काठमाडौं। पछिल्लो समय पर्वतको कुस्मा साहासी पर्यटन (एडभेन्चर टुरिजम) को लागि प्रख्यात गन्तव्यको रुपमा विकास भइरहेको छ। विश्वकै सबैभन्दा अग्लो बन्जीजम्प सञ्चालनमा रहेको कुस्मामा अहिले एक पछि अर्को एडभेन्चर पूर्वाधारहरु थपिरहेका छन्।
कालिगण्डकी तिरमा बन्जी र विश्वकै दोस्रो लामो जिपलाइनमा रमाउन आउनेहरुलाई लक्षित गरी हार्नेस जीपनलाइनले नै सुविधासम्पन्न रिसोर्ट सञ्चालनमा ल्याएको छ।
१६ रोपनी क्षेत्रफलमा फैलिएको रिसोर्ट केही समय अघिदेखि ‘सफ्ट लन्च’ गरेर सेवा दिन थालेको अध्यक्ष एवंम प्रवन्ध निर्देशक सुनिल बानियाले जानकारी दिए।
जिपलाइनमा आउने पर्यटकहरुलाई नै विशेष प्राथमिकता दिँदै कालिगण्डीको तिरमा रम्न र रमाउन चाहनेहरुलाई सुविधासम्पन्न रिसोर्ट सञ्चालन गरिएको उनले बताए। कम्पनीसँग ३२ रोपनी जग्गा छ। ग्राहकको मागअनुसार विस्तारै कोठाहरु थप्ने जाने योजना रिसोर्टले बनाएको छ।
२१ वटा कोठा रहेको रिसोर्टमा १० वटा भिल्लाहरु छन्। योसँगै कालीगण्डकीलाई नजिकबाटै नियाल्न एउटा ‘डोम रुम’ को समेत व्यवस्था गरिएको छ। विशेष सुविधासम्पन्न यो रुम अन्य भन्दा महँगो र लक्जरियस हुनेछ।
रिसोर्टमा डिलक्स, स्वीट र डोम गरि तीन प्रकारका कोठाहरु उपलब्ध रहेको छ। कोठाको संख्या भने विस्तारै बढाउदै जाने तयारी रिसोर्टले गरेको छ। अहिले ग्राहकको मागअनुसार टेन्ट हाउसकोसमेत व्यवस्थापन गर्दै आएको छ। रिसोर्ट भित्र स्वीमिङ पुल, साउनालगायतका सम्पूर्ण सेवा उपलब्ध गराइएको अध्यक्ष बानियाले जानकारी दिए।
रिसोर्ट बनाउन मात्र २० करोड रुपैयाँ खर्च भइसकेको उनले जानकारी दिए। अहिले जिपनलाइनसहित ¥याफ्टिङसमेत रिसोर्टले गराउँदै आएको छ। कुश्मा हुँदै मुस्ताङ जाने पर्यटकहरुको संख्या बढिरहेका बेला त्यस क्षेत्रमा सुविधासम्पन्न रिसोर्टहरुकोसमेत निर्माण हुने क्रमले तीव्रता पाइरहेको हो।
२०७८ सालबाट हार्नेस जिपलाइन सञ्चालन भइरहेको छ। सुपरम्यान शैलीको जिपलाईन कालीगण्डकी नदीको खोंचमा निर्माण भएको हो। कुश्मा नगरपालिका ५ चाक्लेडिलदेखि कुश्मा नगरपालिका ४ साउनेबगर पुग्ने जीपलाईनको लम्बाई १ हजार ४ सय मिटर छ।
कालीगण्डकी नदीको सतहदेखि झन्डै २ सय ५० मिटरको उचाइबाट सुरु हुने जीपलाइनको सुरुवाती गति प्रतिघण्टा १ सय ३० किलोमिटरको गतिमा बगेर गन्तव्य नजिकिँदै जाँदा विस्तारै घट्दै जाने गर्दछ।
सुपरम्यान शैलीमा विश्वको सबैभन्दा लामो २ हजार ८ सय मिटरको जिपलाइन दुबईमा रहेको र पर्वतको जिपलाइन त्यसपछि लामो भएका कारण पर्वतमा पर्यटकहरूलाई आकर्षित गर्न महत्वपूर्ण भइरहेको अध्यक्ष बानियाले जानकारी दिए।