काठमाडौं। बैंक तथा वित्तीय संस्थाहरुले एटिएम कार्ड (डेबिट, क्रेडिट, प्रिपेड र मास्टर कार्ड) जारी गर्दा ग्राहकहरुसँग मनलाग्दी शुल्क असुली रहेका छन्। एउटै सेवाका लागि फरक/फरक मूल्यले ग्राहकहरु ठगिएका छन्।
नेपाल राष्ट्र बैंकद्वारा सञ्चालनको अनुमति लिएका बैंक तथा वित्त संस्थाहरुले डेबिट, क्रेडिट, प्रिपेड र मास्टर कार्ड प्रयोगमा ल्याएका छन्। जसमध्ये सबैभन्दा बढी प्रयोगकर्ता डेबिट कार्डको छन्। त्यसपछि वाणिज्य बैंकहरुले जारी गर्ने क्रेडिट कार्डको छन्।
चालू आर्थिक वर्षको असोज मसान्तसम्म डेबिट कार्ड प्रयोगकर्ता १ करोड २६ लाख ३९ हजार ६ सय २२ छन्। साथै, क्रेडिट कार्ड प्रयोगकर्ता २ लाख ९९ हजार १ सय ६२ र प्रिपेट कार्ड प्रयोगकर्ता १ लाख ५८ हजार ५७ जना छन्।
नेपालको जनसंख्याको आधा बढीले प्रयोग गर्ने डेबिट कार्डको मूल्य बैंकहरुले सेवा शुल्क भन्दै फरक/फरक मूल्य तय गर्ने गरेको पाइन्छ। एटिएम कार्डमार्फत खातामा मौज्दात पैसा भिक्न प्रयोग गरिने यस्ता कार्डको सेवा शुल्कका बारेमा नियामक राष्ट्र बैंक मौन बस्दा बैंकहरुलाई मानोमानी गर्न हौसला मिलिरहेको छ।
जसले गर्दा वाणिज्य बैंकहरुले भिषा डेबिट कार्डको १ हजारदेखि २५ सय रुपैयाँ मूल्य निर्धारण गरेका छन्। क्रेडिट कार्डको १ हजार ६ सयदेखि २ हजार ७ सय रुपैयाँसम्म मूल्य निर्धारण गरी वार्षिक किस्तामा विभाजन गरी लिइरहेका छन्।
हिमालयन बैंकले २०५२ सालदेखि सुरु गरेको कार्डबाट विद्युतीय भुक्तानी सेवाको प्रयोगकर्ता उक्त समय औल्लामा गन्न सकिन्थ्यो। आजभन्दा २८ वर्ष अघिदेखि सूरु भएको एटिएमको संख्या अहिले ५ हजार ४८ वटा पुगेको छ।
एटिएम मेसिनमा बैंक तथा वित्त संस्थाहरुद्वारा जारी गरिएको डेबिट, क्रेडिट, प्रिपेट र मास्टर कार्डहरु प्रयोग गरी पैसा झिक्न सकिन्छ। तर, यस्ता कार्डको शुल्कको बारेमा राष्ट्र बैंकले आवश्यक मार्गदर्शन तथा यत्ति नै लिन पाइने भने परिमाण नतोक्दा बैंकहरुले मनामानी ढंगले शूल्क असुलेको राष्ट्र बैंक भुक्तानी प्रणाली विभागका प्रमुख गुरुप्रसाद पौडेल बताउँछन्।
‘बैंकहरुले प्रयोगमा ल्याएका एटिएम कार्डहरु अन्तर्राष्ट्रिय बजारमा निर्माण हुने हुँदा यसको शुल्कबारे राष्ट्र बैंकले केही बोलेको छैन,’ कार्यकारी निर्देशक पौडेलले क्यापिटल नेपालसँग भने, ‘बैंकहरुबीच आपसमा स्वच्छ तरबले खुला प्रतिस्पर्धामार्फत कार्डको मूल्य निर्धारण होस् भनेर राष्ट्र बैंकले हालसम्म यसबारे नबोलेको हो। तर, राष्ट्र बैंकमा कार्डको शुल्क सम्बन्धी केही गुनासोहरु आएका छन्। बैंकहरुले एटिएम कार्डमा मनोमानी शुल्क लिएको भनेर आएका गुनासो हुन्।’
