काठमाडौं। नेपाल दूरसञ्चार प्राधिकरणले बाँकी चार प्रदेशमा फाइभ–जी परीक्षण सुरु गर्ने अनुमति अझै दिएको छैन।
सरकारी स्वामित्वको दूरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकमले बाँकी चार प्रदेशमा पनि फाइभ–जी परीक्षण सुरु गर्न प्राधिकरणसँग अनुमति मागेको थियो। तर, प्राधिकरणले त्यसको अनुमति नदिँदा परीक्षण प्रक्रिया नै थप लम्बिने देखिएको छ।
करिब आठ महिनाअघि काठमाडौंबाट फाइभ–जीको आन्तरिक परीक्षण सुरु गरेको टेलिकमले हाल तीन प्रदेशमा परीक्षण कार्य सञ्चालन गरिरहेको छ।
टेलिकमले बाँकी चार प्रदेशमा पनि परीक्षण सेवा सञ्चालन गरी अघि बढ्दा उपयुक्त हुने बताउँदै केही महिनाअघि प्राधिकरणसँग इम्पोर्ट लाइसेन्स अनुमति माग गरेको थियो। तर, त्यसको अनुमति हालसम्म नपाएको नेपाल टेलिकमका प्रवक्ता शोभन अधिकारी बताउँछन्।
‘हामीले केही समय अगाडि बाँकी प्रदेशमा पनि फाइभ–जी परीक्षण कार्य सुरु गर्न अनुमति माग गरेका थियौं। तर, हालसम्म प्राधिकरणले अनुमति दिएको छैन,’ प्रवक्ता अधिकारी भन्छन्, ‘अनुमति प्राप्त भएपछि हामीले बाँकी प्रदेशमा पनि फाइभ–जी परीक्षण तत्काल सुरु गर्छौं।’
उनले अनुमति प्राप्त गर्न केही समय लागेको तर त्यसको कारणबारे जानकारी नभएको बताए।
नेपाल टेलिकमले २०७९ माघ २२ बाट काठमाडौं बबरमहल र सुन्धारास्थित कार्यालयबाट फाइभ–जी नेटवर्कको आन्तरिक परीक्षण सुरु गरेको थियो।
त्यसको करिब तीन महिनापछि टेलिकमले परीक्षण सेवा विस्तार गर्दै गण्डकी पोखरा र मधेस प्रदेश वीरगन्जबाट फाइभ–जी परीक्षण सुरु गरेको थियो।
जसअनुसार हाल बागमती, गण्डकी र मधेस प्रदेशमा परीक्षण सेवा सञ्चालनमा छ भने अब कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा परीक्षण सेवा सुरु गर्ने तयारी टेलिकमको देखिन्छ। तर, प्रक्रियागत कारणले अनुमति प्रदान गर्न केही ढिलाइ भएको प्राधिकरण बताउँछ।
‘यसअघि नै तीन प्रदेशमा परीक्षण अनुमति दिएका कारण बाँकी चार प्रदेशमा पनि परीक्षण अनुमति दिन केही कठिनाइ छैन,’ प्राधिकरणका उपनिर्देशक तथा सहायक प्रव्रक्ता अच्युतानन्द मिश्र भन्छन्, ‘यसबारे पछिल्लो अपडेट भने मसँग छैन। तर, यसमा केही कठिनाइ भएको जस्तो मलाई लाग्दैन।’
उनले प्राधिकरणका लागि धेरै ठाउँमा परीक्षण हुनु अझ राम्रो विषय भएको बताए। यस्तै फाइभ–जी प्रयोजनबारे अध्ययन पनि अन्तिम चरणमा पुगेको जानकारी दिए।
प्राधिकरणले फाइभ–जी परीक्षणका लागि टेलिकमलाई २६०० मेगाहर्ज ब्यान्डअन्तर्गत ६० मेगाहर्ज फ्रिक्वेन्सी उपलब्ध गराएको छ।
फाइभ–जी विश्वबजारमा विस्तार भइरहेको पछिल्लो मोबाइल नेटवर्क हो। फाइभ–जीलाई सन् २०१९ बाट प्रयोगमा ल्याइएको थियो। यसमा सामान्यतया २० गिगाबाइट (२० हजार मेगाबाइट) प्रतिसेकेन्डसम्म डेटा सार्ने क्षमता हुन्छ।
यसअघि पहिलो पुस्ताको मोबाइल नेटवर्कमा २ किलोबाइट प्रतिसेकेन्ड डेटा सार्ने क्षमता थियो भने दोस्रो नेटवर्क टु–जीमा ६४ किलोबाइट प्रतिसेकेन्ड डेटा सार्न सक्ने क्षमता थियो।
त्यस्तै थ्रि–जी नेटवर्कमा सरदर ३ मेगाबाइट (३ हजार किलोबाइट) प्रतिसेकेन्डसम्म डेटा सार्ने क्षमता थियो भने फोर–जीमा २० मेगाबाइट प्रतिसेकेन्डसम्मको क्षमता छ।
फोर–जी नेटवर्कले उच्च गति चाहिने लाइभ भिडियो स्ट्रिमिङ र अनलाइन गेमिङजस्ता प्रयोजनलाई पनि मोबाइलबाटै सम्भव बनाएको छ। यसमा उपलब्ध डेटा सार्ने क्षमताले तार जोडेरै पु¥याउनुपर्ने केबुल इन्टरनेट र अप्टिकल फाइबरलाई पनि एकखालको विकल्प दिएको छ।
तर, फाइभ–जी नेटवर्कका केही पूर्वाधार थ्रि–जी वा फोर–जी नेटवर्कभन्दा फरक हुन्छन्। यसका लागि नजिक–नजिक दुरीमा ‘रिपिटर डिभाइस’ राखिन्छ। यस्ता डिभाइसलाई फाइभ–जी सेल टावर भनिन्छ।
मुख्यतः फाइभ–जी, फोर–जी वा थ्रि–जीजस्ता अघिल्लो पुस्ताको नेटवर्कभन्दा अझ ‘एडभान्स’ र विशिष्ट छ। त्यसैले फाइभ–जीलाई ‘इन्टरनेट अफ थिङ्स’, ‘भर्चुअल रियालिटी’, ‘अग्मेन्टेड रियालिटी’ जस्ता अत्याधुनिक डिजिटल वातावरणको मुख्य पूर्वाधार मानिन्छ।
फाइभ–जी नेटवर्क गतिका हिसाबले उच्च छ भने यसले कम विद्युतीय शक्ति खर्च गर्ने भएकाले मोबाइल डिभाइसको ब्याट्री लामो समय टिकाउ हुने पनि बताइन्छ। यसले ‘क्लाउडबेस’ कम्प्युटर स्रोतहरूको उपयोगलाई प्रोत्साहित गर्ने बताइएको छ। यसमा उद्योग वा कार्यालयहरूको खर्चमा कमी ल्याउने विशेषता उपलब्ध छ।