काठमाडौं। बैंकहरूमा ऋणको माग नभएपछि ग्राहक खोज्दै बैंकरहरू कर्पोरेट हाउस र ठूला प्रभावशाली समूह पछ्याउन थालेका छन्। पछिल्लो समय बैंकहरूमा तरलता (लगानीयोग्य रकम) अधिक भएको र व्यवसाय विस्तार हुने सम्भावना नदेखिएपछि बैंकरहरू आफैं ग्राहक खोज्न बाध्य भएका हुन्।
विगतमा ऋण माग्दै तँछाडमछाड गर्ने कर्पोरेट हाउसहरू यतिबेला लगानी गर्ने वातावरण नभएको भन्दै शान्त छन्। ब्याजदर महँगो भएकाले लगानीको वातावरण बिग्रिरहेको बताउँदै आएका ठूला भनिएका लगानीकर्ताहरू ब्याजदर घट्ने क्रम सुरु हुँदा पनि लगानी माहोल नभएको भन्दै ‘पर्ख र हेर’ को अवस्थामा छन्।
नयाँ कर्जाको माग गर्दै आउने ग्राहक खोज्न बैंकहरू बजार धाउन थालेका हुन्। कर्जा प्रवाहका लागि वित्तीय अवस्था सहज हुँदा पनि बैंकहरूले नयाँ कर्जा लिने ग्राहक नपाउँदा व्यवसाय सुस्ताउँदै गएको हो।
चालू आर्थिक वर्ष सुरु भएयता बैंकहरूमा कर्जाको माग न्यून भएको दोस्रो त्रैमास आधासम्म कर्जा माग ठप्प रहेको बैंकरहरू बताउँछन्।
बैंकिङ प्रणालीमा १ खर्ब ५ अर्ब रुपैयाँ अधिक तरलता मौज्दात छ। तर, पर्याप्त लगानीयोग्य रकम प्रणालीमा हुँदा पनि कर्जाको व्यवसाय ठप्पजस्तै भएको माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) समेत रहेका नेपाल बैंकर्स संघ उपाध्यक्ष सन्तोष कोइरालाले बताए।
‘आर्थिक वर्षको सुरुवाती र चाडपर्वको समय भनेको कर्जाको माग नहुने नै समय हो, तर अहिले चाडपर्व समाप्त भइसकेको अवस्था र दोस्रो त्रैमाससमेत आधा हुन लाग्दा पनि नयाँ कर्जाको माग नै छैन,’ उपाध्यक्ष कोइरालाले क्यापिटल नेपालसँग भने, ‘अघिल्ला वर्षहरूमा यतिबेला कर्जाको माग बढ्न थालिसकेको हुन्थ्यो, अहिले भने समग्र आर्थिक मन्दीको असर बैंकको कर्जा व्यवसायमा परेको छ। अधिकांश बैंकमा नयाँ कर्जाको माग प्राय ठप्पजस्तै छ। अहिले अधिकांश बैंकको बेसरेट एकल अंकमा आइसकेको अवस्थामा पनि नयाँ कर्जाको माग छैन।’
यसबीच बैंकहरूमा निक्षेप जम्मा गर्ने ग्राहकमात्रै आइरहेका हुँदा ठूलो परिमाणमा राम्रो व्यावसायिक परियोजनामा कर्जा लिने वा राम्रो व्यवसाय गरिरहेका उद्योगी–व्यवसायीलाई कर्जा दिन बैंकहरू भौँतारिनुपरेको उनको गुनासो छ।
संघका पूर्वअध्यक्ष तथा नबिल बैंकका सिइओ ज्ञानेन्द्र ढुंगानासमेत कर्जा विस्तार सुस्ताएको बताउँछन्।
‘अहिले फाट्टफुट्ट रिटेलबाहेक नयाँ कर्जाको डिमान्ड नै छैन, बैंकहरूको कर्जा व्यवसाय सुस्ताएकै हो, बैंकहरूलाई नयाँ कर्जा माग्दै आउने ग्राहक पाउन अहिले मुस्किल छ,’ सिइओ ढुंगानाले भने।
चालू आर्थिक वर्ष चार महिनामा बैंक तथा वित्त कम्पनीले १ खर्ब ५० अर्ब ३३ करोड रुपैयाँ निक्षेप संकलन गर्दा १ खर्ब ६ अर्ब ९२ करोड रुपैयाँ थप कर्जा प्रवाह गरेका छन्।
गत आर्थिक वर्षको सोही अवधिमा बैंक तथा वित्त कम्पनीमा ६३ अर्ब १ करोड रुपैयाँ निक्षेप संकलन घट्दा ५६ अर्ब ६६ करोड रुपैयाँले कर्जा घटेको थियो।