राष्ट्र बैंकले बैंकको कार्डको वास्तविक मूल्यबारे अध्ययन गरी आवश्यक नीति जारी गर्ने प्रारम्भिक छलफल शुरु गरेको उनले जानकारी दिए।
एटिएम कार्डका प्रकार, प्रयोग र कारोबार
नेपालमा बैंक तथा वित्त कम्पनीहरुले डेबिट, क्रेडिट, प्रिपेड र मास्टर कार्ड प्रयोगमा ल्याएका छन्। जसमध्ये डेबिट कार्ड वाणिज्य बैंक, विकास बैंक, वित्त कम्पनी र सहकारीहरुले पनि प्रयोगमा ल्याएका छन्।
डेबिट कार्डः डेबिट कार्ड भनेको बैंक खातामा रहेको रकम झिक्न तथा भुक्तानी गर्न मिल्ने गरी ग्राहकको नाममा जारी भएको कार्ड हो। ग्राहकको खातामा मौज्दात पैसा डेबिट कार्डको प्रयोग गरी एटिम मेसिनमार्फत भिक्न सकिन्छ। विभिन्न सपिङ मल तथा व्यापारिक संस्थाहरुले राखेका बैंकहरुको पोस मेसिनमार्फत यस्तो कार्ड ‘स्वाप’ गरेर भुक्तानी गर्न सकिन्छ। डेबिट कार्डको प्रयोगबाट विभिन्न प्रकारका खातामा मौज्दात रकम ग्राहकले प्रयोग गर्न सक्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ।
राष्ट्र बैंकको तथ्यांकअनुसार गत असोज मसान्तसम्म नेपालमा १ करोड २६ लाख ३९ हजार ६ सय २२ प्रयोगकर्ता छन्। जसमध्ये वाणिज्य बैंकहरुको १ करोड १६ लाख ६७ हजार ५ सय ७०, विकास बैंकहरुको ९ लाख ९ हजार २ सय ७४ र वित्त कम्पनीहरुको ६२ हजार ७ सय ७८ जना हुन्। असोजमसान्तसम्म डेबिट कार्डमार्फत कुल १ खर्ब ११ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।
क्रेडिट कार्डः क्रेडिट कार्ड भनेको ग्राहकको बैंक खातामा पैसा नभए पनि कार्डबाट भुक्तानी गर्न सकिने सुविधासहितको कार्ड हो। यस्तो कार्डमा खर्च भएको रकम कार्डधारकले निश्चित समयपश्चात सम्बन्धित बैंक तथा वित्तीय संस्थालाई तोकिएको शुल्कसहित बुझाउनुपर्दछ।
जसमा बैंक तथा वित्तीय संस्थाले निश्चित अवधिसम्म निशुल्क यस्तो सुविधा दिने गरेका छन् भने, तोएिको समय भुक्तानी नभएको पैसामा बैंकहरुले ब्याज असुलेर पैसा फिर्ता लिन्छन्। यसको प्रयोग गरेर एटिएमबाट नगद निकाल्न सकिन्छ र वस्तु वा सेवा खरिद गर्दा पोस मसिन माध्यमबाट भुक्तानी गर्न सकिन्छ।
नेपालमा अहिलेसम्म वाणिज्य बैंक र विकास बैंकहरुलेमात्रै क्रेडिट कार्ड प्रयोगमा ल्याएका छन्। गत असोज मसान्तसम्म नेपालमा कुल क्रेडिक कार्ड प्रयोगकर्ता वाणिज्य बैंकहरुको २ लाख ९७ हजार ८ सय ३२ र विकास बैंकहरुको १ हजार ३ सय ३० जना गरी कुल २ लाख ९९ हजार १ सय ६२ जना छन्। यी प्रयोगकर्ताको असोज मसान्तसम्म १ अर्ब ८२ करोड रुपैयाँ बराबरको कारोबार क्रेडिट कार्डमार्फत् भएको छ।
