काठमाडौं। बेलाबेला हामी बढी नकरात्मक भयौं कि भन्ने विषय उठ्ने गरेका छन्। समाजका कतिपय गतिविधि र घटानाक्रमले नकरात्मकता झाँगिदै गएको पुष्टि पनि गर्छन्। आज मुलुकका प्रायः कार्यालय, संस्था तथा जिम्मेवारीमा बसेका व्यक्तिहरू कुनै न कुनै प्रकारको विवादमा फसेका छन्।
विकासका लागि भनेर राज्यबाट अघि सारिएका अधिकांश योजना तथा कार्यक्रम पनि विवादमा तानिएका छन्।
पछिल्लो समय सबै ‘चोर’ हुन् भन्ने भाष्य समाजमा व्याप्त बन्दै गएको छ। विशेषगरी सरकारी निकाय, कर्मचारी र सरकारी स्वामित्वका संस्थाहरूप्रति मानिसको बेग्लै किसिमको आक्रोस छ।
समाजमा राम्रा–नराम्रा दुवै प्रकृतिका मानिस बस्छन्। तर, हामीले राम्रा र नराम्राबीचको भिन्नता छुट्ट्याउन छाडेका छौं। अर्थात, हामीले सबैलाई एउटै दृष्टिकोणले मात्रै हेरिरहेका छौं। यसरी राम्रा–नराम्राबीच फरक नछुट्ट्याउँदा राम्रो गर्न चाहने र राम्रो गर्दै आएका व्यक्तिहरूमाथि समेत निराशा छाउँदै गएको छ।
कुनै पनि देशको विकास गर्न र समृद्ध बनाउन त्यहाँको कर्मचारीतन्त्रको भूमिका सबैभन्दा बढी महत्वपूर्ण हुन्छ। सरकारको नेतृत्व गर्ने नेतृत्वकर्ता र दलहरू आउने–जाने क्रम चलिरहन्छ।
तर, लामो समय एकै ठाउँमा बसेर काम गर्ने स्थायी प्रकृतिको नेतृत्वकर्ता कर्मचारी हुन्। जुन कर्मचारी जति चलयमान, ऊर्जावान र कर्तव्यवान हुन्छन्, देशको समृद्धि पनि सहज बन्दै जान्छ। यद्यपि, यो बीचमा हामीले सबै कर्मचारीलाई एकै ठाउँमा राखेर ‘फटाहा’ को ट्याग लगाइदिएका छौं।
हुन त आज अधिकांश सरकारी निकाय कुनै न कुनै विवादमा फसेका छन्। सरकारी निकाय र त्यहाँका कर्मचारीका सयौं विवाद अदालत, अख्तियार दुरुपयोग अनुसन्धान आयोग तथा संसदीय समितिहरूकहाँ पुगेर अनुसन्धान क्रममा छन्।
लामो समय हुँदा पनि कतिपय विषय टुंगिएका छैनन्। न त टुंगिने छाँटकाँटमा नै छन्। यो अवस्था हेर्दा आज समग्र क्षेत्र गलत रहेको जस्तो पनि देखिन्छ। तर, सबै क्षेत्र, संस्था वा व्यक्तिहरू गलतमात्रै नहुनुपर्ने हो।
यद्यपि, सबैलाई सामान्यीकरण गरेर गलत देखाइदिँदा यसको असर पनि सबैमा परेको देखिन्छ। ‘आज हरेक काम र विषयलाई बढी नकरात्मक ढंगले मात्रै हेरिन्छ। कुनै विषयमा अनुचित काम भयो वा भएन भनेर अनुगमन गर्नु स्वभाविक हो,’ नेपाल दूरसञ्चार प्राधिकरणका एक अधिकारी भन्छन्, ‘तर, अहिले हरेक कुरालाई नकरात्मकरूपमा मात्रै लिइन्छ। यो प्रवृत्तिले हाम्रो काम गर्ने जोस–जाँगर हराउँदै गएको छ।’
उनका अनुसार पछिल्लो समय कुनै विषयलाई गहिराइमा पुगेर हेर्नेभन्दा पनि लक्ष्यित गरेर फसाउन तथा डुबाउन लागिपर्ने प्रवृत्ति बढ्दो छ। उनीहरूमा हिजोका दिनमा केही नयाँ काम गरौं भन्ने हुटहुटी हुन्थ्यो। तर, पछिल्लो समय हरेक नयाँ कामलाई नकारात्मक ढंगले मात्रै हेरिने प्रवृत्तिले आफूहरूलाई निराश बनाएको उनी सुनाउँछन्।
