काठमाडौं। निजी लगानीमा १ सय ७१ मेगावाट क्षमताको दुधकोसी–६ जलविद्युत आयोजना बन्ने भएको छ। नदी प्रवाही (आरओआर) आयोजना सगरमाथा हाइड्रोपावरले बनाउन लागेको हो।
सरकारले सगरमाथालाई विद्युत उत्पादन अनुमतिपत्र (लाइसेन्स) दिने प्रक्रिया अघि बढाएको छ। आउँदो ३५ दिनपछि ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले सगरमाथालाई विद्युत उत्पादनको लाइसेन्स दिने छ।
आयोजनाबाट २०८४ मंसिरदेखि विद्युत उत्पादन गर्ने लक्ष्य विकासकर्ता सगरमाथाको छ। सगरमाथाले गरेको संभाव्यता अध्ययनअनुसार आयोजना बनाउन २९ अर्ब ६१ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ। निर्माणका क्रममा आयोजनाको लागत कम हुने संभावना रहन्छ। आयोजना बनाउन प्रतिमेगावाट १७ करोड रुपैयाँ लाग्ने अनुमान छ।
आयोजनाको डिजाइन बहाव ५१.७५ घनमिटर प्रतिसेकेन्ड रहेको छ। यस्तै हेड ३ सय ७६ मिटर अग्लो हुनेछ। आयोजनाबाट वार्षिक ९८ करोड ३९लाख ३४ हजार युनिट बिजुली उत्पादन हुने कम्पनीले गरेको संभाव्यता अध्ययनले देखाएको छ।
आयोजनाको सबै संरचना दुधकोसी नदीको दायाँ किनारामा बनाउन प्रस्ताव गरिएको छ। पानी फर्काउने बाँधको लम्बाइ ३५.५ मिटर हुनेछ। विद्युतगृह भुमिगत हुने भएको छ। विद्युतगृहमा ५८ मेगावाटका ३ वटा टवाईन जडान गरिने भएको छ।
आयोजनाबाट उत्पादन हुने बिजुली २२० केभी प्रसारण लाइनबाट ६० किलोमिटर दुरीमा रहेको नेपाल विद्युत प्राधिकरणको न्यू खिम्ती सबस्टेशनमा जोडिने विकासकर्ता कम्पनीले जनाएको छ।
आयोजना कोशी प्रदेशको सोलुखुम्बु जिल्लाको पासङ्ग ल्हामु गाउँपालिका भएर बग्ने दुधकोसी नदीको पानी उपयोग गरि विद्युत उत्पादन गर्ने लक्ष्य छ।
यस्तै दुधकोसीमा नेपाल विद्युत प्राधिकरणले सवा २ खर्ब रुपैयाँ लगानीमा ६ सय ३५ मेगावाटको दुधकोसी जलासय बनाउँदै छ।