प्रिपेड कार्डः कार्डमै रकम जम्मा गरी नगद झिक्न तथा भुक्तानी गर्न सकिने गरि बैंक तथा वित्तीय संस्था वा अनुमतिपत्रप्राप्त संस्थाले जारी गरेको कार्ड प्रिपेड कार्ड हो। अहिले वाणिज्य र विकास बैंकहरुलेमात्रै प्रिपेड जारी गरेर विदेशी विनिमयको कारोबार यस्तो कार्डमार्फत् गरिरहेका छन्। राष्ट्र बैंकले तोकेको सीमाभित्र रहेर वाणिज्य बैंहरुले ग्राहकलाई प्रिपेड कार्ड अर्थात् डलर कार्डको सेवा दिइरहेका छन्।
नेपालमा गत असोज मसान्तसम्म वाणिज्य बैंकहरुको १ लाख ५४ हजार ८ सय र विकास बैंकहरुको १ हजार ६ सय २४ गरी कुल १ लाख ५६ हजार ४ सय २४ जना प्रिपेट कार्ड प्रयोगकर्ता रहेका छन्। यी प्रयोगकर्ताले समीक्षा अवधिसम्म ६० करोड ५० लाख रुपैयाँ बढीको कारोबार गरेका छन्।
मास्टर कार्डः अन्तर्राष्ट्रिय रुपमा प्रयोगमा ल्याउन सकिने एटिएम कार्डलाई मास्टर कार्ड भनिन्छ। ग्राहकले नेपालका बैंक तथा वित्तीय संस्थाको आफ्नो खातामा मौज्दात पैसा मास्टर कार्डको प्रयोग गरी संसारको जुनसुकै देशका बैंकहरुको मास्टर कार्ड प्रयोग हुने एटिएममार्फत पैसा भिक्न सक्छन्।
वाणिज्य बैंकहरुमा एटिएम कार्डको मूल्य अवस्था
नेपालको विद्युतीय भुक्तानी कारोबारमध्ये डेविट कार्डको प्रयोग र कारोबार बढी छ। बैंक तथा वित्तीय संस्थाहरुले जारी गर्ने ३ वर्षदेखि ५ वर्षसम्मको हुन्छ। भने यी कार्डहरुले नेपालका बैंक तथा वित्तीय संस्थाहरुले भारत, चीन सिंगापूरबाट आयात गर्छन्।
बैंकहरुले यी देशमा निर्मित कार्ड ल्याउँदा ‘चिप’ र प्लास्टिकको कार्ड ल्याउँछन्। उक्त कार्डको चिपमा बैंकले खातावालको विवरण ‘लिंक’ गरेर आफ्नो अन्य विवरण सहितको एटिएम कार्ड छपाएर ग्राहकलाई दिन्छ।
यस्तो कार्डको शुल्क बैंकहरुले एकमुष्ठ र वार्षिक किस्ता दुबै तबरले तोकेर लिने गरेका छन्। यस्तो कार्डको पहिलो ग्राहकलाई बैंकहरुले पहिलो वर्ष सेवा शुल्क र अन्य शुल्कसहित कार्ड शुल्क लिन्छन्। कार्डको समाप्त मितिसम्म हरेक वर्ष किस्तामा कार्डको शुल्कमात्रै लिन्छन्।
बैंकहरुले यस्तो चिपसहितको प्लाष्टिकको सादा एटिएम कार्ड कतिसम्म ल्याउछन् र त्यसको औषत मूल्य कति कायम गर्दा उचित हुन्छ राष्ट्र बैंकले अध्ययन गरेर मार्गदर्शन जारी गर्नु आवश्यक रहेको नेपाल बैंकर्स संघका पुर्वअध्यक्ष भुवनकुमार दाहाल बताउँछन्।
‘बाहिरबाट आउने यस्त कार्डको मूल्यबारे राष्ट्र बैंकले केही बोलेको छैन। त्यही कारण बैंक नै पिच्छे कार्डको मूल्य फरक हुँदा ग्राहक मर्कामा परेको सत्य हो,’ संघका पूर्वअध्यक्ष दाहालले क्यापिटल नेपालसँग भने, ‘राष्ट्र बैंकले कार्डको शुल्क बारे आफ्नो वेव साइटमा राख्न निर्देशन दिएको छ।