‘मिडिया, समाज वा अधिकांश क्षेत्रले आज हरेक विषयलाई सामान्यीकरण गर्ने चलन छ। साथै, एक विषयलाई जोडेर हरेक क्षेत्र, संस्था वा व्यक्ति खराब हुन् भन्ने प्रवृत्ति व्याप्त छ,’ उनी भन्छन्, ‘यो प्रवृत्तिले राम्रो गर्न चाहनेको ऊर्जा पनि कमजोर बनाएको छ।’
उनका अनुसार आज समाजमा सत्यताको गहिरामा नपुगी पक्ष–विपक्ष छुट्ट्याएर विवादमा तान्ने र अनावश्यक झमेलामा फसाउने कामले प्राथमिकता पाइरहेको छ।
उनको भनाइ सुन्दा आज हरेक नयाँ योजना–परियोजना वा कामको सुरुवात गर्न जिम्मेवारी पदमा बसेका व्यक्ति अग्रसर नहुने अवस्था बनेको छ। कुनै पनि विषयलाई सकारात्मक ढंगमा हेर्न छाडेर नकारात्मक ढंगमा मात्रै हेर्दा केही राम्रो गर्न चाहने पनि निराश बनेका छन्।
यसरी हेर्दा राम्रो गर्दागर्दै र राम्रो गर्ने चाहना राख्दा राख्दै पनि अनेक समस्यामा परिने, नराम्रो नजरले हेर्ने प्रवृत्तिले कर्मचारीमा असर पुगेको देखिन्छ। यसले कर्मचारीमा असर पुग्नु वा पुर्याउनु एक ढंगबाट स्वाभाविक पनि देखिन्छ।
‘यस क्षेत्रमा काम गरेको वर्षौं भइसकेको छ। हरेक समय केही नयाँ गरौं, केही राम्रो गरौं भन्ने सोच आउँथ्यो। तर, आज त्यो वातावरण छैन,’ सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा कार्यरत अर्का एक अधिकारी भन्छन्, ‘यस्तो निराशा छाएको यो पहिलोपटक हो।’
उनका अनुसार अहिले समग्र कर्मचारीमा यो किसिमको निराशा छाएको छ। यो निराशाले नागरिकलाई डेलिभरी दिनुपर्ने, कुनै नयाँ काम थाल्नुपर्ने र थालिएको काम पूरा गर्ने काममा थप ढिलाइ हुन पुगेको छ।
नेपालमा कुनै नयाँ कामको थालनी भए सुरुमै त्यसलाई नकारात्मक ढंगमा हेरिन्छ, अर्थात नयाँ काम सुरु हुनासाथ त्यसलाई कमाउन, भ्रष्टाचार गर्न वा स्वार्थपूर्ति गर्न सुरु गरिएको भन्ने धारणा बनाइन्छ।
कुनै कामलाई राम्रोका लागि गर्न लागेको होला भनेर सोच्ने सोच नै समाजबाट लोप भइसकेको छ। जसले गर्दा आज सरकारलाई वा नागरिकलाई फाइदा पु¥याउने किसिमका योजना अघि सार्न पनि निकायहरू डराउनुपर्ने अवस्था रहेको उनको भनाइ छ।
यसका साथै कार्यालयमै आएर विभिन्न किसिमका बाहिरी व्यक्तिले गर्ने व्यवहारप्रति पनि कर्मचारी असन्तुष्ट देखिन्छन्। विशेषगरी सरकारी निकायका कर्मचारीलाई आफू राजनीतिक दल, मन्त्री, नेता तथा ठूला व्यक्तिको मान्छे हुँ भन्दै अशोभनीय व्यवहार देखाउने काम हुन्छ। कुनै काम गराउन, फाइल अगाडि बढाउन वा आफ्नो काम गराउन त्यस्ता व्यक्तिद्वारा कार्यालयमै गरिने अमर्यादित व्यवहार हुने गरेको छ।
केही दिन अघि भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालयमा एउटा यस्तै दृश्य देखियो। जहाँ मन्त्रालयका एक अधिकारी आफ्नो क्याबिनमा बसेर काम गर्दै थिए। आफूलाई एक सांसदको सल्लाहकार बताउने एक व्यक्ति उनको कार्यकक्षमा सिधै प्रवेश गरे र भने, ‘मलाई चिन्नुभएन? म सांसदको सल्लाहकार हुँ। खोइ, मेरो फाइल कहाँ पुग्यो? मेरो काम भएन?’
