काठमाडौं। १४ बुँदे काठमाडौं घोषणापत्र जारी गर्दै एशियाली तथा पश्चिम प्रशान्त क्षेत्रका निर्माण व्यवसायीहरूको अन्तार्राष्ट्रिय छाता संगठन (इफाप्का) को ४६ औं सम्मेलन सम्पन्न भएको छ।
शुक्रबार भएको समापन सत्रमा इफाप्का अध्यक्षसमेत रहेका नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले १४ बुँदे काठमाडौं घोषणा पत्र जारी गरेका हुन्।
दिगो पूर्वाधारले आर्थिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने भएतापनि बढ्दो जनसंख्या, सहरीकरण, जलवायु परिवर्तन लगायतका कारण दिगोे पूर्वाधारको उद्देश्यमा चुनौति थपिएकाले तत्काल आवश्यक कदम चाल्नुपर्ने घोषणापत्रमा उल्लेख छ।
प्राकृतिक विपत्तिसँग जुध्ने खालको संरचना निर्माण आजको आवश्यकता भएको भन्दै भौतिक पूर्वाधार निर्माणमा समग्र परियोजना चक्रलाई नै ध्यान दिनुपर्ने बताइएको छ।
जलवायु अनुकूल पूर्वाधार निर्माण, कार्बनउत्सर्जनमा कटौती, परियोजनाको तयारीमा उपयुक्त अन्तर्राष्ट्रिय अभ्यास जस्ता बुँदाहरू पनि घोषणापत्रमा समेटिएका छन्। सहरी पूर्वाधारसहित उर्जा, यातायातलगायतका क्षेत्रमा उच्च प्राथमिकता दिनुपर्ने बुँदाहरू घोषणापत्रमा छन्। इफाप्कामा आवद्ध सदस्य राष्ट्रहरूबीच अझ बलियो साझेदारी कायम गरिने पनि घोषणापत्र छ।
‘दिगो पूर्वाधारमा साझेदारी’ भन्ने नारासहित मंसिर ५ अर्थात् बुधबारबाट शुरु भएको सम्मेलनको उद्घाटन राष्ट्रपति रामचन्द्र पौडेलले गरेका थिए।
प्रधानमन्त्री सहित मन्त्रीहरु सहभागी सम्मेलनमा स्वदेश तथा विदेशका गरी ४ सय ५० भन्दा बढी प्रतिनिधिहरू सहभागी भएको निर्माण व्यवसायी महासंघले जनाएको छ।
उत्कृष्ट निर्माण कम्पनीहरूलाई अवार्ड
इफाप्का सम्मेलनको समापन सत्रमा इफाप्का अध्यक्ष रवि सिंह र महासचिव विरेन्द्रराज पाण्डेले नेपालका उत्कृष्ट निर्माण कम्पनीहरूलाई सम्मान गरेका छन्। सिभिल इन्जिनियरिङ विधामा ‘कालिका कन्स्ट्रक्शन’ ले गोल्ड अवार्ड जितेको छ। यसै विधामा सिल्भर अवार्ड ‘जय विष्णु निर्माण सेवा’ ले हात पारेको छ। बिल्डिङ कन्स्ट्रक्शन विधामा ‘समानान्तर निर्माण सेवा’ ले गोल्ड अवार्ड जितेको छ। बिल्डिङको सिल्भर अवार्ड ‘न्यू टेक्निकल इन्फ्रा’ ले हात पारेको छ।
शुक्रबार नै आयोजित कार्यक्रममा १० औंं पटकसम्म इफाप्का सम्मेलनमा सहभागी भएका पूर्व इफाप्का अध्यक्ष गणेशलाल श्रेष्ठ र इफाप्काका महासचिव विरेन्द्रराज पाण्डे पनि सम्मानित भएका छन्। ५ औं पटकसम्म इफाप्का सम्मेलनमा सहभागी महासंघका मानार्थ सदस्य तथा पूर्व अध्यक्ष जीप छिरिङि लामा शेर्पा, निवर्तमान अध्यक्ष विष्णुभाइ श्रेष्ठ, महासचिव रोशन दाहाल, कार्यसमिति सदस्य उज्वल गौतम, इफाप्का बोर्ड सदस्य सुशीलकुमार श्रेष्ठसहित निर्माण व्यवसायीहरू वसन्तबहादुर चन्द, भीमबहादुर पाल, झकबहादुर गुरुङ, नवराज श्रेष्ठ र मुनेश्वर चौधरीलाई पनि कार्यक्रममा सम्मान गरिएको थियो।
४७ औं इफाप्का सम्मेलन सिंगापुरमा
इफाप्काको ४६ औं सम्मेलन नेपालमा सम्पन्न भएपछि ४७ औं सम्मेलन सिंगापुरमा हुने निर्णय भएको छ। यसैबीच नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले इफाप्काका अध्यक्षको आफ्नो जिम्मेवारी सिंगापुरका केनेथ लुलाई हस्तान्तरण गरेका छन्। एक वर्षअघि देखि इफाप्का अध्यक्षको जिम्मेवारीमा रहेका सिंहले शुक्रबार लुलाई जिम्मेवारी दिएका हुन्।
सिंहको कार्यकालमा इफाप्का महासचिवमा विरेन्द्रराज पाण्डे सुशीलकुमार श्रेष्ठ बोर्ड सदस्य भूमिकामा थिए। ४७ औं इफाप्का सन् २०२५ को अप्रिलमा सिंगापुमा हुनेछ । नेपालले यस अघि सन् १९९९ मा ३० औं इफाप्का सम्मेलन आयोजना गरेको थियो।