काठमाडौं। निजी लगानीमा राजधानीको बूढानीलकण्ठमा निर्माणाधीन पाँचतारे होटल ‘फरेस्ट इन’ आगामी पुसको तेस्रो साता (डिसेम्बर) भित्र सञ्चालनमा आउने भएको छ। होटल डिसेम्बरमा सफ्ट लन्च गर्ने तयारी छ।
गत असोजबाट सञ्चालनमा ल्याउने तयारी भए पनि तीन महिनापछि धकेलिएको छ। होटल निर्माण अन्तिम चरणमा छ। अहिलेसम्म ९३ प्रतिशत वित्तीय प्रगति भएको होटल फरेन्ट इन लिमिटेडले जनाएको छ। पहिला तय गरिएको लक्ष्य भन्दा एक वर्षपछि मात्र होटल सञ्चालनमा आउन लागेको हो।
१ लाख ४२ हजार ७ सय ८३ वर्गफिट क्षेत्रफलमा फैलिएको होटलमा १ सय ५ कोठा छन्। होटल परियोजना बनाउन ३ अर्ब १३ करोड रुपैयाँ लगानी भएको छ। जसमध्ये २ अर्ब १३ करोड १० लाख रुपैयाँ बैंक ऋण र बाँकी ९९ करोड करोड ९० लाख स्वपुँजी (इक्विटी) लगानी रहेको छ।होटलको लागतसमेत बढेको छ।
होटलमा ६८ प्रतिशत बैंक ऋण र बाँकी ३२ प्रतिशत संस्थापकको स्वपुँजी (इक्विटी) हुने गरी लगानी संरचना तयार पारिएको छ। होटल नेपाली कांग्रेस सांसद दीपक खड्काले बनाएका हुन्। उनी होटल फरेस्ट इनका साथै मन्छियाम हाइड्रोपावर लिमिटेडका अध्यक्ष हुन्। होटल फरेस्ट इनको अध्यक्षमा विनिता थापा छिन् भने सञ्चालक दीपक थापा हुन्।
खड्काको होटल इस्टर्नमा पनि लगानी छ। होटल हाल निर्माणाधीन छ। उनले पर्यटन र जलविद्युतलगायत क्षेत्रमा अर्बौै रुपैयाँ लगानी गरेका छन्।
होटलले २ अर्ब २५ करोड रुपैयाँ ऋणको रेटिङ गराएको छ। होटलमा फुड एन्ड बेभरेज सेवासाथै, क्यासिनो, स्विमिङ पुल, ब्यांक्वेट हल, रेस्टुरेन्ट, कन्फेरेन्स हल, स्पालगायत सम्पूर्ण सुविधा उपलब्ध हुने कम्पनीले जनाएको छ।
सामान्यतया, होटललाई रिकभर गर्न लामो समय चाहिन्छ। प्रिमियम होटललाई तीनदेखि चार वर्ष लाग्छ भने सञ्चालनमा स्थिरता आउन अझै दुईदेखि तीन वर्ष लाग्न सक्छ। नेपाली बैंकिङ क्षेत्रमा अस्थायी ब्याजदरको अवस्था छ।
जहाँ त्रैमासिक आधार दरमा निश्चित प्रिमियम थपिन्छ। त्रैमासिक आधारमा ब्याज दर परिवर्तन हुँदा होटलको आम्दानीमा असर पर्ने देखिन्छ। ब्याजदरले पनि होटलको लागत अझै बढाउने सम्भावना छ।
फरेस्ट इनले अन्तर्राष्ट्रिय होटल ब्रान्डका लागि इन्टरकन्टिनेन्टल होटल्स ग्रुप (आइएचजी) सँग लाइसेन्स सम्झौता गरेको छ।
अमेरिकी होटल चेन आइएचजीको मिडिल स्केल ब्रान्ड होलिडे इनका नाममा चल्ने छ। होलिडे इन होटल एन्ड रिसोर्ट ब्रान्डले विश्वभरि १ हजार १ सय ९२ होटल सञ्चालन गर्छ। सञ्चालनमा रहेका होटलमा २ लाख १४ हजार ५ सय ९७ कोठा छन्।
होलिडे इनको व्यवस्थापनमा अझै २ सय ३१ होटल पाइपलाइनमा छन्। लाइसेन्स सम्झौताअन्तर्गत होलिडे इन होटल एन्ड रिसोर्टले यसको अन्तर्राष्ट्रिय मापदण्ड पूरा गर्न सहयोग गर्ने छ।
आइएचजीका मापदण्ड, प्राविधिक सहयोग, व्यावसायिक प्रशिक्षण, ग्राहक आरक्षणअनुसार पर्यवेक्षण प्रदान गर्न, बुकिङ र मार्केटिङ सेवा, प्रणाली कार्यान्वयन, परामर्श सेवालगायत प्राप्त गर्ने छ।
होटल फरेस्ट इन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब ११ किलोमिटर दुरीमा बूढानीलकण्ठको केन्द्रमा छ। यो आकर्षक पर्यटकीय गन्तव्यमध्ये एक हो, जहाँ हरेक वर्ष ठूलो संख्यामा पर्यटक आउने गर्छन्।
होटल फरेस्ट इन सन् २०१० नोभेम्बर २२ मा स्थापना भएको थियो। होटलको संरचना १ लाख ८२ हजार ७ सय ८३ वर्गमिटर क्षेत्रफलमा फैलिएको छ।