काठमाडौं। २०३८ सालतिर कामको खोजीमा सोलुखुम्बु नामलुङबाट काठमाडौं आएका डम्बरबहादुर राईले रोजगारी नपाएपछि केही समय तरकारी व्यवसाय गरे।
एक दिन तरकारी व्यवसायकै सिलसिलामा हिँडिरहेका बेला नक्सालमा खाली सटर देखे। उनको मनमा नयाँ केही काम सुरु गर्नुपर्छ भन्ने सोच पलायो। घरबेटीसँग भाडाको कुरा मिलाए र १ रुपैयाँ बैना दिए। त्यसपछि भने उनले दिनभरि अन्य व्यवसाय गर्ने र साँझपख मोमो बिक्री गर्न सुरु गरे।
२०४४ फागुन १४ गते उनले पहिलोपटक मोमो व्यापारमा हात हाले। मोमो व्यापार बढिरहेका बेला बोर्ड राख्ने सोच आयो। आफू सोलुखुम्बुको भएकाले सगरमाथा हिमाल सम्झिँदै मोमो पसलको नाम ‘एभरेस्ट मोमो’ राख्ने निधो गरे। बिस्तारै मोमो ले राम्रो बजार लियो। त्यसपछि भने अन्य व्यवसाय थाँती राखेर सम्पूर्ण समय मोमो व्यापारमै लगाए।
‘मैले पसल सुरु गर्दा काठमाडौंका थोरै ठाँउमा मात्र मोमो पसल थियो। त्यो बेला खाना खाने थालमा किमा पेलेर मोमो ल्याइन्थ्यो,’ राई पुराना दिन सम्झिन्छन्, ‘किमा पेल्ने ठाँउमा आधा किलोभन्दा कम किमा पेल्दैन थिए। पसलमा ग्राहक आए मोमो बेचौंला, नभए आफैं खाउँला भनेर व्यवसाय सुरु गरेँ। तर, एक/दुई महिनापछि नै राम्रो व्यापार हुन थाल्यो।’
कतिपय बेला लाइनमा उभिएरसमेत मोमो बिक्री गरेको अनुभव राईसँग छ। २ रुपैयाँ प्लेटमा मोमो बेचेका राईले व्यापार बढ्दै गएपछि अन्य ठाउँमा पनि शाखा खोल्ने सोच बनाए। त्यसैको परिणाम चाबहिल, पुरानो बानेश्वर र बागबजारमा एभरेस्ट मोमोको शाखा खोले। तर, सबै ठाउँमा हेर्न नभ्याएको भन्दै पछि अन्य सबै ठाउँका पसल बन्द गरेर नक्सालमै केन्द्रित भए।
‘धेरै ठाउँमा व्यवसाय विस्तार गर्ने भन्दा पनि भएको ठाउँमा राम्रो सेवा दिनु उचित हुन्छ,’ राई भन्छन्, ‘जसको जिब्रोमा मेरो पसलको मोमोको स्वाद झुन्डिएको छ, उनीहरू खोजी–खोजी आउने गर्छन्।’
मोमो व्यवसाय सुरु गर्दा ३५ वर्षअघिको स्वाद र गुणस्तर कायम गर्न सकेकैले ग्राहक पूर्णसन्तुष्ट भएको राईको विश्वास छ। मोमो तयार पार्नुअघि आवश्यक किमा, मसला र ग्राहकसँगको व्यवहारमा विशेष ध्यान दिने गरेकैले एभरेस्ट मोमो लामो समयदेखि बिनाकुनै प्रचारप्रसार टिकेको राईको अनुभव छ।