चितवन। रत्ननगरका रोविन पौडेललाई विदेश जाने सोच कहिल्यै आएन। सानैमा जन्डिसले दुःख पाएका उनलाई धेरै दौडधुप गर्न नपर्ने सानोतिनो व्यवसाय गर्ने सोच सानैदेखि थियो।
स्नातक अध्ययन सकिएपछि भने कामबारे छटपटी हुन थाल्यो। थोरै लागानीमा गर्न सक्ने व्यवसाय खोज्दै गर्दा उनले धेरैतिर मन डुलाए।
‘म थोरै लगानी लाग्ने र दौडधुप धेरै नहुने व्यवसाय खोज्दै थिएँ। पानीपुरी, बेकरी, रेस्टुरेन्ट, मोबाइल रिपेयरलगायत धेरै व्यवसायबारे सोच आयो तर खास चित्त बुझिसकेको थिएन,’ उनले भने।
उनी व्यवसाय गर्ने आइडिया फुराउन दिनभरि डुल्थे। मान्छेहरू भेटिरहन्थे। एक दिन उनका एकजना भान्जाले भने, ‘मामा कपाल काट्ने काम कस्तो होला?’
उनलाई आइडिया मनप¥यो। सुरुमा उनले कपाल काट्ने व्यवसाय गर्नेबारे विदेशमा रहेका आफ्नो ठूलो दाइ दामोदरलाई सुनाए। दाइले पनि कुरा मन पराए।
‘व्यवसायको आइडिया त मनप¥यो तर कपाल काट्ने काम आउँथेन। त्यसैले ट्रेनिङ सेन्टर खोज्न थालेँ,’ उनले भने।
उनी खाना खाएर घरबाट निस्किन्थे र दिनभरि भरतपुर र नारायणगढका ट्रेनिङ सेन्टर धाउँथे।
‘ट्रेनिङ सेन्टर खोज्ने क्रममा उनी ह्यान्डसम एन्ड ब्युटी केयर पुगे। त्यहाँ रमेश रानामगर सरले सिकाउनुभएको राम्रो लाग्यो र त्यही सिक्ने निणर्य गरें,’ उनले भने।
सैलुनसम्बन्धी कामको पूरा कोर्सको ५५ हजार रुपैयाँ रहेछ। त्यति पैसा उनीसँग थिएन।
‘सबै पैसा घरबाट माग्न पनि मन लागेन। मैले पहिलेदेखि नै आइपिओ भर्थें। आइपिओ परेको पनि थियो। केही सेयर बेचेँ र नपुगेको पैसा घरबाट मागेर ट्रेनिङ लिन गएँ,’ उनले भने।
उनले कपाल काट्ने तालिम लिन लागेको भन्दा खिस्याउनेको कमी थिएन। ‘बाहुनको छोराले पनि कपाल काट्छन्?’ भन्थे। तर उनले मतलब गरेनन्।
सुरुवाती दिनमा उनलाई कैंची समाउनै आउँथेन। सुरुवाती दिनमा प्रशिक्षकले उनलाई कैंचीमात्र चलाउन सिकाए। बिस्तारै डमीमा अभ्यास गर्न थाले। त्यस्तै छुरा चलाउन भने बेलुन फुकेर बेलुनमा प्राक्टिस गर्ने रहेछ। मसाज, क्लिन्जिङ, फेसवास, कलरिङलगायत पनि सिक्दै गए।
‘डमीमा सिकेपछि हामीले अनाथ आश्रम, वृद्धाश्रम, सुधार केन्द्रलगायतमा कपाल काट्न गयौं। बिस्तारै राम्रो हात बस्यो,’ उनले भने।
काम जान्दै गएपछि उनले सिकेकै ठाउँमा जागिर पाए। एकजनाको कपाल काट्दा उनले ४०/५० रुपैयाँ पाउँथे।
काम राम्रै चल्दै थियो, त्यही बेलामा ‘लकडाउन’ भयो। उनी घरमै थन्किए। त्यतिबेलासम्म उनले कपाल काट्छन् भन्ने गाउँघरतिर धेरैलाई थाहा भइसकेको थियो।