चालू आर्थिक वर्ष चार महिनामा वाणिज्य बैंकहरूले १२ खर्ब ४८ अर्ब ६६ करोड निक्षेप संकलन गर्दा ९८ अर्ब ५७ करोड कर्जा प्रवाह गरेका छन्। समीक्षा अवधिमा विकास बैंकहरूले ४४ करोड र वित्त कम्पनीहरूले १ अर्ब २३ करोड निक्षेप संकलन गर्दा विकास बैंकहरूले ८ अर्ब ४१ करोड थप कर्जा प्रवाह गर्दा वित्त कम्पनीहरूको कर्जा ६ करोडले घटेको छ।
गत कात्तिक मसान्तमा वाणिज्य बैंकहरूको औसत कर्जा निक्षेप अनुपात (सिडी रेसियो) ८०.७९ प्रतिशत छ। उक्त अवधिमा १७ वाणिज्य बैंकको सिडी रेसियो ८५ प्रतिशत तल ७१.२९ प्रतिशतसम्म छ। बाँकी ३ बैंकको मात्रै ८५ प्रतिशतमाथि ८६.४६ प्रतिशत सिडी रेसियो कायम छ।
बैंकहरूमा कर्जा व्यवसाय सुस्ताउनुको मुख्य कारण समग्र देशको खस्किँदो आर्थिक अवस्था रहेको नेपाल राष्ट्र बैंकका सहप्रवक्ता डा. डिल्लीराम पोखरेल बताउँछन्।
‘बैंकहरूको तरलता र सिडीलगायत अन्य सूचकांक हेर्दा अहिले बैंकहरूले कर्जा दिन सक्ने ठाँउ पर्याप्त छ, तर बैंकरहरू भने कर्जाको माग नभएको गुनासो गरिरहेका छन्,’ राष्ट्र बैंकका सहप्रवक्ता पोखरेलले भने, ‘बैंकमा कर्जा माग नहुन अहिले समग्र देशको आर्थिक गतिविधि सुस्ताउनु नै हो। लगानीको वातावरण बिस्तारै सहज हुँदैछ। अब बैंकको कर्जा विस्तार बढ्न सक्छ।’
सरकार र राष्ट्र बैैंकले चालेका आर्थिक विस्तारका नीतिको पहलुले देशमा लगानीको वातावरण बन्दै गएको हुँदा भोलिका दिनमा बैंकहरूमा नयाँ कर्जाको माग आउने उनको अनुमान छ।
यता नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवाल समग्र देशको आर्थिक मन्दी र चालू पुँजी कर्जामा गरिएको कडाइको असर बैंकको कर्जा व्यवसायमा परेको बताउँछन्।
‘आर्थिक मन्दीले गर्दा नयाँ लगानी गर्ने अवस्थामा कुनै पनि लगानीकर्ता छैनन्, त्यसले गर्दा पनि उद्योग–व्यवसायमा लगानी गर्छु भन्दै कर्जा माग्दै लगानीकर्ता बैंक नगएका हुन्,’ अग्रवालले भने, ‘अघिल्ला वर्षहरूमा यतिबेला व्यवसाय बढाउन पुराना उद्योगी–व्यवसायीले चालू पुँजी कर्जा लिन्थे तर राष्ट्र बैंकले चालू पुँजी कर्जामा गरेको कडाइले हामीले त्यही कर्जा लिन सकेका छैनौं, त्यही भएर बैंकको कर्जा व्यवसाय सुस्ताएको हो।’
राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फत लगानीमैत्री नीति निर्देशन निर्माण गरी व्यवसाय वृद्धि र विकासमा सहजीकरण गर्नुपर्ने उनको सुझाव छ।
बैंकरहरू ग्राहक बढी आउँदा कस्ने र ग्राहक नभए सारै चिन्तित भएर कर्पोरेट हाउसको ढोका चहार्ने पुरानै रोग हो। विगतमा पनि अधिक तरलता भएको र ऋण माग नभएका बेला कर्पोरेट हाउसहरू चहार्ने गर्दथे।
तर, ऋण माग हुन थालेपछि बैंकहरू आफैंले खोजेका ग्राहकलाई ब्याजदर बढाउने, विभिन्न किसिमका समस्यामा अल्झाउने गरेर दुःख दिने गरेको व्यवसायीहरूले गुनासो गर्ने गरेका छन्।