कतिपय विमानस्थल निर्माणपछि नियमित सञ्चालनमा नआउँदा अध्ययनबिनै काम भयो कि भनेर शंका हुने गरेको छ, जुन जायज पनि छ। खासगरी पछिल्लो समय पोखरा र गौतमबुद्ध विमानस्थल सञ्चालनमा आएलगत्तै पूर्णक्षमतामा नचलेपछि चर्को आलोचना भइरहेको छ। तर, निर्माणपछि सञ्चालनमा नआउनुका कारण खोतल्नु आवश्यक छ।
कोभिड–१९ पछि सबैभन्दा बढी प्रभावित क्षेत्रमध्ये पर्छ पर्यटन। पर्यटन क्षेत्रभित्र पनि हवाई उड्डयन सबैभन्दा बढी प्रभावित भयो। पर्यटन क्षेत्र लयमा फर्किन सन् २०२६ लाग्ने अनुमान छ। यसबीच धेरै ठूला घटनामात्रै घटेनन्, करोडौं मानिस बेरोजगार भए। लाखौंका संख्यामा पाइलट, इन्जिनियर र क्याबिन क्रुले रोजगारी गुमाए। जसका कारण जहाजका आवश्यक पार्टपुर्जा उत्पादनमा गिरावटमात्रै आएन, अभाव सिर्जना भयो। कोभिडको असरले अझै कतिपय देशमा सयौं जहाज ‘ग्राउन्डेड’ छन्।
पोखरा र गौतमबुद्ध विमानस्थल निर्माण समय र अहिलेको अवस्थामा व्यापक परिवर्तन भएको छ। अहिले ती विमानस्थल चलेन भनेर पछि चल्दैन भन्नु हुँदैन किनभने पूर्वाधार निर्माण तत्कालीन र दीर्घकालीन आवश्यकता हेरेर हुन्छ।
सन् २०२६/२७ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले धान्नै नसक्ने गरी यात्रु आउँछन् भन्ने मान्यताका आधारमा विकल्पका रूपमा गौतमबुद्ध र पोखरा विमानस्थल निर्माण प्रक्रिया सुरु गरिएको हो। पूर्वाधार निर्माण जतिबेला आवश्यक हुन्छ, त्यतिबेला निर्माण गर्छु भनेर सम्भव हुँदैन र त्यसको अवधि एक/दुई वर्ष नभएर सयौं वर्षपछिसम्म प्रयोग गर्ने गरि गरिन्छ।
विगतमा काठमाडौंको ‘रिङरोड’ बनाउँदा कति ठूलो बाटो बनाएको भन्दै इन्जिनियरहरूको हात काट्नुपर्छ भन्नेहरू अहिले त्यही सडक सानो भयो भनेर बाहिरी रिङरोडको बहस गरिरहेका छन्। अहिले जुन ढंगले बिनाअध्ययन राजनीतिक दलहरूको नेतृत्वको दबाब/चासोका आधारमा पूर्वाधार निर्माण भयो भन्ने आरोप भने गलत छ।
ट्रंक रुटका विमानस्थल
ट्रंक रुट (सुगम मार्ग) मा निर्माण भएका पूर्वमा चन्द्रगढीदेखि पश्चिमको धनगढीसम्मका विमानस्थल ७० वर्षभन्दा पुराना भए। भन्नुको अर्थ टर्मिनल भवन, लाइटिङदेखि सबै उपकरण पुराना छन्। तर, ती विमानस्थलले पनि अन्तर्राष्ट्रियस्तरकै प्रतिस्पर्धा गर्नुपर्छ, आइकाओ मापदण्ड पालना गर्नुपर्छ। विगतमा १९ सिटे जहाजका लागि निर्माण भएका संरचना स्तरोन्नति गरेर ७२ सिटे जहाज सहजरूपमा उडान गर्न सकिने वातावरणमात्र बनाइएको छैन, रातका समयमा पनि उडान गर्न सक्ने क्षमताका बनाइएको छ। अहिले तराई क्षेत्रका अधिकांश विमानस्थल स्तरोन्नति गरेर आधुनिकतामा ढालिएको छ।
जहाज नहुँदा नचलेका विमानस्थल
दुर्गमका अधिकांश विमानस्थल सञ्चालनमै छन्। तर, दुर्गमका कतिपय पुराना विमानस्थल सञ्चालनमा आउन सकेका छैनन्। पछिल्लो समय निर्माण भएको इलाम विमानस्थल साताको एक उडान भइरहेको छ। खिजिचण्डेश्वरी विमानस्थल घाँसे मैदान भएकाले धेरै लगानी भएको छैन। बन्द भएका अधिकांश विमानस्थहरू सडक पूर्वाधार नपुगेका बेला धेरै चलेका थिए।
विगतमा कयौं वर्षसम्म यात्राको सहज माध्यमका रूपमा जहाज थियो र राज्यले पनि विमानस्थल निर्माणमा ठूलो लगानी गरेको थियो।
अहिले पनि वर्षातको समयमा बाढी पहिरो आउँदा सबैभन्दा उत्तम विकल्पका रूपमा हवाई उडान रहँदै आएको छ। त्यसैले कतिपय विमानस्थल नियमित उडान नभए पनि पूर्णरूपमा बन्द गर्ने स्थिति छैन। त्यही भएर बन्द रहेका विमानस्थललाई प्राधिकरणले आवश्यकताका आधारमा अद्यावधिक गरिरहेको छ। २१औं शताब्दीमा विमानस्थललाई घाँसे मैदानका रूपमा राखिनु राम्रो हुँदैन।
कतिपय विमानस्थल जहाज आउने भरपर्दो स्थिति नभएका कारण बन्द भएको देखिन्छ। जहाज आउने ग्यारेन्टी भए यात्रु पनि पाइन्छ। कतिपय अवस्थामा विमानस्थल र यात्रु भएर पनि जहाज नभएका कारण उडान हुन नसकेको स्थिति छ। विगतमा नेपाल एयरलाइन्ससँग १० ट्वीनअटर जहाज थिए, अहिले दुईवटा मात्र छ।
निजी क्षेत्रका तारा र समिट एयरको संख्या पनि घट्दै गएको छ। दुर्गममा उड्ने २० जहाज हुने हो भने प्रायः विमानस्थल सञ्चालनमा आउन सक्छन् किनभने चार दिन लगाएर सडक यात्रा गर्नुभन्दा ३० मिनेटकै हवाई यात्रा गर्न मानिस तयार हुन्छन्।
जहाज धेरै भएपछि प्रतिस्पर्धा बढ्छ र भाडा पनि घट्छ। त्यसैले विमानस्थल नचल्नुमा सरकार वा प्राधिकरणको असफलता नभएर राज्यका अन्य निकाय र निजी क्षेत्रले पनि हवाई उडानमा तदारुकता नदेखाउँदा समस्या भएको जस्तो लाग्छ। यद्यपि, जहाज खरिद र सञ्चालनका लागि सरकारले नै प्रोत्साहित गर्नुपछै।