एजेन्सी। पारिवारिक विवाद आएपछि भारतीय व्यावसायिक घराना रेमन्ड ग्रुपको सेयर भाउमा उल्लेख्य गिरावट आएको छ।
पारिवारिक विवाद बढेपछि रेमन्डका लगानीकर्ता चिन्तित भएका छन्। सेयर लगानीकर्तामा निराशा बढेपछि रेमन्डको सेयर भाउमा उल्लेख्य गिरावट आएको छ।
रेमन्ड ग्रुपका अध्यक्ष तथा प्रबन्ध निर्देशक गौतम सिंघानियाले व्यक्तिगत जीवनमा चुनौती नआउने आश्वासन दिँदै कम्पनी सञ्चालक तथा कर्मचारीलाई इमेल पठाएका छन्।
सिंघानियाकी पत्नी नवाज मोदीले ग्रुपको अनुमानित १ अर्ब ४० करोड डलर सम्पत्तिको ७५ प्रतिशत आफ्ना दुई छोरी र आफूलाई पारिवारिक समझौताको एक भागका रूपमा दाबी गर्दै आएपछि विवाद उत्कर्षमा पुगेको छ।
‘म हाम्रा सबै सेयरधारकहरूलाई मूल्य सिर्जना गर्न, वितरण गर्न र हाम्रा कर्मचारी, ग्राहक र अन्य सरोकारवालाको हित सुनिश्चित गर्न दृढ छु,’ उनले इमेलमा लेखेका छन्।
रेमन्डको सेयर मूल्यमा लगातार गिरावट हुँदा लगानीकर्ताले १३ प्रतिशतसम्म गुमाएका छन्। यो गिरावटले सेयर लगानीकर्ताको सम्पत्ति १७ अर्ब भारुबराबर क्षय भएको छ। जसले पछिल्लो घटनाक्रममा लगानीकर्ताहरूले उठाएका चिन्ता झल्काउँछ।
इनभाइरोमेन्ट रिसर्चका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (सिइओ) श्रीराम सुब्रमणियमले भने, ‘प्रवद्र्धकहरूबीचको पारिवारिक विवादले कम्पनी र यसको कार्यसम्पादनमा असर पार्ने गरी सधैं खतरा निम्त्याउँछ। यद्यपि, यसको प्रभाव विभाजनको नतिजामा निर्भर हुनेछ। त्यसैले अल्पसंख्यक लगानीकर्ताहरूले सावधानी अपनाउनुपर्छ र यस घटनालाई नजिकबाट निगरानी गर्नुपर्छ।’
विवाहको तीन दशकभन्दा बढी समयपछि अर्बपति उद्योगपति सिंघानियाले नोभेम्बर १३ मा सार्वजनिकरूपमा आफ्नी श्रीमती नवाजसँग अलग भएको ट्विटरमा लेखेका थिए।
नोभेम्बर २० मा नवाजले आफ्ना दुई छोरी निहारिका र निशाका लागि सिंघानियाको कुल सम्पत्तिको ७५ प्रतिशत हिस्सा मागेकी थिइन्।
‘मेरो व्यक्तिगत जीवनसँग सम्बन्धित विषयमा सञ्चारमाध्यममा समाचार आउने भएकाले मेरो परिवारको इज्जत कायम राख्नु मेरा लागि सर्वोपरि भएकाले मैले यस विषयमा टिप्पणी नगर्ने विषय रोजेको छुु’ सिंघानियाले थपे। उनले अध्यक्ष र प्रबन्ध निर्देशकका रूपमा आफू दृढ रहने बताए।
सिंघानियाले यो मागमा धेरै हदसम्म सहमत भएको विश्वास गरिएको छ। उनले पारिवारिक ट्रस्ट स्थापना गरी परिवारको सम्पत्ति र सम्पत्ति हस्तान्तरण गर्न सुझाव दिएका छन्। जहाँ उनी एकमात्र प्रबन्धक ट्रस्टी हुनेछन्। उनको मृत्युपछि उनको परिवारका सदस्यहरूले उनको पछिको सम्पत्ति बाँड्न अनुमति दिइने कुरा पत्नी नवाजलाई अस्वीकार्य छ।
समूहभित्र पहिले नै धेरै ट्रस्ट छन्। जेके ट्रस्ट, श्रीमती सुनीदेवी सिंघानिया अस्पताल ट्रस्ट जसमा रेमन्ड लिमिटेडको १ प्रतिशत स्वामित्व छ। सिंघानिया यसका अध्यक्ष र प्रबन्ध ट्रस्टी र नवाज सिंघानिया ट्रस्टी हुन्।
खेतान एन्ड कम्पनीका वरिष्ठ साझेदार हाइग्रेभ खेतानलाई सिंघानियाका लागि कानुनी सल्लाहकारका रूपमा नियुक्त गरिएको छ भने मुम्बईको कानुनी फर्म रश्मी कान्तलाई नवाजले नियुक्त गरेकी छिन्।
सिंघानियाका परिवारका साथीहरूले शार्दुल अमरचन्द मंगलदास एन्ड कम्पनीका प्रबन्ध साझेदार अक्षय चुडासामा, जो दुवै पक्षसँग नजिक छन्। उनीहरूले सम्भावित मेलमिलाप वा आपसी स्वीकार्य स्थितिमा सहमत हुन मध्यस्थता गर्ने प्रयास गरिरहेका छन्।
पारिवारिक मामिलाहरू अप्रत्याशित छन्। विशेषगरी दम्पती विचलन जहाँ दुवै पक्ष आफ्ना बच्चाहरूको कल्याणबारे चिन्तित छन्।
केही सातादेखि जारी रहे पनि छलफल प्रारम्भिक चरणमा छ। अहिलेसम्म कुनै निर्णय हुन सकेको छैन। ‘यो एकदमै तरल अवस्था हो र दुवै पक्ष आ–आफ्नो अडानप्रति अडिग छन्,’ यस विषयमा नजिक रहेको स्रोतले भन्यो, ‘दुवै पक्षले लिएको प्रारम्भिक अडानपछि कुरा विल्कुलै फरक दिशामा जान सक्छ वा अप्रत्याशित मोड लिन सक्छ। यतिबेला सम्पत्ति बाँडफाँटबारे कुरा गर्न धेरै हतार हुनेछ।’
त्यस्ता पारिवारिक झगडा जस्तै, विवादको दिशा कसैले पनि भविष्यवाणी गर्न सक्दैनन्। ३२ वर्ष दम्पतीका रूपमा सँगै बसेपछि, अर्बपति उद्योगपति सिंघानियाले गत सोमबार सार्वजनिकरूपमा आफ्नी पत्नी नवाजसँग अलग भएको घोषणा गरेका थिए।
रेमन्डका अध्यक्ष र प्रबन्ध निर्देशक सिंघानियाले अलग हुनुका कारणबारे धेरै विवरण खुलाएनन् भने ‘हालैको दुर्भाग्यपूर्ण घटनाक्रम प्रतिविम्बित गर्दा हाम्रो जीवनवरिपरि धेरै अप्रमाणित अफवाह र कुरा छन्। मेरो विश्वास छ कि नवाज र म यहाँबाट फरक बाटो पछ्याउने छौं।’