काठमाडौं। भूकम्पपछि चम्किएको इँटा उद्योगको बिजनेस कोभिडपछि जारी आर्थिक मन्दीले थला परेको छ। दुई वर्षयता मुलुकमा जारी आर्थिक मन्दीको कारण निर्माण क्षेत्रको काम ठप्प हुँदा इँटाको खपत घटेको हो।
नेपाल इँटा उद्योग महासंघका वरिष्ठ उपाध्यक्ष कृष्णप्रसाद अवालेले मूल्य घटाउँदासमेत बिक्री हुन छोडेको बताए। बजारमा माग नै घटेपछि पुराना स्टक उत्पादनसमेत बिक्री गर्न समस्या भएको उनको भनाई छ।
मन्दीका कारण घरहरु निर्माण हुन छाडेको र सडक नाला निर्माणमा समेत ढलान गर्न लागेकोले इँटाको माग ह्वात्तै घटेको उनले बताए। पहिला पहिला नाला बनाउन इँटाको प्रयोग हुने गरेको थियो। जसका कारण पूर्वधार निर्माणमासमेत ठूलो मात्रामा इँटाको बिक्री हुने गरेकोमा अहिले घरमा मात्र सीमित हुनुपर्दा व्यवसाय खुम्चिएको उनले बताए।
अहिले घर निर्माणमा विकल्पको रुपमा ब्लक प्रयोग हुन थालेको छ। त्यति मात्र हैन झ्याल ढोकासमेत आल्मुनियमको प्रयोग बढेकोले इँटा कमै मात्रामा प्रयोग हुने गरेको छ। जसको कारण इँटा उद्योगहरु एक पछि अर्को धरासायी बनिरहेको छ।
५०० उद्योग बन्द
मुलुकभर महासंघमा आबद्ध १ हजार २ सय ५४ उद्योग छन्। ती मध्ये ७ सय उद्योगहरु मात्र सञ्चालनमा रहेको र ५ सय भन्दा बढी उद्योग बन्द अवस्थामा रहेको बताए। सञ्चालनमा रहेका उद्योगहरु पनि पूर्ण रुपमा चल्न सकेका छैनन्। बैंकले लिलामीको सूचना जारी गर्ने त्रासको कारण उद्योग खोलेर मात्र राखिराख्नु पर्ने बाध्यताहरु इँटा उद्योगीहरुको रहेको वरिष्ठ उपाध्यक्ष अवालेको भनाई छ।
सञ्चालनमा रहेका उद्योगहरुमा ३० प्रतिशत चलेको र त्यस भित्र पनि ५० प्रतिशत इँटा बिक्री नै नहुने गरेको बताए। अहिले सञ्चालनमा रहेका उद्योगहरुमा अधिकाशं पुरानै स्टक इँटाहरु रहेको र नयाँ उत्पादन हुन नसकेको बताए।
मूल्य घटाउदासमेत छैन बिक्री
भूकम्पपछि प्रतिगोटा २२ रुपैयाँसम्म पर्ने भक्तपुरको इँटा अहिले भाडासहित १५ रुपैयाँमा पनि बिक्री नभएको उद्योगीहरुको भनाई छ। मुलुकभर उत्पादन हुने इँटा मध्ये सबैभन्दा राम्रो भक्तपुरको मान्ने गरिन्छ। भक्तपुरमा मात्र ६४ वटा इँटा उद्योग महासंघमा दर्ता छन्।
ती मध्ये १२ वटा उद्योग बन्द भइसकेको छ। अहिले भएका स्टक उत्पादनलाई बिक्रीका लागि सीमित कर्मचारीहरु राखेर उद्योग सञ्चालन गरिरहेका छन्। एउटा उद्योग स्थापनाका लागि न्यूनतम २ करोड रुपैयाँसम्म लाग्ने गरेको छ।
पछिल्लो समय व्यापारमा मन्दी छाएपछि व्यवसायीहरु समस्या परिरहेको बेला बैंकले भने लिलामीको सूचना जारी गरेर तनाव दिइरहेको गुनासो व्यवसायीहरुको छ। यो विषयमा पटक पटक अर्थमन्त्री र उद्योगमन्त्रीसँग कुरा राख्दासमेत कुनै सुनुवाई नभएको महासंघले जनाएको छ।
श्रमिकको विचल्ली
इँटा उत्पादन नै बन्द भएपछि त्यसमा आश्रित श्रमिकहरुको विचल्ली भएको छ। एउटा उद्योगमा सिजनको बेला ५ सय जनासम्मले रोजगारी पाउँथे।
६ महिनासम्म रोजगारी गरेर वर्षभरी आफ्नो जीविकोपार्जन गर्दै आएका श्रमिकहरु अहिले समस्यामा परिरहेका छन्। पहिला श्रमिकहरुलाई काममा लगाउँदा रकमसमेत अग्रिम दिने गरिएको थियो। तर, अहिले भने ज्याला घटाएर काम गर्छौं भन्दा पनि श्रमिकहरुलाई काममा लगाउने स्थितिमा आफुहरु नरहेको उद्योगीहरुको भनाई छ।