काठमाडौं। राठी र गोयल ग्रुपको संयुक्त लगानीमा सञ्चालित मारुती सिमेन्ट्स लिमिटेडले उत्पादन क्षमता दोब्बर बनाएको छ।
उद्योगले ६ अर्ब २१ करोड रुपैयाँ थप लगानी गरेर क्लिंकर र सिमेन्ट उत्पादन दोब्बर बढाएको हो। उत्पादन प्लान्ट निर्माण भइसकेको छ। नयाँ प्लान्ट सञ्चालनपछि क्लिंकर उत्पादन दैनिक १ हजार ५ सय टनबाट दोब्बर बढेर ३ हजार टन पुग्ने छ।
यस्तै सिमेन्ट उत्पादन २ हजारबाट बढेर दैनिक ४ हजार टन पुग्ने उद्योगले जनाएको छ। विस्तारित प्लान्टबाट उद्योगले पिपिसी सिमेन्ट उत्पादन गर्ने भएको छ। मारुती ब्राण्डमा उद्योगले अहिले ओपिसी सिमेन्ट उत्पादन गरिरहेको छ।
प्लान्ट विस्तारमा ६३ प्रतिशत बैंकको ऋण र बाँकी ३६ प्रतिशत संस्थापकको स्वपुँजी (इक्विटी) लगानी भएको मारुतीले जनाएको छ। नयाँ प्लान्टबाट परीक्षणका रुपमा सिमेन्ट र क्लिंकर उत्पादन भइरहेको छ।
आउँदो माघदेखि व्यवसायिक रुपमा क्लिंकर र सिमेन्ट उत्पादन हुने मारुतीले जानकारी दिएको छ। नयाँ प्लान्ट विस्तारसँगै उद्योगको ऋण बढेर ५ अर्ब रुपैयाँ पुगेको छ। गत वर्ष उद्योगको ऋण ४ अर्ब ४ करोड रुपैयाँ थियो।
मारुतीले ५ अर्ब ५५ करोड ६५ लाख रुपैयाँ ऋणको रेटिङ गराएको छ। जसअनुसार ३ अर्ब ६५ करोड ८४ लाख रुपैयाँ दीर्घकालिन र १ अर्ब ८९ करोड ८१ लाख रुपैयाँ अल्पकालिन ऋण लिएको छ।
सिमेन्ट उत्पादन गर्न कोइला, चुनढुङा, बक्साइट, जिप्सम, माटो र फलाम अयस्क प्रमुख कच्चा वस्तु हुन्। क्लिंकरमा ६० प्रतिशत कोइलाको हिस्सा हुन्छ। कोइला दक्षिण अफ्रिका र अन्य मुलुकहरुबाट आयात गरिरहेको उद्योगले जनाएको छ।
डलरको भाउमा आएको उतारचढावले गर्दा कोइलाको मूल्य बढ्ने गरेको छ। यसले गर्दा उद्योगको सिमेन्ट उत्पादन लागत बढ्ने गरेको छ। सिमेन्ट बेचेर हुने कुुल आम्दानीको ७० प्रतिशत हिस्सा कच्चा वस्तु खरिदमा खर्च हुने गरेको मारुतीले जनाएको छ।
उद्योग १५ वर्षदेखि राठी र गोयल ग्रुपले सञ्चालन गरिरहेका छन्। दुबै समूह विभिन्न व्यवसायमा आबद्ध छन्। मारुतीको अध्यक्ष नन्दकिशोर राठी र सुनिल खेमका प्रवन्ध निर्देशक हुन्।
मारुती सिमेन्ट्स सन् १९९४ मा स्थापना भएको हो। राठी र गोयल ग्रुपले सन् २००५ मा मारुतीको स्वामित्व लिएका हुन्। उद्योगले अहिले दैनिक १ हजार ५ सय टन क्लिंकर र २ हजार टन सिमेन्ट उत्पादन गरिरहेको छ।
उद्योग पूर्व–पश्चिम राजमार्गको सिरहा मिर्चैयामा छ। उद्योगसँग उदयपुरको कटारीमा रहेको झाँकी खोलामा १४ करोड टन चुनढुङा उत्खनन् खानी छ। यसबाट ३० वर्षसम्म क्लिङकर उत्पादन हुने मारुतीले जनाएको छ।
मारुतीको सिमेन्ट व्यापार १४ प्रतिशत घट्यो
उत्पादन क्षमता दोब्बर बनाएको मारुतीको सिमेन्ट व्यापार १४ प्रतिशत घटेको छ। उद्योगको सिमेन्ट बिक्री ११ प्रतिशत घटेको सार्वजनिक गरिएको वित्तीय विवरणमा उल्लेख छ।
सन् २०२३ मा उद्योगले ४ अर्ब ३३ करोड ९० लाख रुपैयाँको सिमेन्ट व्यापार गरेको छ। सन् २०२२ मा उद्योगले ५ अर्ब ५ करोड रुपैयाँको सिमेन्ट व्यापार गरेको थियो।
यस्तै २०२१ मा ६ अर्ब ९० करोड ८० लाख रुपैयाँको सिमेन्ट व्यापार गरेको थियो। उद्योगका नारायणघाटदेखि काँकडभिट्टासम्म २ सय बढी डिलरहरु रहेका छन्।