काठमाडौं। ७ लाख ९६ हजार ‘डाउन पेमेन्ट’ गरेर बिवाईडीको डल्फिन खरिद गर्न मिल्ने भएको छ। बिवाईडिको नेपालको आधिकारिक वितरक साइमेक्स इंकले २० प्रतिशत डाउनपेमेन्टमा गाडी खरिद गर्ने व्यवस्था मिलाएको हो।
यसरी गाडी खरिद गर्ने ग्राहकले १०.४९ प्रतिशत ब्याज बुझाउनु पर्नेछ। किस्ताको अवधि ८४ महिनाको हुने कम्पनीका नेसनल सेल्स हेड आसुतोष गौतमले जानकारी दिए। ग्राहकले मासिक ५३ हजार रुपैयाँ किस्ता बुझाउनु पर्ने उनले जानकारी दिए।
गत भदौमा नेपालमा सार्वजनिक भएको डल्फिन हालसम्म १ सय ५० डेलिभरी भइसकेको र करिव ४ सय बुकिङ रहेको गौतमले बताए।
४४.९ किलोवाट आवरको ब्याट्री जडान गरिएको यो गाडीमा ७० किलोवाट क्षमताको मोटर जडान भएको छ। यो गाडीले नेपाली सडकमा ३ सय ५० किलोमिटरभन्दा धेरै रेन्ज दिने कम्पनीको दावी छ।
१६ इन्चको अलोय ह्विल रहेको यो गाडीको ग्राउन्ड क्लियरेन्स १ सय ८५ मिलिमिटर (एमएम) को रहेको छ। यसमा ह्विलबेस २ हजार ७ सय एमएम रहेको छ।
यो गाडीमा १२.८ इन्चको फ्लोटिङ टच स्क्रिन, इलेक्ट्रिकल्ली एड्जस्ट गर्न मिल्ने सिट, फ्ल्याटबटम मल्टिफङसनल स्टेयरिङ ह्विल, पछाडिको यात्रुलाई आर्मरेस्ट, प्यानारोमिक सनरुफ, ५ इन्चको फुल एलसिडी इन्स्टुमेन्ट क्लस्टरलगायत फिचर छन्।
कम्पनीले यसको मूल्य ३९ लाख ८० हजार रुपैयाँ तोकेको छ।