारोबार गरेको छ। अघिल्लो वर्ष २०२२ को साेही अवधिमा कम्पनीको कारोबार ३० अर्ब १९ करोड रुपैयाँ थियो।
नेपाल दूरसञ्चार प्राधिकरणको तथ्यांकले पनि नेपालमा एनसेलको कारोबाराम कमी आएको देखाउँछ। तथ्यांकअनुसार २०७५/७६ मा एनसेलको व्यापार ५५ अर्ब २८ करोड, २०७६/७७ मा ४६ अर्ब ७७ करोड, २०७७/७८ मा ४० अर्ब २२ करोड, २०७८/७९ मा ३९ अर्ब ५१ करोड र २०७९/८० मा आउँदा ३७ अर्ब ४४ करोड रुपैयाँको भएको देखिन्छ।
एनसेलबाट आजियाटा बाहिरिने निर्णयमा पुग्नुकाे प्रमुख कारण कम्पनीको लाइसेन्स अवधिलाई लिइन्छ।
दूरसञ्चार प्राधिकरणका अनुसार एनसेल अब सरकारी स्वामित्वमा आउन करिब ६ वर्षमात्रै बाँकी छ। दूरसञ्चार ऐन, २०५३ ले दूरसञ्चार सेवा सञ्चालनको अनुमति लिएका कम्पनीको लाइसेन्स अवधि २५ वर्ष तोकेको छ।
अर्थात, यस ऐनले ५० प्रतिशतभन्दा बढी विदेशी लगानी भएका दूरसञ्चार कम्पनी २५ वर्षपछि सरकारी स्वामित्वमा आउने व्यवस्था गरेको छ। जुन व्यवस्थाअनुसार अब एनसेल सरकारी स्वामित्वमा आउन ६ वर्षमात्रै बाँकी छ।
यसर्थ, यस अगावै आजियाटाले यो अवस्थाबाट पन्छिन खोजेको जस्तो देखिन्छ। यसो त यसअघि दूरसञ्चार ऐन संशोधन गर्न बनेको विधेयकको मस्यौदा २०७९ मा एनसेललाई सरकारी स्वामित्वमा आउन नदिने प्रयास भएको चर्चा चलेको थियो।
कम्पनीलाई सरकारको स्वामित्वमा आउन नदिन विभिन्न दफा हेरफेरको प्रस्ताव गरी यस्तो प्रावधान ल्याउन लागेको चर्चा चलेको थियो।
जतिबेला एनसेल केही विवादमा तानिएको थियो। २०६१ भदौ १६ मा अनुमतिपत्र लिएको एनसेलको २५ वर्षे लाइसेन्स अवधि आगामी २०८६ भदौमा समाप्त हुँदैछ। त्यसैले पनि एनसेलबाट लगानी झिक्ने आजियाटाको निर्णयलाई फरक ढंगमा हेरिएको छ।
यद्यपि, कम्पनीले भने कर र ब्याजभन्दा अगाडिको आम्दानी (इबिआइटी) ११.४ प्रतिशतले घट्दा कर र अल्पसंख्यक लगानीकर्तापछिको आम्दानी ४७.७ प्रतिशतले घटेको कारण देखाएको छ।
यसका साथै उच्च ऋणको ब्याज लागतका कारण कम्पनीका अल्पसंख्यक लगानीकर्ताको करपछिको आम्दानी घटेको अजियाटाले विज्ञप्तिमा उल्लेख गरेको छ।
एनसेलमा ८० प्रतिशत आजियाटाको र २० प्रतिशत नेपालकै सुनिभेरा क्यापिटल भेन्चरको लगानी छ। सन् २००४ मा स्पाइस नेपालका रूपमा स्थापना भएको कम्पनीले २००५ मा मेरो मोबाइलमार्फत दूरसञ्चार सेवा सुरु गरेको थियो।
त्यसपछि सन् २००८ मा स्विडिस दूरसञ्चार कम्पनी टेलिया सोनेराले कम्पनीको सेयर खरिद गरेपछि २०१० मार्च १२ मा स्पाइस नेपालको नाम फेरिएर एनसेल राखिएको थियो।
२०१५ डिसेम्बर २१ मा टेलियासोनेराले एनसेलबाट बाहिरिने घोषणा गरेको थियो। त्यसपछि मलेसियाली कम्पनी आजियाटा नेपाल भित्रिएको थियो।
२०१६ अप्रिल १२ मा आजियाटाले टेलिया सोनेराबाट एनसेलको सेयर खरिद गरेको थियो। २०२० अगस्ट ३ मा एनसेलको नाम एनसेल आजियाटा लिमिटेड राखिएको थियो।