काठमाडौं। सरकारले तेस्रो लगानी सम्मेलन आयोजना गर्ने भएको छ। आगामी वैशाख ९ र १० गते काठमाडौँमा लगानी सम्मेलन गर्ने गरी तयारी भइरहेको अर्थमन्त्री डा. प्रकाशशरण महतले जानकारी दिए।
लगानी सम्मेलनका लागि अर्थमन्त्रीको संयोजकत्वमा निर्देशक समिति छ। उक्त निर्देशक समितिको पहिलो बैठक आज बसेको हो। समितिको बैठकपछि अर्थमन्त्री डा. महतले लगानी सम्मेलन आयोजना हुनेबारे जानकारी दिए।
“लगानी सम्मेलनका लागि तयारी थालिएको छ। यो लगानी सम्मेलनमा विदेशी लगानीको मात्र कुरा होइन, नेपाली लगानीकर्ता र गैरआवासीय लगानीकर्तालाई पनि सँगसँगै लैजाने हो। लगानी सम्मेलनबारे विदेशी राजदूतावासलाई परिचालन गरिनेछ”, अर्थमन्त्री डा महतले भने।
मन्त्री महतले लगानी सम्मेलन सकिएपछि पनि त्यसलाई ‘फलोअप’ गर्दै निरन्तर लगानी भित्र्याउने र बढाउने योजनामा काम गर्ने बताए। उनले ठूला, मझौला तथा साना उधोगमा लगानी ल्याउनका लागि सहजीकरण गर्दै सहज अवस्था निर्माण गर्ने स्पष्ट पारे।
लगानी सम्मेलन आयोजना गर्नका लागि मुख्यसचिवको नेतृत्वमा कार्यान्वयन समिति, उद्योग वाणिज्य तथा आपूर्त मन्त्रालयका सचिवको नेतृत्वमा प्राविधिक समिति छ। तेस्रो लगानी सम्मेलनको सचिवालय लगानी बोर्डको कार्यालयमा रहने जनाइएको छ।
लगानी सम्मेलनका लागि आवश्यक कानुनी सुधार, प्राविधिक विषय, लगानीकर्तालाई सम्मेलनबारे जानकारी दिने लगायतका काम कार्यान्वयन समिति र प्राविधिक समितिमार्फत गरिने भएको छ। लगानी सम्मेलनका लागि कुन आयोजना ‘सोकेस’मा लैजाने भन्नेबारे पनि तयारी गर्न पनि अर्थमन्त्री डा महतले निर्देशन दिए।
‘तेस्रो लगानी सम्मेलनका साथमा सातै प्रदेशमा पनि लगानी सम्मेलन गर्ने तयारी रहेको छ। यसका लागि सुदूरपश्चिम र मधेश प्रदेशमा तयारी भइसकेको छ भने अन्य प्रदेशमा पनि हुँदै जानेछ,’ अर्थमन्त्री महतले भने, ‘प्रदेशमा हुने लगानी सम्मेलनले त्यहाँ सम्भावना भएका लगानीका क्षेत्र पहिचान गरी लगानी बढाउन मद्दत गर्छ।’
सम्मेलनको जिम्मेवारीहरुको विषय भने अर्को बैठकले निर्णय गर्ने महतले बताए। लगानी सम्मेलनले नेपाललाई लगानीको गन्तव्यका रूपमा प्रचार गर्ने र विदेशी लगानीकर्तालाई आकर्षित गर्ने सरकारको अपेक्षा छ।
लगानी बोर्डले सम्मेलनका लागि तयारी अघि बढाएको छ। सरकारले यसअघि २०७३ फागुन र २०७५ चैतमा लगानी सम्मेलन गरेको थियो।