तर, बैंकहरुले राख्ने शुल्कको सूची ग्राहकले प्रष्टसँग बुझ्ने प्रकारका हुदैंनन्, राष्ट्र बैंकले कार्डको शुल्कसँगै शुल्कको विवरणबारे पनि आवश्यक नीति बनाएर प्रभावकारी कार्यान्यवन गराउन आवश्यक छ।’
राष्ट्र बैंकले एटिएम मेसिनमा प्रयोग हुने कार्डको शुल्कबारे मार्गदर्शन बनाएर कार्यान्यवन गराउँदा बैंकहरुले सोहीअनुसार एटिएक कार्ड मूल्य निर्धारण गर्नुपर्ने बाध्यता हुने उनको भनाई छ।
बैंकहरुले आफ्नो वेवसाइटमा राखेको एटिएम कार्ड शुल्कअनुसार वाणिज्य बैंकहरुले एउटा डेबिट कार्डको मूल्य १ हजार रुपैयाँदेखि २५ सयसम्म र क्रेडिट कार्डको मूल्य १६ सयदेखि ७५ सय रुपैयाँसम्म लिइरहेका छन्। जसमा डेबिट कार्डतर्फ वार्षिक ५ सय रुपैयाँ कित्ता गरी ५ वर्षको लागि २५ सय रुपैयाँ एनआइसी एसिया, सानिमा, स्टान्डर्ड चार्टर्ड र एनएमबी बैंकले लिन्छन्।
५ वर्षको लागि जारी गर्ने डेबिट कार्ड कुमारी बैंक र ग्लोबल आइएमई बैंकले २ हजार र लक्ष्मी सनराइजले १९ सय ९५ रुपैयाँ रुपैयाँ लिइरहेका छन्। सोही अवधिको डेबिट कार्ड जारी गर्ने ९ वटा वाणिज्य बैंकहरु मध्ये नेपाल एसबिआई १५ सय र राष्ट्रिय वाणिज्य बैंकले १२ सय रुपैयाँ डेबिट कार्डको शुल्क लिने गरेका छन्।
यस्तै, ४ वर्षसम्मका लागि डेबिट कार्ड जारी गर्ने १० वटा वाणिज्य बैंकहरु छन्। यी बैंकहरुले १ हजार रुपैयाँदेखि २ हजार रुपैयाँसम्म शुल्क लिइरहेका छन्।
जसमा ४ वर्षे डेबिट कार्ड जारी गर्ने बैंकहरुमा सिद्धार्थले १६ सय, हिमालयनले १५ सय, प्रभुले १४ सय ४८, कृषि विकास बैंकले १ हजार, नेपाल बैंकले १२ सय, नबिल बैंकले २ हजार, माछापुच्छ्रे बैंकले १७ सय ५०, सिटिजन्स बैंकले १६ सय र नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले १४ सय रुपैयाँ शुल्क लिइरहेका छन्। प्राइम कर्मसियल बैंकले भने यस्तो कार्ड ३ वर्षको लागि १ हजार ५० रुपैयाँ शुल्क लिएर सेवा दिइरहेको छ।
यता क्रेडिक कार्डको मूल्य भने वार्षिक किस्तामै भुक्तानी गर्न मिल्ने गरी जारी गरेर त्यसको कुल शुल्क १६ सयदेखि ७५ सय रुपैयाँसम्म लिएको पाइन्छ। जसमा ५ वर्षको एनआइसी एशियाले ७५ सय लिँदा सानिमा, एनएमबी, कुमारी र लक्ष्मी सनराइज बैंकले ५ हजार रुपैयाँ लिएको पाइन्छ। यी बाहेक ५ वर्षकै लागि स्ट्यान्डर्ड चार्टर्डले ३७ सय ५०, राष्ट्रिय वाणिज्य बैंकले ३५ सय र ग्लोबल आइएमई बैंकले ३ हजार रुपैयाँमा क्रेडिट कार्डको सेवा दिइरहेका छन्।
यस बाहेक अन्य बैंकले ४ र ३ वर्षको लागि १६ सयदेखि ४ हजार रुपैयाँसम्म शुल्क लिँदा नेपाल एसबिआई बैंकले क्रेडिट कार्ड नै जारी नगरेको जानकारी दिएको छ।
कुन बैंकको कार्ड शुल्क कति?