उनको शैली केही अशोभनीय थियो। तर, पनि केही नम्र हुँदै ती अधिकारीले माथिबाटै यस्तो फाइल अगाडि नबढाउनू भनेकाले नमिल्ने प्रतिक्रिया दिए।
यसको जवाफ फर्काउँदै ती व्यक्तिले भने, ‘किन, कसले भन्यो? तपाईंको हाकिमलाई भन्दा त हुन्छ होला नि! ठिक छ अब हुँदैन भने म मन्त्रीको पावर लगाएरै काम गराउँछु।’
यति भनेर उनी त्यहाँबाट बाहिरिए। ती व्यक्ति कार्यालयबाट बाहिरिएपछि मन्त्रालयका ती अधिकारीले त्यसलाई सामान्यरूपमा लिँदै यिनीहरूले सधंै यस्तो व्यवहार गर्ने र आफूहरूले केही गर्न नसक्ने प्रतिक्रिया दिए। यसरी कर्मचारी माथि कार्यालयमै आएर गरिने यस्तो किसिमको व्यवहारले पनि कर्मचारीको मनोविज्ञानमा पक्कै असर पुर्याउँछ।
यो अवस्था हेर्दा हामीले कर्मचारीहरूलाई गर्ने व्यवहारमा पनि सुधार ल्याउनुपर्ने आवश्यकता देखिन्छ। यद्यपि, हरेक कर्मचारी, संस्था वा व्यक्तिले गरेको काम वा उनीहरूको गतिविधिमाथि निगरानी नै गर्नु हुँदैन भन्ने होइन। उनीहरूलाई खबरदारी गर्ने र हरेक योजना–आयोजनामाथि अध्ययन गर्ने काम भने हुनुपर्छ।
जुन कुरा कर्मचारी पनि स्वीकार्छन्। तर, हरेक विषयलाई नकरात्मक ढंगमा मात्रै लिँदा भने कर्मचारीमा निराशा फैलिनु स्वाभाविक हो। जुन निराशाको असर मुलुकको समग्र अर्थतन्त्र र विकासमा पर्छ।
‘सरकारी कर्मचारी पनि समाजकै सदस्य हुन्। उनीहरूमा नैराश्यता छायो भने त्यसले कर्मचारीको काममा असर पुर्याउँछ,’ अर्थविद तथा सहप्राध्यापक डा. रमेशकुमार पौडेल भन्छन्, ‘यसरी कर्मचारीमा निराशा पैदा हुँदा कुनै न कुनै ढंगबाट हाम्रो अर्थतन्त्रमा असर नै पुग्छ। यसबाट सरकारले सेवा प्रवाह गर्नुपर्ने विषयमा असर पुग्नु स्वाभाविक हो।’ उनले समाजमा नकरात्मक विषयले आवश्यकताभन्दा बढी मात्रामा प्राथमिकता पाउँदै गएको पनि बताए।
पछिल्लो समय समाजमा भइरहेका बन्द हडतालजस्ता विषयले पनि कर्मचारी र उनीहरूको सेवा प्रवाहमा असर पुर्याएको छ। यसले निश्चित क्यालेन्डर पछ्याएर तोकिएको समयमा पूरा गर्नुपर्ने काम उक्त समयमा सम्पन्न हुन दिँदैन। साथै, स्रोत सुनिश्चित गरिएका योजना पनि समयमा सुरु र पूरा गर्न नसक्दा त्यसको दुरुपयोग भएको ठहरिन्छ। यसले पनि सरकारी सेवा प्रवाहमा असर पु¥याउँछ।
‘विद्यालय सञ्चालन विषय, निजामती कर्मचारीले सेवा दिने विषय तथा गाउँपालिका वा स्थानीय पालिकाले नागरिकलाई सेवा प्रदान गर्ने विषयमा यस्ता कुराले असर पु¥याउँछ,’ पौडेल भन्छन्, ‘जसले गर्दा हाम्रो योजनाको लागत बढ्ने र कर्मचारीको उत्पादकत्वमा ह्रास ल्याउने काम गर्छ।’
उनले हरेक क्षेत्रमा सकारात्मकता आवश्यकता पर्ने बताउँदै कर्मचारीमा फैलिएको निराशा कम गर्न आवश्यक भएको बताए।