लकडाउनमा सबै सैलुन बन्द भएको हुँदा गाउँघरका मान्छे उनको घरमै कपाल काट्न आउन थाले। लकडाउन लम्बिँदै गएपछि उनको घर नै सैलुनभन्दा कम भएन।
‘सुरु–सुरुमा त नजिकका मान्छेमात्र आउँथे। पछि हुँदै गएपछि कता–कताबाट गाडी नै लिएर मेरो घरमा कपाल काट्न आउन थाले,’ उनले भने।
लकडाउनमा खुलेपछि उनी फेरि काममा जान थाले। केही समयपछि सौराहा चोकमा एउटा सैलुन खुल्यो र त्यहाँबाट उनलाई जागिरको अवसर आयो।
नारायणगढ पुगेर काम गर्नुभन्दा घर नजिकै ठिक ठाने र सौराहा चोकको गंगा प्लाजामा रहेको सैलुनमा काम गर्न थाले। सुरुमा खाजासहित मासिक १५ हजारमा काम गरेका उनको तलब केही समयमै २० हजार पुग्यो।
त्यहाँ केही समय काम गरेपछि उनी आफ्नै सैलुन चलाउन खाली सटर खोज्न थाले। ‘मैले काम गर्ने सैलुनको दाइको विदेशको भिसा लागेछ। उहाँले अरू खोज्नुभन्दा यही चलाऊ भन्नुभयो। त्यहाँ कपाल काट्न आउने धेरैसँग राम्रो चिनजान भएकाले यही किन्न उचित लाग्यो र यही सैलुन किन्ने निर्णय गरेँ,’ उनले भने।
सैलुन त किन्ने तर पैसा कसरी जम्मा गर्ने भन्ने समस्या प¥यो। उक्त सैलुनमा गुणस्तरीय सामान, एसीलगायत धेरै महँगा सामान भएकाले १३ लाख पर्ने भयो।
उनलाई पैसा जुटाउन निकै मुस्किल पर्यो। दाइ, दिदी, साथीभाइसँग १/२ लाख, १/२ लाख मागे र आफूसँग भएको केही पैसा थपेर उक्त सैलुन किने।
२०७९ सालबाट सुरु भएको उनको व्यवसाय फस्टाउँदै गइरहेको छ। उनको सैलुनमा अन्य तीनजनाले रोजगारी पाइरहेका छन्। सैलुन किन्दा लिएको १३ लाख ऋण पनि उनले चुक्ता गर्न लागिसके।
‘कोठा भाडा, बिजुली, अपरेसन खर्च, स्टाफको तलब, किस्ता सबै कटाएर औसत ५० हजार जोगिन्छ,’ उनले भने।
उनले कपाल त काट्छन् नै अहिले उनीसँग काम सिकाइदिनू भन्दै प्रशस्तै आउने गरेका छन्। ‘धेरैजसो विदेश गएर कपाल काट्ने काम गर्छु भन्दै सिक्न आउनुहुन्छ। नेपालमै गर्छु भन्ने निकै कम हुनुहुन्छ,’ उनले भने।
यो पछि उनले अर्को आउटलेट र एउटा ट्रेनिङ सेन्टर सञ्चालन गर्ने योजना बनाएका छन्। ‘ट्रेनिङ सेन्टर सञ्चालन गर्ने मेरो पहिलेदेखिको योजना हो।
त्यस्तै मेरो सैलुनमा पूर्वी चितवनको पर्सा आसपासबाट पनि धेरै मान्छे कपाल काट्न आउनुहुन्छ। त्यसकारण त्यो क्षेत्रमा एउटा आउटलेट सञ्चालन गर्ने योजना छ,’ उनले भने।
कुनै काम गर्दा राम्रोसँग रिसर्च गरेर सुरु गर्दा नेपालमै पैसा कमाउन सकिने उनको तर्क छ। ‘बाहिर पनि सजिलो छैन। कसैले पैसा थुपारेर राखिदिएको हुँदैन। कुनै राम्रो आइडिया लगाएर युनिक तरिकाले काम गरे असफल भइँदैन। तर, आफूले गरेको कामलाई माया गर्न भने जान्नुपर्छ,’ उनले भने।